Gambling at Nirmal Niwas

काठमाडौ, कात्तिक १३
यसपालिको दशैंमा काठमाण्डौबासीहरुले युवराज पारसको तडक-भडक र आतंक देख्नु परेन। संभवत तिहारमापनि देख्नु नपर्ला। यसो हुनुको कारण पारसको बानी-व्यहोरा सुध्रिएर चाहि पटक्कै होइन। बरु, यसपालिको दशैं र तिहारभरका लागि निर्मल निवासमै जुवाका खालहरु लडाउने व्यवस्था मिलाइएकाले युवराज पारसले ग्यालेक्सी या हायत होटलको डिस्कोतिर धाउनु नपरेको हो। दरबारभित्रको स्रोतअनुसार यसपालिको दशैंभर युवराज पारस निर्मल निवासभित्रै जुवा खेल्नमा व्यस्त रहे। उनलाई बाबुले निवासभित्रै जुवाको व्यवस्था गरिदिएर बाहिर जान नदिएको थाहा भएको छ। उनका साथीहरुको अहिलेसम्म त्यही भीड लाग्ने गरेको थाहा भएको छ।
युवराज पारस मध्यरातमा होटलहरुमा गएर मात्ने, गुण्डागर्दी गर्ने र जथाभावी सवारी चलाएर मान्छे किच्नेमा निकै विख्यात रहदै आएका छन्। गत वर्षबानेश्वरस्थित एक होटलमा उनले मातेका सुरमा हिमानी र गोरखलाई लक्षित गरेर गोलीसमेत चलाएका थिए। यो घटनाले उनको अन्तरराष्ट्रिय चर्चासमेत भएको थियो। गायक प्रवीण गुरुङ्गलाई गाडीले किचेर हत्या गरेको आरोप लगाउदै उनलाई युवराज घोषणा गर्न नहुने माग जनस्तरबाट आइरहेकै बेला दशैको मौका पारेर युवराज बनाइएका पारसलाई सुधार्न राजा ज्ञानेन्द्रलाई अहिलेसम्म हम्मे परिरहेकै छ। यही बाध्यताले गर्दा निर्मल निवासलाई जुवाघरमा परिणत गर्नुपरेको स्रोत बताउछ।


