
काठमाडौको बसन्तपूर क्षेत्रमा रहेको मतदान केन्द्रमा दिउसोको पौने चार बज्दा लिइएको तस्विर। जहा भोट हाल्न मानिस लाम लाग्न त परै जाओस कुकुर हिडेकोपनि देखिएन। उपत्यकामा जम्मा १५ प्रतिशत मतदान भएकोले मतदान केन्द्रहरु लगभग यस्तै शुन्य थिए। तस्विर: सालोक्य /मेरो संसार
काठमाडौं,माघ २६
निर्वाचन गराएर पार्टीहरुको शेखी झार्ने दाउमा रहेका राजाले जम्मा २० प्रतिशत मतमा चित्त बुझाउन परेको छ।यो निर्वाचनलाई नेपालको इतिहासमै सबै भन्दा कम मत खसेको निर्वाचनको रुपमा लिइएको छ।निर्वाचन आयोगका अनुसार सबैभन्दा कम मत कास्कीको लेखनाथ नगरपालीकामा एक प्रतिशत र गौर नगरपालिकामा ७१ प्रतिशत मतदान भएको छ।लेखनाथ नगरपालिकामा ४४ हजार मतदाता रहेकामा जम्मा पाचशय मात्र मत खस्यो।
मतगणनाको परिणाम बिहीबार साँझसम्ममा आइसक्ने बताइएको छ। निर्वाचन आयोगका अनुसार अधिराज्यभरका नगरपालिकामा एक लाख ४२ हजार ९४ मत मात्र खसेको छ । तीन लाख ९ सय ३५ मतदाता रहेको काठमाडौं महानगरपालिकामा ४५ हजार मात्र मत खसेको छ । कर्ीर्तिपुरमा आठ हजार नौ सय मत खसेको आयोगले जनाएको छ । किर्तिपुरमा ३० हजार आठ सय ३१ मतदाता रहेका छन ।
ललितपुर उपमहानगरपालिकामा १६ हजार ६ सय २६ र मध्यपुर ठिमी नगरपालिकामा २ हजार ७ सय ६६ मत खसेको निर्वाचन आयोगले जनाएको छ । भक्तपुर नगरपालिकाका सबै उम्मेदवार निर्विरोध भइसकेका छन। विराटनगरमा ३० हजार ६ सय ६२ मत खसेको छ भने विरगञ्जमा २१ हजार ६ सय ३४ मत मात्र खसेको आयोगले जनाएको छ। लाहान, कलैया, रौतहटलगायतका तराइका केही जिल्लामा अन्य क्षेत्रको तुलनामा बढी मत खसेको छ।
रौतहडको गौर नगरपालीकामा ७० प्रतिशत मत खसेको छ। उता कास्कीको लेखनाथ नगपालिकाको मतदाता संख्या ४४ हजार रहेको भएपनि करिव पाँच सय मात्र मत खसेको छ। कैलालीको धनगढीमा चार सय मत खसेको छ। सो नगरपालिकाको मतदाता संख्या ३३ हजार रहेको छ । नगर निर्वाचनमा १४ लाख ८० हजार २ सय ३८ मतदाता संख्या रहेका छन। पोखरा उप-महानगरपालिकामा ७३ हजार मतदाता रहेको भएपनि पाँच हजार मत मात्र खसेको छ । विरगञ्जमा २१ हजार ६ सय ३४ मत खसेको थियो भने विराटनगरमा ३० हजार ६ सय ६२ मत खसेको छ।
निर्वाचन आयोगले तोकेको समयावधी अनुसार बिहान आठ बजेबाटै मतदान शुरु भएको थियो। उपत्यकामा नगरपालिकामा रहेको मतदान केन्द्रमा मध्यान्हसम्म पनि झिनो संख्यामा मतदाता उपस्थित भएका थिए। निर्वाचनको चहलपहल हर्ेन मतदान केन्द्र अगाडि राम्रै भिड जम्मा भएपनि उनीहरु मतदान गर्न भने गएका थिएनन।
निर्वाचन वहिष्कारको आन्दोलन कमजोर पार्न सुरक्षकर्मीले बुधबार बिहानैबाट धरपकड गरेको भएपनि महानगरपालिकामा झिनो मत खसेको छ। आयोगको तथ्यांक अनुसार महानगरमा १५ प्रतिशत मात्र मत खसेको छ। महानगरको आठ वडामा १४ सय ८८ मा तीन सय ६० मत खसेको मतदान अधिकृत भरत पौडेलले बताउनुभयो। ३२ वडाको चार बुथ डिल्लीबजार कन्या क्याम्पस, बिजय मेमोरियल ,मिलन विद्यामन्दिर र शहरी विकास कार्यालयमा गरी सात सय मत खसेको छ।
३१ वडामा ६ हजार चार सय मध्ये पाँच सय ४० मत खसेको छ। सो वडाका पद्यमोदय मतदान केन्द्रका कर्मचारीले ४० भन्दा बढी युवाहरुले फर्जिमत खसाल्न आएपनि मतदान अधिकृतले फर्काएको जानकारी दिए।
मध्यपुर ठिमीमा नगरपालिकाको वडा १२ मा ३३ मत मात्र खसेको छ। ललितपुर उप महानगरपालिकाको २२ वडाको पाटन मावि र बंगलामुखी मतदान केन्द्रमा सबैभन्दा बढी एक हजार तीन सय मत खसेको छ। सो वडामा चार हजार सात सय ५४ मतदाता रहेका थिए।
सिराहा समाचारदाताका अनुसार मतदान केन्द्र सुनसान भएपछि सेना आफैं घरघरमा गएर मतदान गर्न उर्दी जारी गरेको थियो। सिन्धु्ली समाचारदाताका अनुसार सुरक्षाकर्मीले मतदानमा सहभागी नहुने ब्यक्तिलाई कार्वाही गर्ने त्रास देखाएर स्थानीयवासिलाई मतदान गर्न बाध्य पारेको थियो ।
काठमाडौंमा मतदान सुरु हुनेबित्तिकै ताहाचलमा मत हाल्न गएका निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त केशवराजराज भण्डारीले मुचुल्का गर्ने कर्मचारी नपाएपछि समाचार संकलन गर्न गएका पत्रकारलाई साक्षी राखेर मुचुल्का गर्राई मत खसाल्नुभएको थियो।
मत हाल्न गएका र्सवसाधारणले पनि करकापमा परेर भोट हाल्न आएको बताएका थिए। जनज्योती माध्यामिक विद्यालयमा भोट हाल्न आएका रवीभवन निवासी नारायणकेशरी शाह करकापमा भोट हाल्न आएको बताउँदै थिए। सरकारी जागिरबाट रिटाएर ७२ वर्षीय शाहले अहिलेको अवस्थामा भोट हाल्नु गलत भए पनि बाध्यता बस आएको बताए।
बुधबार देशभरीका कुल ४३ जिल्लाका ५८ नगरपालिकामध्ये २८ जिल्लाका ३६ नगरपालिकाका आंशिक पदका लागि मतदान भएको थियो । ३४ नगरपालिकाको प्रमुख, २५ उपप्रमुख, १ सय ९७ वडाध्यक्ष, २ सय ९१ वडा सदस्य र ७१ महिला वडा सदस्य गरी जम्मा ६ सय १८ पदका लागि मतदान गरिएको थियो।
यसअघिनै २४ नगरप्रमुख, ३१ उपप्रमुख, ३ सय ८९ वडाध्यक्ष, ६ सय १९ वडा सदस्य र २ सय १४ महिला सदस्य निर्विरोध निर्वाचित भइसकेका छन्। दुइ हजार २ सय ५१ पदमा भने उम्मेदवारी नै परेको छैन।
मतदान कम हुनुसँग सरोकार छैनः प्रमुख आयुक्त
प्रमुख निर्वाचन आयुक्त केशवराज राजभण्डारीले बुधबार सम्पन्न नगर निर्वाचनमा नेपाली जनताले सुरक्षित र भयरहीत ढंगले भाग लिन पाएर खुसी भएको दावी गर्नुभएको छ।स्वतन्त्र समाचार सेवासँग बुधबार पाटन मतदान केन्द्रको स्थलगत निरीक्षण गर्न पुग्नुभएका प्रमुख आयुक्तले भन्नुभयो-मतदाता त्रासमुक्त भए र देशभरी सुरक्षा ब्यवस्था राम्रो भएकाले निर्वाचन उत्साहपूर्वक सम्पन्न भयो।
दिउँसभरी काठमाडौं र ललितपुरका विभिन्न मतदान केन्द्रको स्थलगत निरीक्षण गर्नुभएको थियो। उहाँले निर्वाचनको क्रममा युवाहरुको उपस्थितिलाई राम्रो संकेत भन्नुभयो।
नगर निर्वाचनमा मतदाताको संख्या अत्यन्त न्यून देखियो नि भन्ने जिज्ञासामा उहाँले भन्नुभयो-निर्वाचन आयोगले निर्वाचन सम्पन्न गर्ने कार्यको मात्र जिम्मेवारी पाएकाले मतदानमा सहभागी हुनेहरुको संख्या कम हुनु र बढी हुनुसंग त्यती सरोकार राख्दैन।' उहाँले निर्वाचन प्रक्रिया ठीक थियो कि थिएन भन्ने कुरा मात्र महत्वपूर्ण हो ,मतदाता कतिले भोट हाले र कतिले उम्मेदवारी दिए त्यसले कुनै महत्व राख्दैन भन्नुभयो।
निर्वाचनमा भाग लिन इच्छा भएकाहरु शतप्रतिशतले मतदान गर्न पाएको तर मतदानमा भाग लिन नचाहनेहरुले मात्र भाग लिन नआएका उहाँले बताउनुभयो। उहाँले मतदानमा भाग लिन चाहने जनतालाई केही दलले अवरोध खडा गरेर मानव अधिकारको हनन् गरेको आरोप लगाउनुभयो। विराटनगर, नारायणगढ र दाङ्गको त्रिभुवन नगरपालिकामा गोली चलेको घटनालाई सामान्य रुपमा लिनुभइका भन्डारीको विचारमा सुरक्षास्थिति राम्रो भएरनै निर्वाचन सफलतापूर्वक सम्पन्न भएको हो। स्रोत: स्वतन्त्र समाचार सेवा।