आज काठमाडौमा आयोजना भएको सात पार्टीको सभामा उपस्थित नागरिकहरु । तस्विर: सालोक्य/ मेरो संसार
काठमाडौं , मंसीर ३०
आन्दोलनरत सात दलले नगरकोट घट्नाको बिरोधमा भोलि उपत्यका बन्दको घोषणा गरेका छन्। सात दलको बिहीबार बिहान बसेको केन्द्रीय संयोजन समितिको बैठकले उक्त निर्णय गरेको हो। सातदलद्वारा आज काठमाडौंको बानेश्वरमा आयोजित बिरोध सभामा उपत्यका बन्दको घोषणा गरिएको थियो।संयोजन समितिले शाही नेपाली सेनाद्वारा घर्टाईएको उक्त घट्नालाई अपराधिक घट्नाको रुपमा चित्रण गर्दै मुलुकको रक्षा मन्त्री र सेनाका परमाधीपति राजालाई उक्त घट्नाको लागि दोषी ठहर गरेको छ। संयोजन समितिले कालोझण्डा बोकेर उपत्यका बन्द सफल पार्न सबैसंग आग्रह पनि गरेको छ।
बिरोधसभामा सात दलका शिर्षथ नेताहरुले पनि उक्त घट्नामा केन्द्रित रहंदै रक्षा मन्त्रालय सम्हालेका राजामाथि उक्त घट्नाले नैतिकताको प्रश्न खडा गरेको र उनले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने माग राखेका थिए। उक्त घट्नालाई लिएर एक मिनेट मौनधारण समेत गरिएको थियो।सभामा नेपाली काग्रेंसका सभापति गिरिजाप्रसाद कोइरालाले उक्त घट्नाप्रति टिप्पणी गर्दै भने 'उक्त घट्नामा विश्वहिन्दु सम्राटलाई दोषी ठहर्याउँछु र उक्त घटनाको कारण उनमा कालो धब्बा लागेको छ, जुन धोएर पखालिँदैन्।' जनताले जितेर प्रजातन्त्र ल्याएपछि उक्त घट्नाका दोषीहरुलाई कारबाही गरिने प्रतिबद्धता ब्यक्त गर्दै कोइरालाले 'शाही नेपाली सेना कसैको निजी सेनाका रुपमा प्रयोग भईरहेकाले उसलाई राष्ट्रिय सेनामा परिणत गर्ने योजनामा सात दल सक्रिय रहेको बताए।
यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव माधवकुमार नेपालले अहिले मुलुकमा सेना र प्रहरीको ज्यादतीले सीमा नाघेको र नेपाली चेलीको चिरहरण गर्न नपाएपछि शाही नेपाली सेनाले नगरकोट घट्ना घटाएको दाबी गरे।'राजा आफैं रक्षामन्त्री बनेर नगरकोटको जस्तै नरसंहार गर्छन् र त्यसलाई शान्ति स्थापनाको रुपमा चित्रण गर्छन्' महासचिब नेपालले भने-'यस्ता घट्ना अन्यत्र पनि घटेका छन् र राजाले शान्ति स्थापना गर्ने भनेको सैनिकले नेपाली चेलीलाई बलात्कारपछि मैना सुनुवारको जसरी हत्या गर्ने रहेछ। राजाले भनेको शान्ति यसैगरी आउँछ' उनले भने।
जनमोर्चा नेपालका अध्यक्ष अमिक शेरचनले उक्त घट्नामा दरबार हत्याकाण्डमा मारिएका दिपेन्द्रमाथि दोष थोपरे जसरी नै मारिएका या मरेका एक सैनिकमाथि दोष थोपर्न राज्य पक्ष लागेको आरोप लगाए। शेरचनले नगरकोट घट्नालाई राजदरबार हत्याकाण्डको पुनराबृत्ति घट्ना हो भन्दै सैनिक नेतृत्व सम्हालेका राजा अर्न्तगत रहेका व्यक्तिहरुले यस्तै घट्ना घटाउने गरेकाले राजतन्त्रको अन्त्य आवश्यक रहेको बताए। घटना सहेर नबस्न र आन्दोलनमा आउन उनले भक्तपुरबासीलाई आग्रह पनि गरे।
नेपाली कांग्रेस (प्रजातान्त्रिक) का कार्यबाहक सभापति गोपालमान श्रेष्ठले नगरकोट घट्नाका मृतकहरुलाई शहीद घोषणा गर्नुपर्ने माग राखे। सभाका अर्का वक्ता नेपाल मजदुर किसान पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले उक्त घट्नामा भक्तपुर जिबिसमा मनोनित सभापति सु्रेन्द्रप्रताप शाहको हात रहेको आरोप लगाए। स्थानीय जनतालाई मार्न शाहले षड्यन्त्र गरेकोमा आफू विश्वस्त रहेको दावी गर्दै विजुक्छेले भने- अहिलेको राज्यसत्ताले पागललाई हतियार दिएको कारण यस्ता घट्ना घट्ने गरेका छन्।'
नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) का उपाध्यक्ष भरतबिमल यादव र संयु्क्त बाममोर्चाका अध्यक्ष कृष्णदास श्रेष्ठले पनि नगरकोट घट्नाले वर्तमान राज्यसत्ताका काम कारबाहीलाई उदाङ्गो पारेको बताए।आन्दोलनको उद्घोष सभामा काग्रेंस सभापति कोइरालाले रोचक पारामा भने- 'आजकल म निरकुंशता बिरोधी कुरा बाहेक अरु सुन्दिनँ र आँखाले पनि आन्दोलन बाहेक अरु देख्दिनँ।' कोइरालाले बिदेशीले भनेको कुरा महत्वपूर्ण नहुने तर नेपालीले गर्ने आन्दोलन भने महत्वपूर्ण हुने बताए।
नेपालका दुइ ठुला चीन र भारत एवं अन्य अन्तरराष्ट्रिय समुदायप्रति इङ्गति गर्दै कोइरालाले नेपाली जनताको हित हुने र निरकुंशतालाई नसघाउने गरी बिदेश नीति बनाउन आग्रह गरे। चुनाब बहिस्कार गरेर एक्ल्याएपछि राजा समाप्त हुने दाबी गर्दै उनले भने- 'राजालाई भेटेर म तिमी किताबमा एकादेशमा राजा थियौं भन्ने अबस्थामा पुग्यौ भनिदिन्छु।'
एमाले महासचिव नेपालले दमनको बलबाट टिक्ने राजतन्त्र नेपालको लागि दुइ सय ३७ बर्षे पीडाको रुपमा रहेको कारण अब राजाबिनाको नेपालको परिकल्पना गर्नुको बिकल्प नरहेको बताए। आन्दोलनले राजा फाल्ने र माओवादी पनि मुलधारमा आउंने कुरामा कुनै शंका नगर्न उनले आग्रह गरे। उनको भनाइ थियो -'हिजो हामी दरबार गएको कुरा उहिलेका कुरा खुइले जस्तै हो।'
जनमोर्चाका अध्यक्ष शेरचनले नारायणसिंह पुनलाई मन्त्री बनाएर राजाले वार्ताको बिषयमा भ्रम पार्न खोजे पनि माओवादीले वर्तमान राज्यसत्ताका कोहीसँग पनि सम्बन्ध नरहेको र नरहने प्रतिबद्धता जनाएका कारण त्यसले आन्दोलनलाई झन अघि बढाउने दावी गरे। सभामा सात दलको केन्द्रिय संयोजन समितिले निर्वाचन बहिष्कार गर्न थप आग्रह गर्दै पुस २८ गते जनकपुरमा र माघ ७ गते काठमाडौंमा बिरोध सभा गर्ने निर्णय गरेको जानकारी समेत गर्राईयो।
प्रहरीद्वारा लाठीचार्ज
नगरकोट घट्नाको विरोधमा सात दलको सभामा सहभागी केहीले सभा सकिएपछि घर र्फकने क्रममा आज साँझ बानेश्वरमा गाडी रोकेका थिए। उनीहरुले सरकारी गाडी तोडफोड पनि गरेका थिए। तोडफोडको क्रममा बा १ झ ५९६७ नम्बरको गाडी ध्वस्त पारिएको थियो भने अरु केही गाडीमाथि ढुङ्गामुढा प्रहार गरिएको थियो।सभाबाट र्फकने क्रममा नारा लगाएर गाडी रोकिरहेका युवाहरुलाई प्रहरीले लाठीचार्ज गरेपछि उनीहरु तोडफोडमा उत्रेका थिए। तोडफोडपछि प्रहरीले लाठीचार्ज गर्दै सहभागी युवाहरुलाई लखेटेको थियो। उपत्यका बन्द सफल पार्न बिद्यार्थीहरुले आजै अरु ठाउँमा पनि नारा जुलुश गरेका थिए।