Extinct Dinosarus come to Paris
Anuradha Poudel
चराका पूर्खा डाइनोसर। पेरिसको ग्रं प्यालाइमा राखिएको डाइनोसरको एक जाति।
तस्विर तथा अालेख अनुराधा पौडेल
डाइनोसरहरु हाम्रो पृथ्वीमा थिए भनिन्छ तर हामीले देख्न पाएनौं। यसको तिनीहरु बास्तवमा कस्ता थिए भन्ने कुरा हामीले कितावहरुमा देख्यौं। डाइनोसरको अाकर्षण संसारभरी नै रहेछ भन्ने कुरा केही बर्ष अघि अमेरिकीहरुले बनाएको जुरासिक पार्क भन्ने चलचित्रको लोकप्रियताले नै थाह हुन्छ। मानिसहरुले निकै रुचिपूर्वक जुरासिक पार्कका डाइनोसरहरु हेरे। यो उत्सुकता चलचित्रमा मात्र होइन प्रदर्शनीमापनि उत्तिकै देखिने रहेछ भन्ने कुरा पेरिसमा देखियो। तिनीहरु साच्चै कस्ता थिएहोलान् ? त्यो समय कस्तो थियो भन्ने कुराको साक्षी कोही छैन तरपनि बैज्ञानिकहरुले अनुमान गर्छन्। त्यसैले तपाइ पेरिस आइपुग्नुभयो भने डाइनोसरहरु कस्ता थिए भन्ने कुरा हेर्न नछुटाउनुहोला। यो तपाइकोलागिपनि स्मरणिय मौका हुन सक्छ। किनभने हजारौं बर्ष अगाडीका डाइनोसरहरु अहिले पेरिस आएका छन्। फ्रेन्च सरकारले तिनीहरुलाई पृथ्वीमा फर्काउन निकै खर्च गरेको छ तर फरक के छ भने यिनीहरु जिवीत भने होइनन। तरपनि पेरिसमा तपाइले यि डाइनोसरहरु कतै जिबीत त होइनन भन्ने सोच्नुहुनेछ। यहा यिनीहरुका बास्तविक रुप मात्र नभएर यहा उनीहरुका अस्थिपन्जर र फुलहरु देख्न पाउनुहुनेछ।
बालुवामाथि डाइनोसरका फूलहरु। फुलबाट बच्चाहरु कोरलिदैछन्।
पेरिसमा तपाइले डाइनोसरहरु देख्न जनावरहरुको क्रमिक विकासलाई दुरुस्त पारि राखिएको ग्रं ग्यालरी द रिभोल्युस्यों या ग्रं प्यालेइ भन्ने संग्राहलयहरु जानुपर्छ। गर्मीमा यहाका मानिसहरु घुम्न फिर्न बाहिर जान्छन् र जाडोमा यहाका मानिसहलाई घुम्ने ठाउ धेरै हुन्न। त्यसैले यो जाडोको समयलाई ध्यानमा राखि पेरिसमा डाइनोसरहरुबारे प्रदर्शनी भैरहेको छ। हामीलाईपनि डाइनोसरको उत्सुकताले निकै तान्यो र गयौं। पत्रपत्रिका देखि बच्चाहरुलेसम्म डाइनोसर बारे चर्चा गरेको सुनेपछि सेन नदी किनारमा रहेको ग्रं प्यालेइ भन्ने गोलो र सुन्दर विशाल घरमा हामी गयौं । अहो हामी यसका विशाल कक्षहरुमा डाइनोसरहरुलाई सजाएको देखेर पर्नुसम्म अाश्चर्मा पर्यों। यहा यिनीहरुलाई यसरी सजाइएको छ कि मानौं त्यो सबै डाइनोसरको संसार हो।
डाइनोसर विविध किसिमका थिए। कुनैका खुट्टा लामा त कुनैका खुट्टा छोटा। कुनैकव शरिरमा तिखा कांडा जस्ता सिग त कसैका शरिरको छाला गैंडाको जस्तो बाक्लो। कुनै अग्ला त कुनै छोटा।
उनीहरुको संसारमा अरु जिवहरु थिएनन् या भएपनि उनीहरु छेउ थिएनन। त्यसैले चरा कराएकोपनि सुन्न पाइएन। खाली अग्ला अग्ला नरीवलका जस्ता रुखहरु र सम्म परेको पृथ्वीको धरातल । कुनै डाइनोसरको कक्षमा क्षितीजमा पहेलो घाम अस्ताइरहेछ। कुनैमा चकमन्न रात छ। बिसाल नदी किनार या समुद्री पानीको सतह । छाल उर्लेर आइरहे जस्तो देखिन्छन् । यसैविचमा डाइनोसरका फ्वां फ्वां या ख्यां ख्यां गरेका डरलाग्दा अावाजहरु सुन्न सकिन्छ। मानौं मध्यारातको जंगलमा बाघ घुरिरहेछ। प्राय जसो कक्षहरुमा प्रकाशपनि मधुरो मधुरो जस्तो लाग्छ । छाती एकतमासले डरले फूल्छ। तैपनि मानिसहरु झुम्मिरहेछन् र फोटो लिन तछाड मछाड छ। यो संसारले हामीलाई हामीले कहिल्यै अनुभव गर्न नपाएको पृथ्वीको बिछ्ट्टै नया लाग्ने पूरानो दूनियामा सजिलै पुर्याउंछ। त्यहा यिनीहरुको उपस्थितीले मानिसलाई एकपटक सोच्न बाध्य गराउंछ कि के साच्चै हामीहरुले यिनीहरुलाई गुमाएकै हौं त?
एक डाइनोसरले अर्को डाइनोसर खान्थ्यो र एक मृतक डाइनोसर खान चारैतिरबाट गिद्धले सिनो खाएजस्तै खानाकालागि हारालुछ हुन्थ्यो भन्ने कुरा देख्न पाइएपनि क्यामेराले चारै दिशाको तस्विर खिच्न सकेन।
मधुरो मधुरो प्रकाशमा उनीहरुका आवाजहरुले बच्चाहरु बाबु अामाको हात समाएका छन्। कोही बच्चाहरु भने नजिकै गएर छुनपाए हुन्थ्यो भन्ने आशामा देखिन्छन्। टाउको भुनभुनाएर हान्ने गोरुले जस्तो पोजिसिन मिलाउंदा भने ठुला मानिसकोपनि कहिले कहिले सातो जान्छ। अाडमै मरेका आफ्नो पारिवारीक सदस्यका मासु हारालुछ गरेर खान्छन्। बालुवाहरुमाथि फूल पार्छन्। कसैका शरिरमा तिखा कांडा जस्ता मासुका सिगहरु छन्। कसैका थुतुनाहरु छेपाराका जस्ता छन्। त कसैका भ्यागुताका जस्ता। डाइनोसरका कक्षका पछिल्ला भागहरुमा कर्मचारिहरु बच्चादेखि बृद्ध सबैलाई डाइनोसरहरुको बर्णन गर्न व्यस्त देखिन्छन्। डाइनोसरका फूल बच्चा र डाइनोसरका किसिमहरु हेर्दा डाइनोसरहरु मांसाहारी र शाकाहारी दूवै किसिमका थिए भन्ने कुरा जानिन्छ। यिनीहरुका विभिन्न जाती र प्रजाति थिए भन्नेपनि बुझिन्छ भने अहिलेका चराहरुका पूर्खा यिनै डाइनोसर थिए भन्नेकुरापनि सिकिन्छ।

डाइनोसरहरुले सिनोपनि खान्थे ? या परिवारका सदस्यहरुलाई मारेर खान्थे ? या कालगतिले मरेका डाइनोसरलाई डाइनोसरलेनै खान्थे ? प्रदर्शनी हेर्दा सबै कुरा हो भन्ने थाह हुन्छ।
प्रदर्शनी कक्षहरुमा सबै कुरा फ्रेन्च भषामा भएकोले सबै थोक बुझ्न सकिन्न। यो फ्रान्सेलीहरुको बिशेषता हो। कतैपनि उनीहरु अंग्रेजी भाषा प्रयोग गर्दैनन। अंग्रेजीमा निस्केका नया शव्दहरु फ्रान्सेलीकरण भैहाल्छन्। अंग्रेजीमा समाचार समेत हेर्न नपाइने यो मुलुकमा हुर्केका बालबालिकाहरु सैद्धान्तिक मात्र नभै व्यवहारिक रुपमै यस्ता प्रदर्शनी मार्फत कक्षामा भन्दा बढी ज्ञान हासिल गर्छन्। कितावको कुरा कन्ठ नभएपनि प्रदर्शनी हेरेपछि संझिसंझि यस्ता चिजहरुको बर्णन गर्न यिनीहरु पोख्त छन्। त्यसैले त नेपालमा सैद्धान्तिक कुराहरु कन्ठ पारेर पढ्ने बालबालिका भन्दा सम्पन्न मुलुकका बालबालिकाहरु चलाख देखिएका। तर हाम्रो देशमापनि यस्तै अवसर हुने हो भने हाम्रा बालबालिकाहरु कति चलाख हुनेथिए होलान्।