अनुराधा पौडेल
Documentaries of Pathak Come to Paris


पेरिस, कात्तिक २८
तस्विर सबै आफै



नेदरल्यान्डको आम्सटर्डममा भएको हिमालयन फिल्म फेस्टिभलमा भाग लिन यूरोप आएका कान्तिपुर टेलीभिजनका पत्रकार दिलभूषण पाठक र शिखा पाठकका तिन वित्तचित्रहरु फ्रान्सको राजधानी पेरिसमापनि आइतवार प्रदर्शन गरियो।   फ्रान्समा बसोबास गर्दै आएका ददिराम सापकोटा, विनोद खकुरेल र सुकबहादूर तामागंको  सहयोगमा उनीहरुका वित्तचित्रहरु राजधानी पेरिसको सगरमाथा भोजनालाय नामको नेपाली भोजनालयको सानो हलमा प्रदर्शन भएको थियो। तिन सो गरेर  उनीहरुका वित्तचित्रहरु प्रदर्शन गरिएको थियो। असुरक्षित गर्भपतनले ज्यान गुमाएकी डोटीकी महिलाको कथा, बृद्ध उमेरमा विद्यालय जान थालेका सुक बहादूर अधिकारीको कथा र ५२ दिन सम्मको धामी नाचको कथामा उनीहरुका वित्तचित्रहरु बनेका थिए।

 वित्तचित्रहरु मध्ये असुरक्षित गर्भपतनले अकालमा ज्यान गुमाएकी महिलाको कथा (न्यूजरुम बाहिर) लाई अत्यधिक दर्शकहरुले रुचाए। यसैगरी सुकबहादूर कक्षा ४ पनि दर्शकहरुबाट निकै नै रुचाइयो। वित्तचित्रहरु हेरिसकेपछि पेरिसस्थित यूनेस्कोको कार्यालयले वित्तचित्र निर्माताद्धयलाई सुक बहादूर कक्षा ४ र न्यूजरुम बाहिरलाई आफ्ना बिबिध कार्यक्रमहरुमा प्रदर्शन गर्न सकिने आस्वासन दिएका थिए।




सुकबहादूर कक्षा ४ को एक दृष्य। यो वित्तचित्र कास्की जिल्लाको बेगनास ताल माथिको डांडामा बसोबास गरिरहेका ७९ बर्षीय  सुकबहादूर अधिकारीको विद्यालय मोहमा आधारित छ। नातिनी संग स्थानिय विद्यालयको कक्षा ४ मा पढिरहेका सुकबहादूरले जीवनको उत्तरार्धमा ज्ञान आर्जनकोलागि अध्ययन थालेको बताएका छन्।




वित्तचित्र प्रदर्शनीमा भाग लिन आएकी एक फ्रान्सेली महिला। वित्तचित्र प्रर्दशनी हेर्न चाहनेहरुकालागि ५ यूरो प्रबेश शुल्क तोकिएको थियो। उक्त प्रर्दशनीमा करीब एक शय जनाको उपस्थिती रहेको थियो। जसमा नेपाली भन्दा फ्रान्सेलीहरुको उपस्थिती बढी थियो।




आफ्नो वित्तचित्र बारे बोल्दै दिलभूषण पाठक। फ्रेन्च भाषा बाहेक अंग्रजी हत्तपत्त नबोल्ने फ्रेन्चहरुलाई पत्रकार पाठकले अंग्रेजीमा बिषयबस्तु बुझाउन भरमग्दूर प्रयत्न गरे। वित्तचित्रमा नेपाली भाषालाई अंग्रजीमा उल्था गरिएको छ। भाषा भन्दापनि दृष्यहरु बढी प्रभावकारी भएका कारण दर्शकहरुलाई भाषागत समस्या परेपनि कथाबस्तु बुझ्न भने अप्ठेरो  परेन।




वित्तचित्र हेरेपछि प्रतिक्रिया लेख्दै पेरिस स्थित कार्यवाहक राजदूत निरन्जनमान शिं बस्नेत। उहाको बिचारमा यि वित्तचित्रहरुले चेतना बोकेका छन्। विदेशी दर्शकहरुभन्दा स्वदेशीहरुका निम्ति यि वित्तचित्रहरु अझबढी प्रभावकारी हुने उल्लेख गर्दै उहाले न्यूजरुम बाहिरभन्ने वित्तचित्रमा दर्शकहरुलाई राष्टिय आंकडा नदिइएकोमा गुनासो गर्नुभयो।  'राष्टिय आंकडाहरु दिइएको भए अझ बढी प्रभावकारी हुनेथियो '_ प्रतिक्रिया  लेख्ने क्रममा उहाले भन्नुभएको छ।




वित्तचित्रहरु प्रदर्शन भएपछि नेपाली खाना दालभात तरकारी खान बसेका फ्रान्सेलीहरु। नेपालीले चलाएको र नेपाली दालभात खान पाइने पेरिसमा एउटा मात्र  सगरमाथा भन्ने नेपाली भोजनालय छ। जसलाई धादिड‌का सुकबहादूर तामागले चलाएका छन्। सुकबहादूर यहाका नेपाल चिन्ने फ्रान्सेलीहरुका विचमा लोकप्रिय छन्।



 
दुइ महिना अगाडी काठमान्डुबाट हराएकी भनिएकी फ्रान्सेली महिला सेलीनको सोधखोजलाई अझ प्रभावकारी बनाउनलाई दवाव दिने उदेश्यले हस्ताक्षर संकलनको आव्ह्लन गरेकी उनकी एक साथी। वित्तचित्र प्रर्दशनी कार्यक्रमलाई उनलेपनि उपयोग गरिन्। उनको विचारमा नेपाल सरकारले सेलीनको खोजीमा प्रर्याप्त ध्यान दिन सकेको छैन। फ्रान्स सरकारले नेपाललाई उनको खोजी गर्न दवाव दिओस भन्ने उनको चाहना छ। उनको हस्ताक्षर संकलन अभियान जारी छ।




वित्तचित्रको सफल प्रर्दशनीपछि प्रसन्न मुद्रामा निर्माताद्धय। यूरोप आउने पक्का भएपछि फ्रान्समापनि संभावित बजारको हतार हतार खोजी गरेका  पाठक पेरिसको प्रदर्शनीपछि साच्चैकै उत्साहित भएका छन्। यो प्रर्दशनीबाट आफूलाई अत्यन्त उत्साह जागेको उल्लेख गर्दै पाठकले अब आइन्दा विदेशी  दर्शकहरुको रुचीलाई ध्यानमा राख्दै वित्तचित्र बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।