आर आर क्याम्पस अगाडी प्रहरीले फालेको अश्रुग्यास तस्विर: अरुण बराल
काठमाण्डौ, भदौ ९
राजा ज्ञानेन्द्रको नेतृत्वमा रहेको शाही सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेपछि प्रतिगमनविरोधी आन्दोलनमा आगोमा ध्यू थपेसरह भएको छ । यतिखेर राजधानीमा विधार्थी आन्दोलन यति धेरै चर्किएको छ कि प्रहरीहरु दिउसै सडकमा भागाभाग गर्न थालेका छन् । विद्यार्थीले दिनहुंजसो राजधानीका क्याम्पस वरपर सडक अवरुद्ध पारिरहेका छन् ।काठमाण्डौमा चारदिन यता विद्यार्थी आन्दोलन सबैभन्दा बढी उत्कर्षमा पुगेको छ । राजधानीबाट सल्किएको विद्यार्थी आन्दोलनको रांको बनेपा, पोखरा, हेटौडा र बिराटनगर हुंदै राजधानी बाहिर पनि फैलन थालेको छ । आज राजधानीको त्रि चन्द्र क्याम्पस र शंकरदेव क्यम्पसबाट बिद्यार्थीहरुको जुलुस निस्क्यो भने नेकपा एमालेलेपनि पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको बिरुद्धमा सुनधाराबाट जुलुस निकाल्यो ।
सोमबार विद्यार्थीले नयां वानेश्वर चौक केही घण्टा कब्जा गरेर राजा ज्ञानेन्द्रको पुत्ला जलाए । प्रहरीले विद्यार्थीहरु, पत्रकार र बाटो हिंड्ने र्सवसाधारण माथि पनि लाठी चार्ज गरेर भीड हटाउने प्रयास गरे पनि सकेन । मीनभवनस्थित कमर्श क्याम्पस र निषेधित क्षेत्रभित्र पर्ने त्रिचन्द्र, आरआर र ल क्याम्पस वरिपरि टायर बालेर सडक अवरुद्ध पार्नुका र्सार्थ ज्ञानेन्द्को पुत्ला जलाउने, प्रहरीलाई ढुंगा र गुलेली हानेर लखेट्ने तथा मसाल जुलुस प्रदर्शन गर्ने कार्य विद्यार्थीहरुले सफल गरेका छन् ।मंगलबार पद्मकन्या क्याम्पसका छात्राहरुले बागबजार हुदै चारखालसम्म जुलुस पर्दर्शन गरेका थिए । मंगलबार र बुधबार दुबै दिन राजधानीका प्रमुख क्याम्पस शंकरदेव, पशुपति, आरआर, त्रिचन्द्र, सरस्वती, पद्मकन्या, पाटन, इञ्जिनियरिङ्ग, अस्कल र ल क्याम्पस आदिमा प्रहरी र विद्यार्थीबीच मुठभेड भएका छन् । मुठभेडमा दर्जनौ विद्यार्थीहरु घाइते हुने र गिरफ्तारीमा परे पनि प्रहरीहरुलाई क्याम्पस परिसरबाट विद्यार्थीले लघारिरहेका छन् । प्रहरीले फालेको अश्रुग्यास विद्यार्थीले टिपेर उतै फालिदिने गरेका छन् ।