काठमाडौ, असोज २३
फेरि आयो त्यो कालो रात भन्ने एउटा गीत छ लाहुरे भन्ने नेपाली चलचित्रमा निष्ठुरीको लिएर सम्झना भनेपछि त्यो गीतको पहिलो हरफ सकिन्छ। नेपाली सञ्चार जगतमा पनि अब साच्चै काला रातहरु आउने भएका छन् किनकि अब चाहि शाही मात्र होइन कसाही सरकारले जनताका अधिकारहरु पूरै घाटी काटेर छिनाइसकेको छ।
आइतबार राजा ज्ञानेन्द्रको सरकारले केही नेपाल सञ्चार ऐन संशोधन अध्यादेश ल्याएर दशैंको मुखमा सधैंझैं यसवर्षा अर्को एउटा जनअधिकारको वली दिएका हुन्,
दरवार निकटहरुका अनुसार उनले नया अध्यादेश ऐनमा पञ्चायतकालकै प्रावधानहरु राखेर तत्कालिन व्यवस्थाविरोधी भनिएको ठाउमा आतंककारी भन्ने शब्द मात्र राखेका छन्।
नया ऐनमा उनले विद्युतीय सञ्चार माध्यमलाई १० लाख सम्म र छापा सञ्चार माध्यमलाई प्रत्येक पटक ५ लाखसम्मको आर्थिक जरिवाना गरी टाट पल्टाउने व्यवस्था गरेका छन्। सो अध्यादेश मार्फत रेडियो प्रसार ऐन २०१४, प्रेस काउन्सील ऐन २०४९, छापाखाना तथा पत्रपत्रिका प्रकाशन सबन्धी ऐन २०४९ , लगायत संवैधानिक अधिकारहरु पनि संसोधन गरिएको छ।
संसोधनको पुर्ण विवरण भने राजाले प्रकाशित गराएका छैनन। तर केहि समय अगाडीनै यसको गृहकार्य भएको थियो। सञ्चार सम्वन्धी केही नेपाल ऐन संशोधन अध्यादेशको मस्यौदा नेपाल समाचारपत्रले केहि समय अगाडी प्रकाशित गरेको थियो। नेपाल समाचारपत्रबाट लिइएको यो ऐनमा पुन केहि संसोधन गरिएको हुनसक्ने संभावनापनि यथावतै छ।
सञ्चार ऐन संशोधन गर्न बनेको अध्यादेश
- प्रस्तावनाः सञ्चारसम्बन्धी केही नेपाल ऐनलाई तत्काल संशोधन गर्न आवश्यक भएको र हाल संसद्को अधिवेशन नभएकाले श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ७२ अनुसार यो अध्यादेश जारी गरिबक्सेको छ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यस अध्यादेशको नाम 'सञ्चारसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०६२' रहेको छ। (२) यो अध्यादेश तुरुन्त प्रारम्भ हुनेछ।
२. रेडियो ऐन, २०१४ मा संशोधनः रेडियो ऐन, २०१४ को दफा ३ को प्रतिबन्धात्मक वाक्यांशको सट्टा देहायको प्रतिबन्धात्मक वाक्यांश राखिएको छ-
'तर दूरसञ्चार ऐन, २०५३ बमोजिम दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त व्यक्ति वा त्यस्तो व्यक्तिमार्फत दूरसञ्चार सेवा उपयोग गर्ने ग्राहकले वा राष्ट्रिय प्रसारण ऐन, २०४९ बमोजिम स्याटेलाइट, केबुल वा अन्य सञ्चारमाध्यमद्वारा कुनै कार्यक्रमको प्रसारण गर्न, फ्रिक्वेन्सी मोडुलेसन प्रसारण प्रणालीको स्थापना गरी शिक्षाप्रद, मनोरञ्जनात्मक तथा सूचनामूलक कार्यक्रम प्रसारण गर्न वा भू-उपग्रह प्रसार केन्द्र स्थापना गरी कुनै कार्यक्रम प्रसारण गर्न इजाजतपत्र वा स्वीकृति प्राप्त व्यक्ति वा संगठित संस्था वा त्यस्तो व्यक्ति वा संस्थामार्फत सो प्रसारण उपभोग गर्ने ग्राहकले दूरसञ्चार वा प्रसारणसम्बन्धी रेडियो यन्त्र राख्न, बनाउन वा प्रयोग गर्नका लागि यस ऐनबमोजिम लाइसेन्स लिनुपर्ने छैन।'
३. राष्ट्रिय समाचार समिति ऐन, २०१९ मा संशोधनः राष्ट्रिय समाचार समिति ऐन, २०१९ को-
(१) दफा ३० को उपदफा (५) पछि देहायको उपदफा (५ क) थपिएको छ-
'(५ क) कसैले दफा ३२ विपरीत समाचार संकलन वा बिक्री-वितरण गरेमा निजलाई पाँच लाख रुपैयाँसम्म जरिवाना हुनेछ।'
(२) दफा ३२ को उपदफा (२) को सट्टा देहायको उपदफा (२) राखिएको छ-
'(२) उपदफा (१) बमोजिमका समाचार समितिहरूले श्री ५ को सरकारको स्वीकृति लिई नेपाल अधिराज्यभित्र आफ्नो समाचार बिक्री-वितरण गर्न सक्नेछन्। तर समितिलाई समाचार बिक्री-वितरण गर्दा श्री ५ को सरकारको स्वीकृति लिनुपर्ने छैन।'
४. छापाखाना र प्रकाशनसम्बन्धी ऐन, २०४८ मा संशोधनः
(१) दफा १४ को,
(क) खण्ड (क) मा रहेका 'श्री ५ को' भन्ने शब्दहरूको सट्टा 'श्री ५ वा राजपरिवारका सदस्यको' भन्ने शब्द राखिएका छन्।
(ख) खण्ड (ग) पछि देहायको खण्ड (ग १) थपिएको छ-
'(ग १) प्रचलित कानुनबमोजिम अपराध मानिने काम गर्न दुरुत्साहन दिने,'
(२) दफा १६ को उपदफा (१) को,
(क) सुरुमा 'दफा १४ वा १५ बमोजिम प्रकाशन गर्न प्रतिबन्ध वा निषेध गरिएको कुरा, समाचार, सूचना वा अन्य पाठ्यसामग्री भएको वा' भन्ने शब्दहरू थपिएका छन्।
(ख) खण्ड (घ) को सट्टा देहायको खण्ड (घ) राखिएको छ-
(घ) आतंककारी, आतंकवाद वा विध्वंसात्मक गतिविधिलाई मद्दत, टेवा वा प्रोत्साहन पुर्याउने,
(ग) खण्ड (ख) र (ङ) झिकिएका छन्।
(३) दफा २७ मा रहेका 'दस रुपैयाँसम्म जरिवाना' भन्ने शब्दहरूको सट्टा 'एक लाख रुपैयाँसम्म जरिवाना' भन्ने शब्दहरू राखिएका छन्।
(४) दफा २८ को ठाउँ-ठाउँमा रहेका 'पाँच हजार रुपैयाँसम्म जरिवाना' भन्ने शब्दहरूको सट्टा 'पचास हजार रुपैयाँसम्म जरिवाना' भन्ने शब्दहरू राखिएका छन्।
(५) दफा २९ मा रहेका 'पाँच हजार रुपैयाँसम्म जरिवाना' भन्ने शब्दहरूको सट्टा 'पचास हजार रुपैयाँसम्म जरिवाना' भन्ने शब्दहरू राखिएका छन्।
(६) दफा ३० मा रहेका 'पाँच हजार रुपैयाँसम्म जरिवाना' भन्ने शब्दहरूको सट्टा 'पचास हजार रुपैयाँसम्म जरिवाना' भन्ने शब्दहरू राखिएका छन्।
५. प्रेस काउन्सिल ऐन, २०४८ मा संशोधनः प्रेस काउन्सिल ऐन, २०४८ को दफा १२ को उपदफा (२) को खण्ड (घ) मा रहेका 'पूरै रोक लगाउन' भन्ने शब्दहरूको पछि 'वा निजले पाएको प्रेस प्रतिनिधि प्रमाणपत्र वा अस्थायी प्रेस प्रतिनिधि प्रमाणपत्र रद्द गर्न' भन्ने शब्दहरू थपिएका छन्।
६. राष्ट्रिय प्रसारण ऐन, २०४९ मा संशोधनः राष्ट्रिय प्रसारण ऐन, २०४९ को-
(१) दफा २ को खण्ड (ग) मा रहेका 'वा टेलिभिजन' भन्ने शब्दहरू झिकिएका छन्।
(२) दफा ५ मा रहेका 'समाचारमूलक कार्यक्रम' भन्ने शब्दहरूको सट्टा 'सूचनामूलक कार्यक्रम' भन्ने शब्दहरू राखी सो दफामा देहायको स्पष्टीकरण थपिएको छ-
स्पष्टीकरणः यस दफाको प्रयोजनका लागि 'सूचनामूलक कार्यक्रम' भन्नाले स्वास्थ्य, शिक्षा, खेलकुद, जनसंख्या, वातावरण, मौसम वा सडक यातायातजस्ता विकास निर्माणसम्बन्धी विषयमा जानकारी गराउने वा जनचेतना जगाउने उद्देश्यले तयार गरिएको कार्यक्रमलाई जनाउनेछ।'
(३) दफा ६ पछि देहायको दफा ६क
थपिएको छ-
'६क. इजाजतपत्र वा प्रमाणपत्र नदिइनेः
(१) प्रचलित कानुन वा यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै पनि व्यक्ति वा संगठित संस्थालाई एकैपटक वा पटक-पटक गरी रेडियो, टेलिभिजन र प्रकाशनमध्ये कुनै दुईभन्दा बढीको इजाजतपत्र वा प्रमाणपत्र दिइने छैन।
(२) प्रचलित कानुन वा यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो दफा प्रारम्भ हुनुअघि कुनै व्यक्ति वा संगठित संस्थाले रेडियो, टेलिभिजन र प्रकाशनको इजाजतपत्र वा प्रमाणपत्र पाएको रहेछ भने त्यस्तो व्यक्ति वा संस्थाले यो दफा प्रारम्भ भएको मितिले एक वर्षभित्र रेडियो, टेलिभिजन र प्रकाशनमध्ये कुनै दुईको प्रसारण वा प्रकाशन गर्न छनोट गरी बाँकीको हकमा छुट्टै व्यक्ति, संस्था वा व्यवस्थापनद्वारा प्रसारण वा प्रकाशनको व्यवस्था गर्नुपर्नेछ।
(३) उपदफा (२) बमोजिमको अवधिभित्र कुनै इजाजतपत्र वा प्रमाणपत्र प्राप्त व्यक्ति वा संस्थाले रेडियो, टेलिभिजन वा प्रकाशनमध्ये कुनै दुईको प्रसारण वा प्रकाशन गर्न छनोट नगरेमा वा छुट्टै व्यक्ति, संस्था वा व्यवस्थापनद्वारा प्रसारण वा प्रकाशनको व्यवस्था नगरेमा श्री ५ को सरकारले निजले रेडियो वा टेलिभिजन प्रसारण गर्न पाएको इजाजपत्र रद्द गर्नेछ।'
(४) दफा ९ को उपदफा (१) मा रहेका 'संगठित संस्था वा संयुक्त लगानीमा स्वदेशी र विदेशी व्यक्ति वा' भन्ने शब्दहरू झिकिएका छन्।
(५) दफा ११ पछि देहायको दफा ११क. थपिएको छ-
'११क. स्वीकृति नलिई अन्य ठाउँबाट कार्यक्रम प्रसारण गर्न नहुनेः कुनै पनि प्रसारण संस्थाले श्री ५ को सरकारले स्वीकृति नलिई एकै ठाउँबाट प्रसारण भइरहेको कार्यक्रम एकैपटक अन्य ठाउँबाट प्रसारण गर्न पाउने छैन।'
(६) दफा १५ को सट्टा देहायको दफा १५ राखिएको छ-
'१५. प्रसारण गर्न नपाउनेः कसैले पनि देहायको सामग्री प्रसारण गर्न पाउने छैन-
(क) राजनीतिक दलहरूलाई प्रतिकूल असर पर्ने विषयका कुराहरू
(ख) अश्लील किसिमका सामग्री,
(ग) सरकारलाई हिंसात्मक प्रयोग गरी हटाउने उद्देश्यका सामग्री,
(घ) जनमानसमा अस्वाभाविक भय तथा आतंक पैदा गर्ने सामग्री,
(ङ) कुनै पनि जातजाति, भाषा, धर्म वा संस्कृतिलाई अपव्याख्या, अपहेलना अपमानित वा अवमूल्यन गर्ने सामग्री,
(च) कुनै खास क्षेत्रमा बसोबास गरेको आधारमा कुनै पनि जातिलाई भेदभाव, अपहेलना, अपमानित वा अवमूल्यन हुने सामग्री,
(छ) नेपालको असंलग्न परराष्ट्र नीतिविपरीत हुने सामग्री,
(ज) प्रचलित कानुनबमोजिम प्रकाशन गर्न प्रतिबन्ध वा निषेध गरिएका कुरा वा सामग्री।
(७) दफा १७ को उपदफा (२) मा रहेका 'दस हजार रुपैयाँसम्म जरिवाना' भन्ने शब्दहरूको सट्टा 'एक लाख रुपैयाँसम्म जरिवाना' भन्ने शब्दहरू राखिएका छन्।
७. गाली र बेइज्जती ऐन, २०१६ मा संशोधनः गाली र बेइज्जती ऐन, २०१६ को-
(१) दफा ३ मा रहेका 'प्रकाशित गरेमा' भन्ने शब्दहरूको सट्टा 'प्रसारण वा प्रकाशन गरेमा' भन्ने शब्दहरू राखिएका छन्।
(२) दफा ५ को सट्टा देहायको दफा ५ राखिएको छ-
'५. बेइज्जती गरेमा वा बेइज्जती हुने कुरा प्रसारण वा प्रकाशन गरेमा दण्ड सजायः (१) कसैले अरू कसैको बेइज्जती गरेमा निजलाई पचास हजार रुपैयाँसम्म जरिवाना हुनेछ र एक वर्षसम्म कैद हुन सक्नेछ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले अरू कसैको बेइज्जती हुन जान्छ भन्ने जानी-जानी वा विश्वास गर्नपर्ने मनासिव कारण भई कुनै कुरा विद्युतीय वा अन्य आमसञ्चारको माध्यमबाट प्रसारण वा प्रकाश गरेमा निजलाई दुई लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुन सक्नेछ।'
(३) दफा ६ को ठाउँ-ठाउँमा रहेका 'छापिएको वा खोदिएको' भन्ने शब्दहरूको सट्टा 'प्रकाशन वा प्रसारण गरिएको' भन्ने शब्दहरू र 'एक सय रुपैयाँसम्म जरिवाना' भन्ने शब्दहरूको सट्टा 'पचास हजार रुपैयाँसम्म जरिवाना' भन्ने शब्दहरू राखिएका छन्।
(४) दफा ७ मा रहेका 'एक सय रुपैयाँदेखि पाँच सय रुपैयाँसम्म जरिवाना' भन्ने शब्दहरूको र 'पचास हजार रुपैयाँसम्म जरिवाना' भन्ने शब्दहरू राखिएका छन्।
(५) दफा ८ मा रहेका 'एक सय रुपैयाँदेखि पाँच सय रुपैयाँसम्म जरिवाना' भन्ने शब्दहरूको 'पचास हजार रुपैयाँसम्म जरिवाना' भन्ने शब्दहरू राखिएका छन्।
(६) दफा १० मा रहेका 'पाँच सयदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना' भन्ने शब्दहरूको सट्टा 'पचास हजार रुपैयाँसम्म जरिवाना' भन्ने शब्दहरू र 'एक सयदेखि एक हजार रुपैयाँसम्म जरिवाना' भन्ने शब्दहरूको सट्टा 'एक लाख रुपैयाँसम्म जरिवाना' भन्ने शब्दहरू राखिएका छन्।
अपडेट
सञ्चार अध्यादेशका विरूद्भ सर्वोच्चमा
रिट दायर
| ||||||||||||
|
सरकारद्वारा हालै जारी गरीएको सञ्चार अध्यादेश खारेज गराउन
माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।
आफ्नो निवेदनमा अधिवक्ताद्वय रवीराज भण्डारी र कहरसिंह खड्काले अध्यादेशमा निहीत प्रावधानहरू संविधानको भावना र मर्म विपरित भएको बताउनु भएको छ। दशैंको विदा सुरू हुनु अघि सरकारद्वारा सञ्चार सम्वन्धि आधा दर्जन ऐनहरूलाई संशोधन गर्न जारी गरीएको अध्यादेशको पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघले कडा विरोध गर्दै आएको छ। दशैं सकिए लगत्तै महासंघले सडक र कानुनी प्रकृया मार्फत सो अध्यादेश विरूद्ध संघर्ष चलाउने निर्णय गरेको बताएको छ।
औचित्य के? बीबीसीसंग कुरा गर्दै महासंघका उपाध्यक्ष शिव गाउंलेले संचार माध्यमलाई व्यवस्थित तुलाउन अध्यादेश ल्याइएको भन्ने सरकारी भनाई विश्वसनिय नरहेको बताउनुभयो। उहांले भन्नुभयो, "मुलुकको संविधान, कानुन र यसले तय गरेको विधि नाघ्न पाउनु पर्छ भन्ने पक्षमा छैनौं, हामी मर्यादित पत्रकारीता, व्यवसायीक पत्रकारीता र मर्यादित पेशाको पक्षमा छौं।" तर उहांले अहिले आएर दण्ड-सजांय बढाउनुको औचित्य के हो भनेर प्रश्न गर्दै भन्नुभयो, "हामीसंग सम्बद्ध कानुनहरूमा कम दण्ड-सजांय भएकै कारण हामी कहाँ समस्या भयो भनिएको हो भने, समस्या के के हुन् त्यो पहिल्याउनु प-यो।" "नेपाली प्रेसलाई थर्काउनका लागि, त्रसित तुल्याउनका लागि र १९ माघ यता संस्थागत रूपमा लागु गरीएको निरंकुशताको विपक्षमा नेपाली प्रेस नबोलोस् भन्नाका लागि यी सब व्यवस्थाहरू गरीएका हुन्," उहाँले भन्नुभयो। सरकारद्वारा जारी अध्यादेशको रिर्पोटरस् विदाउट बोडर्स, ईन्टरन्याशनल फेडरेशन अफ जर्नालिस्टस्, कमिटी टु प्रोटेक्ट जर्नालिस्टस् लगायत झण्डै एक दर्जन संघ-संस्थाहरूले विरोध गरेका छन्। राष्ट्रसंघीय शैक्षिक तथा सांश्कृतिक संगठन, युनेश्कोले पनि एक
विज्ञप्ति मार्फत सो अध्यादेशमाथि पुर्नविचार गर्न सरकारसंग अपिल गरेको छ। बिबिसी | ||||||||||||