Candidates to be socially boycotted

काठमाडौं, पुस २७
 शाही सरकारले निरंकुशता स्थापित गर्न लागेको नगर निर्वाचन वहिष्कारको आग्रह गर्दै आन्दोलनरत सात दलले देशैभरी घरदैलो कार्यक्रम थालेका छन् भने उनीहरुको यो आन्दोलन देशव्यापी बन्दै गइरहेको छ। केही दिन अघिदेखि शुरु भएको यो आन्दोलनलाई सघाउन अहिले मानवअधिकार संघ संस्थाहरुपनि लागिपरेका छन्।पर्चा पोष्टरहरुका साथ घरघरमा गएर निर्वाचन बहिष्कार गर्न पार्टीहरुले आफ्ना कार्यकर्ता तथा नागरिकहरुलाई अनुरोध गरिरहेका छन्। हिजोका दिनमा भोट हाल्न आग्रह गर्दै घरघरमा नेताहरु आएको अनुभव गरिरहेका उपत्यकाबासीले त्यही नेताहरु भोट नहाल्न आग्रह गर्दै घरदैलोमा पुग्दा आर्श्चर्य मानेको एमाले उपत्यका समन्वय कमिटीका सदस्य योगेश भट्टराइले जनाए। उनका अनुसार उपत्यका र देशका सम्पूर्ण निर्वाचन क्षेत्रको घरदैलो कार्यक्रमसँगै भित्ते लेखन, ब्यानर, पोष्टर टाँस्ने कार्यलाई तिब्रता दिइने छ।उता उम्मेदवार बने सामाजिक वहिष्कार गरिने नया नाराका साथ आठ विद्यार्थी संगठनले शाही सरकारले घोषणा गरेको नगर निर्वाचन वहिष्कारका लागि मतपेटिका जलाउने, उम्मेदवार/प्रस्तावक/र्समर्थकलाई सामाजिक वहिष्कार गर्नेलगायतका नयाँ आन्दोलनका कार्यक्रम घोषणा गरेका छन।बुधवार बसेको संयुक्त बैठकले माघ ५ गते निवार्चनको प्रतिकको रुपमा ५८ वटै नगरपालिकाहरुमा मतपेटिका जलाउने र सोही दिन बिहान आठ बजे नगरनिर्वाचन वहिष्कारका लागि जनचेतना जोगाउने उदेश्यले अमृत र्साईन्स क्याम्पसबाट दौड जुलुस निकाल्ने कार्यक्रम तय गरेको छ।
माघ १२ मा मतदान वहिष्कारका लागि जनचेतना जगाउन अधिराज्यभरका नगरपालिकामा वहिष्कार सभा गर्ने कार्यक्रम पनि तय भएको छ।बैठक पछि जारी विज्ञप्तिमा नगर निर्वाचन वहिष्कारका लागि आठै विद्यार्थी संगठनको संयुक्त सञ्जाल निर्माण गरी सबै नगरपालिकामा विद्यार्थीहरुलाई सक्रिय परिचालन गरिने उल्लेख छ।सात दलले नगर निर्वाचनमा सहभागी उम्मेदवार र सहयोगीलाई समेत कालो सूचीमा राख्ने घोषणा यसअघि नै गरिसकेका छन।