महासचिव नेपाल र वामदेव गौतमको कडा आलोचना 

UML disputes over  the issue of joint code of conduct with Maoist

 काठमाडौ, कात्तिक २८

 नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादीको केही दिन अघि रोल्पामा भएको उच्चस्तरीय ६ बुदे सम्झौतालाई लिएर एमाले पार्टी भित्र आइतबारदेखि गम्भीर विवाद शुरु भएको छ।
एमालेको केन्द्रीय कार्यालयमा आइतबार बसेको स्थायी समितिको बैठकले हालै वामदेव गौतमको नेतृत्वमा रोल्पामा भएको ६ बुदे सहमतिपत्रलाई अनुमोदन नगरेको जानकारी एमालेसूत्रले दिएको छ। बैठकमा सहमतिपत्रसम्बन्धी विवाद अझै जारी छ।कार्तिकको पहिलो साता रोल्पामा माओवादीसग भएको  सो उच्चस्तरीय सम्झौतामा एमालेका कार्यवाहक महासचिव वामदेव गौतम र युवराज ज्ञवालीले हस्ताक्षर गर्नुभएको थियो। महासचिव माधवकुमार नेपाल र केपी शर्माओली दिल्ली गएको मौकामा दुइ पार्टीबिच भएको उक्त सहमतिलाई स्थायी कमिटिले अनुमोदन नगर्ने भएपछि अब यो मुद्दा केन्द्रीय समितिको बैठकसम्म आइपुग्ने भएको छ।
हालै भएको रोल्पा सम्झौता एमालेले गरेका विगतका निर्णयहरुसग बाझिएको भन्दै बैठकमा त्यसको व्यापक आलोचना भएको थियो। स्रोतका अनुसार पार्टीमा आन्तरिक छलफल नै नगरी वामदेवले हावाका भरमा माओवादीसग लिखित सम्झौता गरेको भन्दै बैठकमा विशेष गरी मुकुन्द न्यौपाने, विष्णु पौडेललगायतले वामदेव गौतम र युवराज ज्ञवालीको झांको भारेका थिए।
सहमतिमा हस्ताक्षर गर्ने नेताहरुले भने लोकतान्त्रिक गणतन्त्रसम्म जाने केन्द्रीय कमिटीको भावनाअनुसार नै मोओवादीसग सहमति गरी आचार संहिता निर्माण गरिएको जिकिर गरेका थिए। उनीहरुको यस्तो जिकिरपछि यो सहमतिपत्रले केन्द्रीय कमिटीको बैठकमा प्रवेश पाउने भएको बताइन्छ।
आइतबारको एमाले स्थायी कमिटीको बैठकमा वामदेव र युवराज ज्ञवाली मात्रै होइन महासचिव माधवकुमार नेपालको पनि जोडदार आलोचना भएको थियो। चीनले नेपाललाई हालै गरेको सैन्य सहयोगबारे भारतबाटै महासचिव नेपालले गर्नुभएको चीनको आलोचनालाई लिएर उहामाथि स्थायी समितिका सदस्यहरुले आपत्ति जनाएका थिए। बैठकले यस विषयमा महासचिव नेपालको आलोचना गर्ने निर्णय गरेको थाह हुन आएको छ।