राप्रपाका सात नेता निष्काशित
by
Nepal Info
on Mon 09 Jan 2006 06:41 AM PST |
Permanent Link
|
Cosmos
RPP chairman fires seven central committee members
काठमाडौ, पुस २५
राष्ट्रिय प्रजातन्त्र पार्टी सक्रिय राजतन्त्रको पक्षधर सात जना
नेतारुलाई ६ वर्षम्मको लागि पार्टीको साधारण सदस्यता समेत नरहने गरी
निष्काशन गरेको छ। बहुदलीय प्रजातन्त्रप्रति प्रतिबद्ध पार्टीको नीति
विपरित पार्टी फूटाउने दुष्प्रयासमा सक्रिय सहभागिता जनाएको भन्दै अनुशासन
समितिले गृहमन्त्री कमल थापा, शिक्षा सहायक मन्त्री भुवन पाठक, स्थानीय
विकास राज्यमन्त्री रोशन कार्की, केन्द्रीय सदस्य पद्मसुन्दर लावती,
दूर्गा श्रेष्ठ, जगत गौचन र राजिव पराजुलीलाई निष्काशन गरेको हो।
अध्यक्ष पशुपतिसम्मसेर राणाद्धारा केन्द्रीय समितिमा मनोनित
मन्त्रिपरिषद्का सदस्य प्रतापराम लोहार, वृजेशकुमार गुप्ता र तोरणबहादुर
गुरुङ्गलाई भने केन्द्रीय सदस्यबाट मात्र निकालिएको छ।
पार्टी विधान विपरित विशेष महाधिवेशनको आहृवान गरी पार्टी विभाजन गर्ने
प्रयास गरेको बताउँदै पार्टीका १० जना नेतालाई कारवाही गरेको छ।
संबैधानिक राजतन्त्र मान्ने राजनीतिक दलको संख्या कम हुँदे गएको अवस्थामा
संबैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रलाई आदर्श मान्दै आएको राप्रपा
फुटाउन सरकारनै मैदानमा उत्रिएको देख्दा आर्श्चर्य लागेको राणाले बताए।
कथित महाधिवेशनका लागि सरकारले सरकारी संयन्त्रको दुरुपयोग गरी जर्वजस्ती
कार्यकर्तालाई काठमाडौं ल्याउन सरकारी संयन्त्र, साधन र स्रोतको दुरुपयोग
गरेको राणाले दावी गरे। उनले भने-'राप्रपा फुटाउनका लागि सरकारले अञ्चल,
क्षेत्रीय प्रशासक, प्रशासक, प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षाकर्मीलाई
समेत परिचालन गरेको देख्दा मलाई दुःख लागेको छ। राणाले पुस २६ र २७ गते
आयोजना गरिन लागेको कथित माधिवेशनमा सम्मानित राजसंस्थालाई जोडेर
प्रचारप्रसार गरेकोमा आपत्ति जनाए। 'श्री ५ को सरकार नै हाम्रो पार्टीलाई
तहसनस पार्ने दुष्प्रयासमा लागेपनि हामी बहुदलीय प्रजातन्त्रबाट एक इन्च
पनि पछाडि हट्दैनौं।' सरकार पूर्ण तयारीका साथ राप्रपा फुटाउन मैदानमा
ओर्लिएको भएपनि आफु कसैको त्रासवाट नडराउने अडान राख्दै उनले भने-'जो जो
गए ती बदनाम नै थिए, अब पार्टी चोखिन्छ।'
सोमवार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राणाले
पार्टीलाई प्रजातान्त्रिक धारमा हिडाउने, पार्टी सुदृढीकरणको अभियान सुरु
भएको जानकारी दिए। पुस २६ र २७ को महाधिवेशन पार्टी विधान विपरित भएकोले
त्यसमा संलग्न नहुन सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गर्दे राणा
भने-'यदि कुनै नेता तथा कार्यकर्ता 'कथित' महाधिवेशनमा सहभागी भएमा
पार्टीबाट निष्काशन गर्न हिच्किचाउने छैन। पत्रकार सम्मेलनमा राप्रपाका
नेता तथा कार्यकर्ताको ठूलो उपस्थिति थियो। कार्यक्रममा ३७ जना केन्द्रीय
सदस्यमध्ये १८ जनाको उपस्थिति थियो।
उता, विद्रोही खेमा भने विशेष महाधिवेशनको तयारीमा ब्यस्त छ। असन्तुष्ट
पक्ष धरले भोलिको महाधिवेशनको लागि चार वटा निजी क्षेत्रको हेलिकोप्टर
प्रयोग गरिरहेको छ। असन्तुष्ट पक्षले भोलि ९ बजे अन्तराष्ट्रिय सम्मेलन
केन्द्रमा महाधिवेशनको आयोजना गर्ने भएको छ।
स्वतन्त्र समाचार सेवा