RNA is involved in corruption using fake stamps and letterpad

काठमाडौ

जब जब नेपालमा हतियार भित्रिने क्रम बढ्दो छ तब तब हतियार प्रयोगधारी शाही नेपाली सेनाभित्र भ्रष्टाचार र आर्थिक अनियमितता हुने गरेको चर्चा चलिरहेको छ। यसै सर्न्दर्भमा भर्खरै एकजना छोटे शाहले शाही नेपाली सेना ११ नं बाहिनी(विमान अड्डा) भित्र विमान मर्मतका नाममा लाखौं रकम भ्रष्टाचार गरेको थाहा भएको छ।

रुकुमतिर पुर्ख्यौली घर भएका ज्योती शाह नामका ती ठेकेदारले जहाजको लुब्रिकेटिङ्ग नामक तेल खरीद गर्दा हजारौं लिटरमा घोटाला गरेको सैनिक स्रोतले बताएको छ।ज्योती शाहले विमान मर्मत गर्ने रसियन कम्पनी उलाउद्दीनको नाम र छाप किर्ते गरेको तथा आफैं उलाउद्दीन हुं भन्दै सेनाबाट विमानका पार्टपुर्जा मर्मतमा लिने गरेको समेत पोल खुलेको छ।

 त्यस्तै गरी उनले हेलिकोप्टरको एउटा गियर बक्स गायव पारेको तथा मर्मत गरेर ल्याएको रोटर ब्लेड खोल्दा भांचिएको अवस्थामा पाइएको सैनिक स्रोतबाटै थाहा भएको छ। त्यसै गरी एम.आई.१७ हेलिकोप्टरको इञ्जीन उचाल्ने क्रेन खरीद प्रकरणमा पनि शाहले व्यापक घोटाला गरेका छन्। एक हजार केजीसम्मको तौल उचाल्ने क्षमताको क्रेन किन्नका लागि भनेर ४० हजार डलर हात पारेका शाहले एक सय केजीको क्रेन ल्याएर शाही नेपाली सेनाको रकममा ठूलो घोटाला गरेको स्रोत बताउंछ।

यता हवाइ सेवाको काम गर्ने ११ नं बाहिनीका प्रमुख रहेका गुञ्जमान लामा २ महिनाका लागि राजदरबारको उडान हेर्ने भीभीआइपी फ्लाइटको प्रमुखमा करारमा नियुक्त भएका छन्। ११ न. बाहिनीमा छंदा विमान मर्मतका नाममा ज्योति शाहसंग मिलेर कमिसन खान पल्केका तथा उमेर सकिदापनि सेवाबाट नहटेका लामाले अर्को एउटा ९ करोडको कमाइमा आखा गाडेर त्यहा पुगेको बताइन्छ।

नेपालमा रहेका तीनवटामध्येका राजा र राजपरिवारले प्रयोग गर्ने सुपर पुमा हेलीकोप्टर कार्तिक १ गतेसम्ममा ओभरहल गर्नुपर्ने भएको छ। त्यसका लागि कुल ९ करोड लाग्ने बताइएको छ। र,  यसैमा कमिसन खानका लागि गुञ्जमान भीभीआईपी फ्लाइट शाखामा  दुइ महिने करारमै भए पनि पुगेरै छाडेको स्रोतको दाबी छ।