The main cause of the state conflict is Monarchy
Murari Aryal
विचार/ विवेचना
मुरारी अर्याल
नेपालको प्रसंगमा राजाको प्रथम उल्लेख महाभारतको सभापर्वमा पाइन्छ र त्यहा राजा शब्दको जसरी बहुबचनमा प्रयोग भएको छ, त्यसलाई हेर्दा नेपालमा राज्य संचालनको एउटा निश्चित तहमा निर्वाचित हुने पदाधिकारी जति सबैलाई राजाको उपाधि दिइन्थ्यो कि भन्ने अनुमान गर्न सकिन्छ। यसबारे किटानका साथ केही भन्न गाह्रो भए तापनि इतिहासमा नेपालको सुरुआत र लामो जीवनयात्रा राजा या राजतन्त्रविना नै तय भएको चाहि स्पष्ट छ।
नेपाल मण्डलका प्रथम निर्वाचित राजा जय वर्मा (वि.सं. २२० ताका) र राजतन्त्रलाई वंशानुगत तुल्याउने राजा वृषदेव (वि.सं. ४०० को हाराहारी) भएको तथ्य इतिहासकारहरू बताउछन्। राजतन्त्रको उदयबारे स्पष्ट पार्ने कुनै आधार नपाइए तापनि यहा राजतन्त्र गणतन्त्रात्मक शासनप्रणालीको लासमाथि स्थापित भएको चाहि स्पष्ट छ। राजतन्त्रको स्थापनापछि नेपाल क्रमशः साघुरिंदै गएको, अशान्ति व्याप्त भएको र नेपालको प्रतिष्ठा शतचतूर्ण भएर गएको स्पष्ट देखिन्छ। तात्कालिन हिन्दू ग्रन्थ एवं भारतीय सम्राटहरूको शिलालेखहरूमा उल्लेख भएको आसाम र काश्मिरबीचको विशाल नेपाल राजतन्त्रको स्थापनापछि क्रमशः टुक्राटुक्रा हुदै पुरानो नेपालको भूभागमा १८ औं शताब्दीसम्म आइपुग्दा लगभग १०० राज्यहरू स्थापना भइसकेको यथार्थले नेपालको राजतन्त्र नेपालको अस्तित्व कायम राख्न अक्षम मात्र होइन, नेपालको विनासको निम्ति निर्णायक नै रहेको तथ्य इतिहाससिद्ध रहेको छ।
नेपाल देश र नेपाली जनताले आफ्नो राजनैतिक चेतनाको कारण निर्माण गरेको र यहाका उद्यमशील पराक्रमी जनताले चारै दिशामा आफ्नो देशको सुकिर्ति फैलाएको अवस्थामा धुरा पस्न आएको राजतन्त्रले नेपाललाई व्यवहारिक रूपमै शतचूर्ण पारेको, लामो समयसम्म नेपालको इतिहासलाई नै अन्धकार युगमा धकेलेको र आफ्नो स्वार्थ प्रतिकूल हुनेदेखि नेपाल र बाह्य विश्वबीचको सम्बन्ध नै हुन नदिई कुनै बेलाको प्रसिद्ध एवं जीवन्त नेपाललाई बाह्य विश्वको बीच एकादेशमा नेपाल भन्ने एउटा देश थियो भन्ने जस्तो किंवदन्तीकालीन अवस्थामा पुर्याएको स्पष्ट छ। गणतान्त्रिक चरणको नेपाल सम्मुन्नत हुनुको पछाडि देशको राज्यव्यवस्था लोकमतको आधारमा चल्ने गरेकाले गर्दा हुनसक्छ भने वंशानुगत राजतन्त्र स्थापनाको लगत्तै दाजुलाई मारेर भाइ राजा हुने, स्थानीय प्रशासकहरूले केन्द्रलाई नमान्ने र युद्ध हुने आदि जस्ताको कारण सामाजिक-आर्थिक असन्तुलनको परिस्थिति विकसित भई नेपालको पतन सुरु भएको संकेत इतिहासबाट मिल्दछ।
गणतन्त्रबाट गणतन्त्रात्मक राजतन्त्रमा नेपालको संक्रमण वैशाली, भारतबाट विस्थापित भएर शरणार्थीको रूपमा नेपाल पसेका लिच्छवीहरूले हिंसाको माध्यमबाट गराएको भए तापनि यसले नेपाललाई विभाजनकै संघारमा भने पुर्याएको थिएन। एउटै वंश या कुलको राजा निर्वाचित हुनुपर्ने बाध्यता नभएकोले निर्वाचित शासकलाई राजाको उपाधि दिनु या नदिनु कुनै विवादको सवाल भएको थिएन। जय वर्मा वि.सं. २२० को हाराहारीमा राजा भएपछि अरू को को 'राजा’ भए, वंशावली तथा कुनै शिलालेखले केही भन्दैन। तर वि.सं. ४०० को हाराहारीमा 'राजा’ निर्वाचित भएका वृषदेवले त्यतिबेलाको नेपालमा शक्तिशाली रहेका दुइ धर्मावलम्बी बौद्ध र भागवतबीच अन्तर्विरोध चर्काइ आफू बौद्ध बहुमतको पक्षमा लागि वंशानुगत राजतन्त्रको स्थापना गरेपछि सामाजिक द्वन्द्व मात्र पराकाष्ठामा पुगेको होइन, नेपालको अक्षुण्णता समेत समाप्त हुदै गएको पाइन्छ। वृषदेवको अवसानपछि राजा भएका उनका छोरानातीको समयमा नेपाल साघुरिंदा साघुरिंदा उनका पनाती मानदेवको समयमा स्थानीय शासक (सामन्त)हरूसग युद्ध गरी जेनतेन सुनकोशीदेखि पश्चिम गण्डकीको केही पर मल्लपुरीसम्मको भूभाग नेपालको रूपमा कायम रहेको तथ्यले नेपालको अक्षुण्णता र क्षेत्रीय अखण्डताको सवालमा राजतन्त्रको योगदान ऋणात्मक नै भएको सावित हुन्छ। जनताले बनाएको नेपालबाट नेपाली जनता अलगिनु पर्ने परिस्थिति सिर्जना गराउने राजतन्त्रले नेपालको अस्तित्वको रक्षा गर्न सक्छ भन्ने चिन्तन अज्ञानी बौद्धिकहरूले मात्र अगाडि र्सार्दछन्।
गणतन्त्रबाट गणराजतन्त्र हुदै राजतन्त्रात्मक चरणमा प्रवेश गरेको एक शताब्दीभन्दा पनि कम समयमा नेपालको विखण्डन सुरु भएको यथार्थ राजतन्त्रका विरोधीहरूले कथेको कुरो होइन। देशको अक्षुण्णता कायम राख्ने काम जनताको भएको हुदा जनताको प्रत्यक्ष सहभागितामाथि आधारित शासनप्रणालीको अवशानले देश कहा पुग्दोरहेछ भन्ने तथ्यको उदाहरण पन्ध्र सय वर्षगाडि नै नेपालमा देखा परिसकेको छ र देशप्रति इमानदारीपूर्वक, विनास्वार्थ आस्था राख्ने सबै जनाले वर्तमान नेपालको सर्न्दर्भलाई इतिहासको सो तथ्यसग जोडेर हेर्न सके राम्रो हुन्थ्यो।
राजतन्त्रको युगमा प्रवेश गरेपछिको नेपाल पतनको एकोहोरो गोरेटोमा ओह्रालो लागेको तथ्यको साक्षी नेपालकै इतिहास छ। मानदेवको समयको नेपाल सुनकोशीदेखि पश्चिम गण्डकी क्षेत्रसम्म फैलिएको अनुमान गर्न सकिए तापनि पछिका लिच्छवी राजाहरूले नेपाललाई पूर्वमा पलाञ्चोक र पश्चिममा धादिङको जीवनपुरसम्ममा साघुरो पारिसकेको संकेत मिलेको छ। नेपाली जनताले बहुत मेहनतका साथ आर्जिएको, विकसित तुल्याएको समृद्ध नेपालको एकतालाई छिन्नभिन्न पार्दै राजतन्त्रले पुरानो नेपालको भूभागमा सयभन्दा बढी र वर्तमान नेपालको सीमाक्षेत्रभित्र मात्र पनि लगभग ८७ वटा राज्य र राजाहरू बनाउने काम गर्ने राज्यप्रणालीलाई नेपाल र नेपालीको एकताको संरक्षकको रूपमा हेर्नु वस्तुगत यथार्थ र ऐतिहासिक तथ्यको विपरीत कुरा हो। देशको संरक्षण राजाले होइन, जनताले मात्र गर्न सक्छन् भन्ने यथार्थलाई बुझ्न नरुचाउनु बेइमानी हो।
देश जनताको भएकोले यसको संरक्षण र सर्म्बर्द्धन जनताले मात्र गर्न सक्छन्। राजा व्यक्ति हो र राजतन्त्र देशका विभिन्न संस्थामध्येको एउटा संस्था हो। राजा नभए पनि देश बन्छ र नेपालमा पनि बनेको थियो भन्ने कुराको प्रमाण हाम्रै इतिहास छ जबकि जनताविनाको देशको कल्पना जतिसुकै कट्टर राजतन्त्रवादीले पनि गर्दैन। वि.सं. १४०५ ताका नेपालमा बंगालका सुलतान समसुद्दिन इलिपासले आक्रमण गरेर लुटपाट मच्चाउदा राजा राजदेव भागेर जंगल पसेका थिए। जबकि निहत्था जनताले मुसलमान सेनाको प्रतिकार गरेर सात दिनभित्रै आक्रामक सेनालाई भाग्न बाध्य तुल्याएका थिए। कीर्तिपुरमाथि आक्रामक गोरखाली सेनाको पटक-पटकको आक्रमणलाई विफल तुल्याउने कीर्तिपुरकै जनता थिए, तत्कालीन पाटन राज्यका राजा तेजप्रकाश मल्ल र उनका सैनिकहरू थिएनन्। सुगौली सन्धि हुनुअगाडि राजतन्त्र र भीमसेन थापा प्रवृत्ति महत्त्वपूर्ण भारदारहरू हनुमान ढोकाको सुरक्षित आवास छोडेर कतै गएका थिएनन्, जबकि राजतन्त्रको मूर्खतापूर्ण मुढाग्रहबाट उत्पन्न युद्ध संकटमा वर्तमान स्वरूपको नेपाल जोगाउने काम युद्ध मोर्चामा निहत्था होमिएका बालबच्चासहितका नेपालीहरूले गरेका थिए। राजतन्त्रले नेपाललाई युद्धबाट अर्को युद्धमा होमिरहेको थियो भने जनता राष्ट्र जोगाउन जीवनको आहुति दिन बाध्य भएको थियो।
राजतन्त्रले देश र जनतालाई आफ्नो व्यक्तिगत सम्पत्तिको रूपमा बाहेक अरू अर्थमा बुझेको पाइन्न। उपत्यकामा यक्ष मल्लको राज्य विभाजन, पश्चिममा समाल वंशको छोरीलाई दाइजोमा राज्य विभाजन गरेर दिने प्रचलन र पाल्पा मकवानपुरका सेन राजाहरूले राज्य नै भाइअंश लगाउने प्रचलनको अध्ययन गर्दार् राजतन्त्रको निम्ति राष्ट्र, राष्ट्रियता, जनता जस्ता सम्पूर्ण पक्षहरूको कुनै अर्थ नरहने गरेको स्पष्ट छ। जन्मजात श्रेष्ठताको सिद्धान्तअर्न्तर्गत प्रचलनमा रहेको वंशानुगत राजतन्त्रात्मक व्यवस्थामा पनि राजाहरूले मनपरी गरी जेष्ठभागी सिद्धान्तको नियम खारेज गरी आफ्नो लहडबमोजिम उत्तराधिकारी चयन गर्ने, त्यस्तै परे छोरीको पोइको समेत वंश परिवर्तन गराइ बलात् राजा बनाउनेलगायतका कार्य गरेको नमूना पनि प्रशस्त पाइन्छ। वंशानुगत राजतन्त्रको इतिहासमा ज्ञात भएको पहिलो नियमको मिचाई राजा शिवदेव प्रथमले आफ्नो भानिज अंशु वर्मनलाई राजा बनाएर गरेको उदाहरण छ भने यतिबेलासम्मकोमा अन्तिम उदाहरण राजा रणबहादुर शाहले परम्परागत मान्यतानुरूप गद्दिका उत्तराधिकारी जेठा छोरा रणउध्योत शाह छदाछदै कतैबाट पनि नमिल्ने आफ्ना कान्छा छोरा गिर्वाण युद्धविक्रम शाहलाई जन्मपूर्व नै राजा बनाउने घोषणा गरेको र पछि १७ महिनाको उमेरमै राजा बनाइदिएका थिए। वर्तमान राजाहरू गीर्वाणयुद्धकै सन्तान हुन्।
नेपाललाई विभिन्न संकटको समयमा नेपाली जनताले यथाशक्य जोगाइराखेको भए तापनि राजाहरूले आफ्नो व्यक्तिगत स्वार्थको निम्ति देशको प्रादेशिक अखण्डता र सम्प्रभुसत्ता नै समेत बन्धक राख्ने कोसिस गरेको उदाहरण पनि नेपालमा पाइन्छ। आफ्नो बाबु उदयदेवले आन्तरिक शक्तिसंर्घषमा परास्त भएर गुमाएको गद्दिमा नियन्त्रण कायम गर्न नरेन्द्रदेवले आफ्नी बहिनीको विवाह तिब्बतका राजा स्रगचंग गम्पोसग गरीदिई तिब्बतलाई प्रतिवर्ष भोटविस्टि तिर्ने शर्तमा भोटे सेनाको बलमा पुनः नेपालको राजा बनेका थिए भने छोरा गिर्वाणयुद्धविक्रमलाई गद्दिमा राखेपछि सुरु भएको सत्तासंर्घषमा परास्त भएर काशि भागेका रणबहादुर शाहले आफ्नो घर गराइदिने (अर्थात् नेपालको गद्दिमा फेरि बस्न आफूलाई सहायता गर्ने) हो भने नेपाललाई बेलायती सरकार (इष्ट इण्डिया कम्पनी सरकार)को करद राज्य बनाउनेछु भन्ने प्रस्ताव समेत राखेका थिए।
इतिहासका यी उदाहरणहरू पढ्दै नपढी या पढेर पनि बुझ पचाई राजा रहेन भने नेपालको राष्ट्रियता समाप्त हुन्छ भन्ने हौवा फिंजाउनु सरासर बेइमानी हो। देश जनताले जोगाउछन्, राजाले होइन। नारायणहिटीको गद्दिमा राजा नहुदैमा नेपालको अस्तित्व नेपाली जनताले जोगाउन सक्दैनन् भन्ने चिन्तन सरासर गलत छ।
लेखक मार्क्सवाद,लेनिनवाद र माओवादसंग सम्वन्धित बुद्धिजिवी हुनुहुन्छ। उहांले नेपालमा सामन्तवाद नामको चर्चित पुस्तक लेख्नु भएको छ र नेपाली राजसंस्थाको बारे गहिरो अध्ययन गर्नु भएको छ। उहां झिल्को मासिकका सम्पादकपनि हुनुहुन्थ्यो।