Media situation of the western Nepal in the king's direct rule
Bimala Pandey/INS
संचार फिचर

कार्टुन साभार: अविन डट कम
बिमला पाण्डे/स्वससे
प्यूठान
अघिल्लो १९ माघको शाही कदमले स्वतन्त्र सञ्चार क्षेत्रलाई कप्ल्याक्कै
निल्न खोजेको थियो । राजाको सक्रिय साशनले सञ्चार जगतलाई निल्नै चाहिँ सकेन, तर
सञ्चार जगत नराम्ररी घायल भयो । अहिले पनि प्यूठानमा सञ्चारजगतको हरिबिजोग छ ।
स्थिति सुध्रिएको छैन ।
१९ माघको कदमले पत्रकारितामा भर्खर पाइला टेकेको प्यूठानले अधिराज्यभरका
पत्रकारहरुले भोग्नु परेको समस्या झेल्न पर्नु नौलो विषय थिएन, तर अझ बढी समस्या
झेल्दा भर्खर अगाडी बढिरहेको पाइला रोकिने खतरा बढिरहृयो । २०५८ सालदेखि संगठित भएर पत्रकारिताको आरम्भ गरेका यहाँका सञ्चारकर्मीहरुले २०५९
साल असोज २० गते जिल्ला प्रशासन कार्यालयमा दर्ता गरी पहिलो समाचारमूलक पत्रिका
प्यूठान समाचार साप्ताहिकको प्रकाशन थालेका हुन ।
र्स्वर्गद्वारी प्रकाशन प्रालिमार्फ प्रकाशन सुरु भएको पत्रिकाले एक वर्षछि नै
नराम्ररी घायल हुनु पर्यो । २०६१ माघ १९ पछि अत्यन्त दुःखकष्ट सहिरहनु परेको छ ।
०६२ फागुन ४ गते पत्रिकाले शाही घोषणा र प्रेस स्वतन्ताको प्रश्न शिर्षमा सम्पादकीय
छाप्यो । त्यसमा नेपाली प्रेसले नेपाली जनमानसमा जरा गाडिसकेको, राजाको कदम नेपाली
प्रेस र प्रजातन्त्रलाई मुठ्ठीमा लिने दुस्साहस सिबाय केही हुन सक्दैन भन्ने
वाक्यांश थियो, जुन निरंकुश सत्ताको स्थानीय निकायलाई पच्ने कुरै थिएन ।
यही कारण पत्रिकाको त्यो अंक सरकारले जफत गर्यो । फागुन ६ गते सम्पादक इमानसिंह
भारती र पत्रिका छाप्ने र्स्वर्गद्वारी प्रकाशन प्रालिका अध्यक्ष अर्जुनकुमार
कक्षपतीलाई बोलाएर यस्तो सम्पादकीय किन र कसले लेखेको भन्ने सोधखोज गरेरमात्र
नपुगेर प्रशासनले फागुन ९ गतेलाई तारेख तोक्यो । सम्पादकीय सह-सम्पादक नुमराज
खनालले लेखेको भन्ने जानकारी प्रशासनले पाएपछि फागुन ७ गते राति ११ बजे चण्डीप्रसाद
गुल्मबाट एक सैनिक अधिकृतले खनाललाई फोन गरेर ८ गते ब्यारेकमा उपस्थित हुन हुकुमी
आदेश दियो । गणमा पुगेका खनाललाई कसको निर्देशनमा यस्तो लेखेको भन्दै २ घण्टाको
केरकार गरियो र भविश्यमा यस्तो लेखे नराम्रो परिणाम झेल्नुपर्ने त्रास देखाइयो
।
फागुन ९ गते जिल्ला प्रशासनमा पुगेको पत्रिकाको समूहलाई प्रशासनले बिजुवारबाट
प्रकाशित भइरहेको पत्रिकाको कम्प्यूटर प्रिन्ट खंलगामा गर्नुपर्ने, सम्पादन समूहमा
हेरफेर गरी ४ गतेको सम्पादकीय लेख्नेलाई कारबाही गरिनुपर्ने, मास्टर प्रिन्ट
प्रेसमा लैजानु पूर्व स्थानीय प्रशासनमा देखाउनुपर्ने लगायतका सर्तमा हस्ताक्षर
गराइयो । अनि प्रालिको आकस्मिक बैठकले सह-सम्पादक खनाललाई पत्रिकाबाट हटाइयो ।
यस्तै प्यूठानबाट माघ १९ पछि नयाँ पत्रकारहरुको समूहले प्रकाशन थालेको मल्लरानी
मासिक भित्ते पत्रिकाको पहिलो अंकमा -असार १ गते प्रकाशित 'एमाले गाउँगाउँमा'
शिर्षकको समाचारलाई लिएर सम्पादन समूहसँग प्रशासनले बयान लियो ।
निरंकुश राजतन्त्र विरुद्धमा एमाले प्यूठानले गाउँगाउँमा सचेतना अभियान संचालन
गरेको एमाले पार्टीसचिव धनबहादुर रायमाझीको भनाईप्रति आपत्ति जनाउँदै प्रशासनले
सम्पादक विमला पाण्डे, सह-सम्पादक धु्रव जिसी, उमेश नकर्मी समेतको समूहलाई असार २
गते जिल्ला प्रहरी कार्यालयमा लगेर निमित्त प्रहरी प्रमुख मनोज केसीले बयान लिए,
मानसिक यातना दिए । र, १ घण्टापछि आइन्दा राजतन्त्र शब्द सकारात्मक भएपनि नकरात्मक भएपनि नलेख्नू
भनी हुकुमी आदेश दिए । त्यसको एक सातापछि चण्डीप्रसाद गणले सम्पादक पाण्डेलाई बोलाई
सोही बिषयमा पुन सोधखोज गर्यो । यही कारण ४ अंकपछि पत्रिका बन्दै हुन पुग्यो ।
समाचार सकंलनका क्रममा र सम्प्रेषण भइसकेपछि सुरक्षा तथा माओवादीको मानसिक
यातना, धम्की त यहाँका पत्रकारहरुको दिनचर्यानै बनिसकेको छ । कसैले फोनबाट धम्की
पाउने, हिड्दा हिड्दै बाटोमा चेतावनी दिने दैनिक जसो चल्ने प्रक्रिया हुन।
पत्रिकाको विज्ञापनको पैसा उठाउन नसक्नु, सरकारी कार्यालयका विज्ञापन २५ प्रतिशत
पनि नपाउनु अर्को समस्या हो । टेलिफोनकै कारण ग्रामिण भेगमा बस्ने पत्रकारहरु
सदरमुकाम र सुरक्षा निगरानी भएका विजुवार, बाग्दुला र खलंगामा विस्थापित हुन बाध्य
भएका छन । मच्छि पिसिओ बन्द भएपछि सदरमुकाम खलंगामा विस्थापित लुम्बिनी दैनिकका
समाचारदाता प्रमोद पोखरेल ३ लाखको पुस्तक पसल सदरमुकाम सार्न बाध्य भए ।
त्यस्तै नेपाल पत्रकार महासंघ प्यूठानका उपसभापति बुद्धबहादुर जिसी र मल्लरानी
भित्तेपत्रिकाका ब्यवस्थापक तथा प्रेस चौतारी प्यूठानका सदस्य विरेन्द्र मल्ल
क्रमशः जिविस प्यूठानको उपसभापति र क्षेत्रीय सदस्यमा मनोनित भएका छन । जिल्ला
परिषद् प्यूठानले महासंघको संस्थागत विकासका लागि दिने निर्ण्रयगरेको एक लाख
रुपैयाँ पनि दिइएको छैन । त्यस्तै सरकारका चाप्लुसी गर्ने एकाध ब्यक्तिका कारण २०६२
पुस ७ गते बसेको आकस्मिक बैठकको निर्ण्रयअनुसार प्रालिले प्यूठान समाचार
साप्ताहिकलाई आर्थिक कारण देखाउँदै २ महिना बन्द गर्ने निर्ण्रयलियो । प्यूठानबाट
प्रकाशन असम्भव भएपछि सम्पादक भारतीले दाङबाट प्रकाशन गरिरहेका छन । प्रालिका सेयर
सदस्यहरुको रकम प्रेसको रकम र कम्प्युटरको रकम तिर्दै आएका छन ।
त्यस्तै प्यूठानको अर्को समस्या समाचार स्पष्ट रुपमा प्राप्त गर्न नसक्नु हो ।
हरेक समाचारमा पत्रकारले दिनुपर्ने स्पष्टिकरणले यस्तो भएको हो । सदरमुकाम बस्ने
पत्रकारले माओवादी सुराकी र बाहिर बस्ने पत्रकारले सरकारको सुराकी गरेको आरोप
खेपिरहनु परेको छ ।
यस्ता तमाम समस्याका बाबजुत केही पत्रकारले पेशा त्यागे पनि माघ १९ पछि महिला
पत्रकार बढिरहेका छन, पत्रकार महासंघमा सदस्य संख्या बढनु, पत्रिका प्रकाशनको
निरन्तरतालाई चाहिँ उपलब्धि नै मान्नुपर्छ । विकट पहाडी जिल्लामा पत्रकारिता गर्दा तितामिठा अनुभव हुन्छन नै, त्यसमाथि
राज्यको दमन पत्रकारका लागि पिडादायक नै छ । अहिले सदरमुकाम बसेकै कारण महिला
पत्रकार समितिको सहसंयोजक तथा नयाँ युगबोध दैनिकको समाचारदाता विमला पाण्डेले
सरकारी यातना हरेक दिन झेल्नु परेको छ, यतिमात्र नभएर माओवादीले सुराकीको आरोप
लगाउन छोडेको छैन । वर्तमान सरकारकै विरुद्ध र महासंघको नीतिभित्र रहेर काम गर्ने पत्रकारलाई
लगाइएको यो आरोप अस्वभाविक रहेको महासंघका सभापति इमानसिंह भारतीले बताउँछन । माघ
१९ अघि भारतीलाई त्यस्तै आरोप लगाइन्थ्यो ।