Demonstration with spade & plough
Chintamani Poudel, Chitwan



 चिन्तामणी पौडेल (तस्विर सहित )
चितवन माघ १८
 चितवनको माडीमा आईतबार लोकतन्त्रको माग र माघ २६गते हुने भनिएको नगरपालिका चुनावको बहिस्कारको आहृवान गर्दै हलो र कोदालोको जुलुस निकालिएको छ। जनमोर्चा नेपालको चितवन जिल्ला समितिले आयोजना गरेको उक्त जुलुसमा माडी क्षेत्रका  चारवटै गाउँ विकास समितिका बासिन्दाहरु आफुसंग भएका औजार बोकेर, परंपरागत भेषभुषामा उपस्थित थिए। माडीको मुख्य बजार बसन्तपुरमा सम्पन्न उक्त साँस्कृतिक प्रदर्शनीसहितको झाँकीमा सयौ किसानहरुले हलो, कोदालो, र हसिँया बोकेका थिए।महिलाहरु रातो बस्तत्रमा प्लेकार्ड सहित पिठ्युमा डोको बोकेर र्‍यालीमा सहकभागी थिए। चितवनका आदिवासी थारु महिलाहरु परंपरागत पहिरनमा टाउँकोमा घैंटो बोकेर साँस्कृतिक झाँकीमा सजिएका थिए। यसैगरी थारु पुरुषहरु माछामार्ने जाल, माछा राख्ने फुलुंङ लिएर जुलुसमा सहभागी भएका थिए।कार्यक्रममा थारु, बोटे, मुसहर, माझी लगायतका आदिवासीका साथै स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो। जनमोर्चा नेपालका अनुसार यस्तो प्रकारको गाउँ जागरण कार्यक्रम नेपालमा नै यो पहिलो कार्यक्रम हो। र्‍याली पछि बसन्तपुरमा एक आमसभा भएको थियो। मोर्चाका जिल्ला सदस्य पदमबहादुर श्रेत्रीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा जनमोचाका केन्द्रीय सदस्य भीमप्रसाद गौतम, जिल्ला अध्यक्ष ठाकुर ढकालले बोल्नु भएको थियो।