राजधानीमा बिहानैदेखि धरपकड
by
Nepal Info
on Wed 08 Feb 2006 07:19 AM CET |
Permanent Link
|
Cosmos
मतदान गर्ने भन्दा वहिष्कार गर्नेको चहलपहल
Dozens arrested from Kathmandu
स्वतन्त्र समाचार सेवा
काठमाडौ,माघ २६
नगर निर्वाचन वहिष्कारवादीको पकड देखेर तर्सिएको सरकारले सरकारले सात दलका नेता कार्यकर्तालाई बुधबार बिहानैदेखि ब्यापक घरपकड गरेको छ। नेपाल विद्यार्थी संघका नेता रमेश रायमाझीलाई बिहानै कंलकीस्थित घरबाट पक्राउ गरिएको छ। पक्राउ परेका रायमाझी लगायत १० जनालाई वडा प्रहरी कार्यालय कालिमाटीमा राखिएको छ।
प्रहरीले कांग्रेस नेता सुरेश मल्ल र नेपाल किसान संघका केन्द्रीय सचिव अच्युत मिश्रलाई आफ्नै निवासबाट बिहानै गिरफ्तार गरेको छ। मल्ललाई बुद्धनगर र मिश्रलाई मध्यपुर ठिमीबाट पक्राउ गरिएको हो। चाबहिलमा बिहान निस्केको जुलुसबाट पशुपति क्याम्पस नेविसंघ इकाइ सभापति सन्तोष पाण्डेलाई गिरफ्तार गरिएको छ। कलंकीस्थित निवासबाटै एमाले धादिङ सचिव गुरु बुर्लाकोटीलाई कुटपिट गर्दै गिरफ्तार गरिएको छ। उहाँको गिरफ्तारीको विरोधमा निस्केको जुलुसबाट एमाले धादिङ जिल्ला सदस्य गिरिराज कँडेलसहित ११ जनालाई सुरक्षाकर्मीले पक्राउ गरेको छ।
यसैबीच राजधानीमा बुधबार बिहान ८ बजेदेखि मतदान सुरु भएको छ। यद्यपी मतदाताको भन्दा शहरबजारमा निर्वाचन वहिष्कारवादीहरुको बढी चहलपहल देखिन्छ। हाम्रा सहकर्मी केपी ढुगांना र खिला कार्कीले जनाएअनुसार अहिल बिहान रवीभवनस्थित दुइ वटा मतदान केन्द्रमा गरेको अनुगमनका क्रममा जम्मा तीस/तीस मत खसेको पाएका छन। जैसीदेवललगायतका भित्रि शहरका मतदान केन्द्रमा प्रत्येक १५ मिनेटमा एक मतमात्र खसिरहेको छ। मतदाताहरु डराइडराइ मत दिइरहेका छन। मतदान केन्द्रहरुमा मतदाताको लाइन पटक्कै देखिदैन। वहिष्कारवादीले बिहानै कलंकी लाम्पाटी, बागबजार, कोटेश्वरलगायतका क्षेत्रमा प्रदर्शन गरिसकेका छन। बिहान आठ बजे मतदान वहिष्कारको आग्रह गर्दै टायर बालेर कलंकीस्थित रवीभवनमा सडक अवरुद्ध गरिएको थियो।सडकमा सरकारले यातायातका साधन गुड्न दिएको छैन भने मानिसहरुको आवतजावन पनि ज्यादै पातलो छ।