Maoist break the leg of an old man

स्वतन्त्र समाचार सेवा
पर्वत माघ २३
आफ्नो कार्यकर्तालाई भारत भगाएको आरोपमा माओवादी कार्यकर्ताले ७४ वषिर्य बृद्धलाई कुटपिटगरी खुट्टा भाँचिदिएका छन्। स्थानीय कार्यकर्ताले पर्वत जिल्लाको ठूलीपोखरी गाविसका ७४ वर्षीय बृद्ध हुमप्रसाद सुवेदीको दुबै खुट्टा भाँचिदिएका हुन्।
शुक्रबार राती २०/२५ जनाको समूहमा आएका हतियारधारीहरुले बृद्ध सुवेदीलाइ घरभन्दा परको खोल्सामा लगी दुबै खुट्टा भाँचिदिएको स्थानीयवासिले बताए। उनीहरुका अनुसार बृद्ध सुवेदीलाई माओवादीले ठूलीपोखरी गाविसमा रहेका केही माओवादी कार्यकर्ताहरुलाई स्थानीय प्रशासनसमक्ष आत्मर्समर्पण गर्न लगाएको आरोप समेत लगाएका छन्।
माओवादीको प्रहारबाट बृद्ध सुवेदीको देब्रे खुट्टा नराम्रोसँग थिलथिलिएको र दुबै खुट्टा भाँचिएको स्थानीय बासिन्दाहरुले बताए। घाइते बृद्ध सुवेदीलाई शनिबार स्थानीय बासिन्दाहरुले उपचारका लागि पोखरा पुर्‍याएको छन्। माओवादीले सुवेदीको खुट्टा भाँच्नका लागि बन्दुकका कुन्दा र रडको प्रयोग गरेका थिए। स्थानीयस्तरमा पूर्व पञ्चको रुपमा चिनिने सुवेदी केही वर्षता राजनीतिमा निस्कृय रहेको बताइन्छ।