On the mirror of your face ( a symbolic poem )
Chanky Shrestha, Literate

कविता
तिम्रो अनुहारको ऐनामा
मान्छेहरू हेरिरहेछन् यो देशको अनुहार।
चर्किएको, भत्किएको ऐनामा
देखिन्छ हरेक वस्तु टुक्रा-टुक्रा
तिम्रो अनुहारको ऐनामा
देखिन्छन्- यी हिमाल, यी पहाड, लेकबेसी
अनि हाम्रा उज्यालाहरू टुक्रा-टुक्रा
हो, देखिन्छन् रगतले सिँचेको यो सिंगो भूगोल
र, स्वयं यो देश टुक्रा-टुक्रा।
चर्किँदै चर्किँदै चकनाचुर हुन आँटेको
तिम्रो अनुहारको ऐनामा
देखिन्छ तिम्रै
अनुहार पनि टुक्रा-टुक्रा।
तिम्रो अनुहारको ऐनामा
मान्छेहरू हेरिरहेछन् यो देशको अनुहार
हो, हेरिरहेछन् यो देशको वीभत्सता
किन विवश छन् मान्छेहरू
तिम्रै अनुहारको ऐनामा हेर्न यो देशको अनुहार
तस्विर : परेवा