
उपत्यका बन्दमा निस्केको कांग्रेसको जुलुशमा सहभागी केही नेताहरु। तस्विर: अरुण बरालकाठमाण्डौ, कार्तिक ११
माघ १९ को शाही कदमपछि पहिलोपटक शुक्रबार सातदलले आयोजना गरेको उपत्यका बन्द भव्यरुपमा सफल भएको छ। शुक्रबार बिहानैदेखि उपत्यकाका ३ वटै शहरमा सवारी साधन र पसलहरु ठप्प रहेका थिए। बन्दका क्रममा विभिन्न ठाउमा प्रदर्शनकारीहरुलाई प्रहरीले गिरफ्तार गरेको थियो भने केही सवारी साधनलाई प्रदर्शनकारीले तोडफोडसमेत गरेका थिए।
बन्दका क्रममा एमालेका रामेश्वर फुयाल, अनेरास्ववियूका खिमलाल भट्टर्राई, यज्ञ सुनुवार, रुपनारायण श्रेष्ठ र नेवि संघका बासु कोइराला, कल्याण गुरुङ्ग, दलित नेता मीनबहादुर बि.क.लगायत दर्जनौं प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ गरेको थियो। पाटनको मंगल बजारबाट नेविसंघ प्रजातान्त्रिकका रामकृष्ण चित्रकार र रत्न कार्कीलगायत २४ जना पक्राउ परेका थिए भने कालीमाटीबाट ३ जना, चावहिलबाट ८ जना र बागबजारबाट ७ जनालाई प्रहरीले पक्राउ गरेको थियो।
सात राजनैतिक दलहरुद्वारा निरंकुश सरकारले जारी गरेको सञ्चार अध्यादेशविरुद्ध उपत्यका बन्दको आयोजना गरेका हुन्। माघ १९ यता माओवादीले नेपालबन्दको घोषणा गर्दा पनि उपत्यका बन्द हुन छाडेको थियो। तर, शुक्रबारको बन्द भने अभूतपूर्वरुपमा सफल भएको दलहरुले दाबी गरेका छन्। एम्बुलेन्सहरु, केही निजी साधन, रिक्सा तथा प्रहरी र सेनाका गाडी बाहेक अन्य साधनहरु सडकमा देखिदैन थिए। सरकारी गाडीहरुलाई पनि प्रदर्शनकारीहरुले गुड्न नदिदा सरकारी कार्यालयको कामसमेत प्रभावित भयो। उपत्यकाका प्रायः सम्पुर्ण शिक्षण संस्थाहरु पनि बन्द रहे। राजनैतिक दलका नेताहरुले बसन्तपुर डबलीमा अपरान्ह एक सभाको आयोजना गरेर उपत्यकाबासीहरुलाई धन्यवाद दिएका छन्। यस्तै कार्यक्रम ललितपुर र भक्तपुरमा पिनि आयोजना गरिएको थियो। उपत्यकाबासीहरुले बन्द कार्यक्रमलाई अभूतपुर्व रुपमा साथ दिएर राजाको कदमको विपक्षमा आफूलाई प्रस्तुत गरेको दलका नेताहरुको भनाइ छ।
बेलुका ४ बजे बसन्तपुरबाट नागरिक समाज र दलका नेता-कार्यकर्ता सम्मिलित जुलुसले बजार परिक्रमा गरेको थियो। जुलुसपछि आयोजित सभामा नेपली कांग्रेसकी केन्द्रीय सदस्य सुप्रभा घिमिरे, एमालेका राजेन्द्र श्रेष्ठ र नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डेले बोल्नुभएको थियो।