Dheusi and Vhailo in the day !

Prakash Sapkota

विचार/ विवेचना
 
प्रकाश सापकोटा 

    हे! ! लौ भन भाइ हो
    हामी त्यसै आएनौं,
    बली राजाले पठाए - द्यौसी रे !

    द्यौसी भट्याउनेहरु जुर्मुराइसकेका थिए। भैलेनी गाउनेहरु तम्तयार भइसकेका थिए। घरहरु रङ्गाइसकिएका थिए। आँगन, फूलबारीहरु मखमली, गोदावरी र सयपत्रीहरुले ढकमक्क ढाकिइसकेका थिए। सप्तरङ्गीका साथसाथै झिलिमिली बत्तीका चहलपहलले तिहारको स्वागत गरिसकेका थिए। तर अचानक सरकारी निर्णय ति खुसीयालीहरुको घाँटी निमोठ्न आइपुग्यो राति त द्यौसी भैलो खेल्न पाइँदैन।
    हिन्दुहरुको दोस्रो ठूलो चाड भनिए पनि नेपालजस्तो धार्मिक सहिष्णुता रहेको देशमा दीपावली सबैका लागि उत्तिकै महत्त्वको चाड हो। यो बत्तीहरुको चाड, फूलैफूलको चाड, मिष्ठान्नहरुको चाड, द्यौसी-भैलोको चाड। तर तिहार विगतकेही वर्षेखि सोचेजस्तो उल्लासपूर्ण हुन सकेको छैन, नेपालीहरुका लागि।
 
    कार्तिक कृष्ण त्रयोदशीदेखि पाँच दिनसम्म मनाइने दीपावलीलाई यसैकारण यमपञ्चक पनि भनिन्छ - यमराज आफ्नी बहिनी यमुनाकहाँ गई बसेको र उनको सेवा एवं पूजा गरेको धार्मिक विश्वासमा तिहार मनाइन्छ। त्यसैले तिहार दाजुभाइ-दिदीबहिनीबीच स्नेह र शुभेच्छाको पनि पर्व हो। मुख्यतः दिदीबहिनी र दाजुभाइबीच आपसी सद्भाव साटासाट गरी मनाइने तिहार पर्वले यसपाली पनि गाउँ सहर छपक्कै छाइसकेको छ। तिहारको रमझममा भुल्नुपर्ने बेला तपाईं-हामीमध्ये कतिपयलाई विभिन्न समस्याले पछिल्तिर घिच्याइरहेकै छन्।

    सांस्कृतिक महत्त्व झल्काउने द्यौसी र भैलो खेल्न जानुपर्ने रातहरु कर‍फ्यूले झन् (औंसीका रातभन्दा) धेरै काला बनाएका छन्। संस्कृतिको जगेर्नामा संकट आउलाजस्तो भइसकेको छ त्यसैले संस्कृतिविद्हरु चिन्तित छन्। काठमाडौं उपत्यकाका तीनवटै सहरमा साँझ ८ बजेपछि द्यौसी भैलो खेल्न निषेध भनिएको छ। ए  बाबा ! द्यौसी भैलो नै खेल्न नपाउने रे। तिहार आएर मात्रै के गर्ने? मजा आउने भएन । तय्यसैले युवा युवती खिन्न छन्। यो त पोहोर परार भन्दा पनि नरमाइलो अनुभव हुने भयो भन्ने द्यौसे र भैलेनीहरुको तर्क छ। दिउँसो मात्र खेलिने द्यौसी भैलोले के खुसीयाली ल्याउन सक्छ ? संस्कृतिविदहरु पनि यसलाई मौलिक संस्कार माथिको चुनौती मान्न तयार छन्। यता काभ्रे जिल्ला लगायत देशका अन्य सहरहरुमा पनि यस्तै खिन्नता छाएको छ।  

    माओवादी एकतर्फी युद्धविराम भङ्ग हुन लागेको हल्लाले जनतालाई त्रसित बनाउन थालिसकेको छ। भाइटीकामा सामेल भएर माइतीबाट घर र्फकन चेलीहरु आतुर हुनुपर्ने अवस्था छ। ढुक्क हुने स्थिति नहुनुले चाडबाड सोचेजस्तो रमझमपूर्ण हुन नसक्ने छाँट छ।  सरकारले माओवादीको घोषित युद्धविराम अवधिभर पनि आफ्नो तर्फाट उचित प्रतिक्रिया नदिनु र जनताप्रति उत्तरदायी नदेखिनुले पनि दसैं तिहार यसपाली 'आयो र गयो' जस्तो मात्रै हुन पुगेको छ। दीपावली गर्न र तिहारलाई तिहारकै रुपमा मनाउन पनि धेरै ठाउँमा सरकारी कदमहरु नै अवरोधका रुपमा खडा भएको सम्बन्धितहरुको आरोप छ। दल र राज्यबीचको झडप, हानथाप तिहारको बेलामा पनि जारी छन्। ती समाचार सुनेरै निराश जनताहरु कुन मनले तिहार मनाउँदै होलान्?

    साँच्चै हो, तिहारमा रात पनि दिन भन्दा रमाइला हुन्थे। ती झिलिमिलि, त्यस्ता नाचगान, खुशीयाली अब कहिले फर्केर आउलान् ?  कुन वर्षको तिहार होला त्यस्तो जहां हत्या र हिंसा हुनेछैन। मानिसहरु खुशी मनले साच्चै दिपावली गर्लान?  यो हाम्रो दुर्दशा र नेपालको यो कहाली लाग्दो नियत। निश्चयनै यो चांडै हट्नुपर्छ। तर वर्तमान तिहारकालागि हामीले

    भैलेनी आइन आँगन
    गुमेको खुसी मागन, हे औंशी बार
    गाउँ कि नगाउँ भैलो भन्नुपर्ला जस्तो छ।