The secret of killing 62 maoist prisoners by RNA in sivapuri forest is disclosed now

Nepal Info Special



शिवपुरीमा शाही सेनाबाट नरसंहार भएको खुलासा

काठमाण्डौ

शाही नेपाली सेनाले माओवादीका नाममा थुनिएकाहरुलाई मार्ने गरेका समाचारहरु बेलाबेलामा बाहिर आइरहेकै बेला त्यहांभित्र भएको भिषण नरसंहारको समाचार ब्लगले पत्ता लगाएको छ।  यो नरसंहारको घटना २ वर्षअघि नै भएको भए पनि भर्खरैमात्र विस्तृतरुपमा यो घटना प्रकाशमा आएको हो । सुन्दापनि जिउ सिरीङ्ग हुने यो युद्धअपराधका भागीदार पाच कपुत सैनिकहरु को थिए त ?

 शाही नेपाली सेनाको राजधानीस्थित भैरबनाथ गणभित्र 'स्क्वास हल' नामको एउटा भव्य हल छ। त्यसैको छेउमा एउटा ग्यारेज पनि छ। २०६० साल पुस ६ गते राति त्यही हलबाट शाही सेनाले ६२ जना बन्दीहरुलाई एकैसाथ ट्रकमा उठाएर शिवपुरीको जंगलतर्फ लग्यो। जंगलमा लगेर सबैलाई गोलीले एकैसाथ कोतपर्वमा जसरी भुट्दा शिवपुरीको जंगल नै कोलाहलमय भएको थियो भने त्यो दर्दनाक दृश्य हेर्न र सुन्न नसकेपछि कतिपय सैनिक जवानहरु पनि बन्दुक चलाउन छाडेर भागाभाग गरेका थिए।

 सेनाको ब्यारेकभित्रैबाट प्राप्त गोप्य जानकारी अनुसार त्यसरी बन्दीहरुलाई भुट्ने कार्यमा भैरवनाथ गणका इण्डिया रोमियो कल साइन भएका जंगबहादुर राणाका सन्तान क्याप्टेन इन्दिवर राणा, मेजर विवेक विष्ट (कलसाइन इण्डिया ओस्कार), जमदार धनवीर खत्री, हवल्दार मेजर चन्द्रप्रसाद पौडेल र हवल्दार खड्ग महतको संलग्नता रहेको थियो। पाप धुरीबाट कराउछ भनेझैं दर्जनौं निहत्था नागरिकलाई मारेर फर्कने क्रममा सेनाहरु चढेको ट्रक दुर्घटनामा परेर पल्टिएको थियो र सातजना सैनिक घाइतेसमेत भएका थिए।

 भैरवनाथ गणद्वारा सामुहिकरुपमा हत्या गरिएका माओवादी बन्दीहरुमा ज्ञानेन्द्र त्रिपाठी, निमा लामा, दिपेन्द्र पन्त, सुरेन्द्र खड्गी, निश्चल नकर्मी, सिचेन्द्र महर्जन, भीम गिरी, बुद्धि लामा, भीम महर्जन, हिरा रोका, पुष्प बस्नेत, हिराबहादुर सारु, बाबुकाजी श्रेष्ठ, हेमनारायण श्रेष्ठ, अशोक सुनार अकेला, भवनाथ धमला, गोकुल निरौला, रामचन्द्र काफ्ले, शान्तिराम भट्टर्राई, अर्जुन पोखरेल, रुपक अधिकारी, देशभक्त चापागाई, डोलेश्वर लिम्बू, लीला आचार्य, तेजमान बिक, धीरेन्द्र बस्नेत, अर्जुन महर्जन, राजेन्द्र थापा, कमला वाइवा, अष्टराज बज्राचार्य, सुरेन्द्र खड्गी, अनुमान श्रेष्ठ, राजेन्द्र माली, शुदर्शन, जालान्धर गौतम, कुमार ढकाल, बालकृष्ण बिके श्रेष्ठ, विमल श्रेष्ठ (विश्वमान), अर्जुन न्यौपाने, अमृत पौडेल प्रकाश लामा, माधव अधिकारी र लीला पाण्डेलगायत रहेका छन्।

नक्कली माओवादीबनि चन्दा उठाएको आरोपमा पक्राउ परेका काठमाण्डौका चर्चित गुण्डाहरु चक्रे-मिलन समूहका ४ जना युवकहरुलाई भने सेनाहरुले ग्यारेजमै कुटेर मारेका थिए।

 माओवादीको आरोपमा गिरफ्तार पदम नकर्मीलाई खाना र पानीसमेत नदिएपछि उनी भात-भात भन्दै तड्पिई-तड्पिई मरेका थिए। माओवादी नेता साधुराम देवकोटा (जसको सैनिक हिरासतभित्रै रहस्यमय मृत्यु भएको थियो) की श्रीमती कौशिला पोख्रेललाई बलात्कारपछि नांगेझार पारेर घाममा सुकाई मारिएको थियो। कौशिलासहित रेणुका दुलाल र रेवकला तिवारी लगायतलाई सेनाले बलात्कारपछि विभत्स हत्या गरेको समाचार यसअघि नै चर्चित जनआस्था साप्ताहिकले र्सार्वजनिक गरिसकेको थियो भने अन्य बन्दीहरुका बारेमा पनि फाट्ट फुट्ट अपुष्ट समाचारहरु आइरहेका थिए।

यसैबीच दुइवर्षअघि पक्राउ गरी वेपत्ता पारिएका अखिल क्रान्तिकारीका केन्द्रीय नेता कृष्ण केसीलाई र्सवोच्च अदालतले रिहा गर्ने आदेश दिए पनि प्रहरीले अदालत परिसरबाटै बिहीबार सांझ पुनः पक्राउ गरेको छ। शाही सरकारद्वारा गरिएको  अदालतको यस्तो घोर अपमानप्रति र्सवत्र विरोध जनाउन थालिएको छ। त्यसै गरी चारवर्षदेखि अघिदेखि बेपत्ता पारिएका क्रान्तिकारीका नेता विपीन भण्डारी, नवीन र्राई र दिलबहादुर र्राई  लगायतको स्थिति भने अझैसम्म पनि अज्ञात रहेको छ।