
स्वतन्त्र समाचार सेवा
काठमाडौं माघ २५
बुधबार हुने नगर निर्वाचनको वहिष्कार अभियान चर्किरहँदा अत्तालिएको सरकारले मतदान बिथोल्नेमाथि गोली हान्ने धम्की दिएको छ।मंगलबार अकस्मात गृह मन्त्री कमल थापाले पत्रकार सम्मेलन गरी मतदान बिथोल्न खोज्नेहरुलाई सुरक्षाकर्मीलाई गोली हान्ने अधिकार दिइएको जानकारी दिनुभयो।सात दलले निर्वाचन वहिष्कारका लागि शान्तिपूर्ण आन्दोलन गरिरहेका छन भने माओवादीले नेपाल बन्द गरेको छ। राष्ट्रिय र अन्तराष्ट्रिय स्तरबाट यो निर्वाचनको वैधानिकतामाथि ठूलो प्रश्न उठिरहेको छ। नगर निर्वाचनमा पुरै राज्यशक्ति प्रयोग हुँदा समेत आधा भन्दा बढी स्थानमा उम्मेदवारी परे। बलपूर्वक उम्मेदवारी बनाई निर्विरोध भएकाहरुले समेत पदबाट धमाधम राजीनामा दिदै निर्वाचनको विरोध गर्न थालेका छन।सात दल र माओवादीको रणनीतिबाट अत्तालिएको मन्त्रिपरिषद्को हालै बसेको बैठकले पनि निर्वाचन बिथोल्न खोज्नेमाथि कारवाही गर्न सुरक्षाकर्मीलाई असिमिति अधिकार दिने निर्णय लिएको थियो।