The main cause of the state conflict is Monarchy

 

Murari Aryal

 

विचार/ विवेचना

मुरारी अर्याल

नेपालमा संविधानसभाको माग र गणतन्त्रस्थापनाको बहस सुरु भएपछि राजतन्त्रवादीहरू मात्र होइन, २०१७ सालपछि राजनीतिमा दीक्षा लिएका पूर्व वामपन्थीहरूको छिरोलिएका एकाध व्यक्तिहरू पनि संविधानसभामा जाने हो भने देश नै रहन्न, नेपालको स्वतन्त्र अस्तित्व नै समाप्त हुन्छ भन्ने चिन्ताका साथ मुखर भएका पाइन्छन्। नेपाल नरहे नेपालीको नामेट हुने र नेपाल कायम रहनुको एउटा मात्र पूर्वर्सत राजतन्त्रको निरन्तरता हो भन्ने दृष्टिकोण यस्ता राजनैतिक पक्ष तथा व्यक्तिहरूबाट अभिव्यक्त भएको छ। नेपालमा राजा नभएको भए नेपाल उहिल्यै समाप्त हुनेथियो र अब यतिबेला पनि राजतन्त्रको अवसान हुने हो भने नेपालको अस्तित्व बाकी रहन सक्दैन भन्ने मान्यता यो दृष्टिकोणका अनुयायीहरूको छ। देश जोगाउन जस्तोसुकै नृशंस भए पनि राजा त थाम्नैपर्छ भन्ने मान्यता उनीहरूमा छ।

    राजतन्त्रका अनुयायीहरूको निम्ति राजा सर्वोपरी आस्थाका केन्द्र, आफ्नो र आफूहरू जस्ताको निम्ति शक्तिपुञ्ज हुने गर्दछ। राजा कहिल्यै मर्दैन र राजाले कहिल्यै गल्ती गर्दैन भन्ने मान्यतालाई उनीहरूले आत्मसात गरेका हुन्छन्। व्यक्ति राजामा कसै-कसैको असहमति पनि हुनसक्छ तर संस्थाको रूपमा राजाको सर्वोपरीताको विपक्षमा जानु उनीहरूको कल्पनाभन्दा बाहिरको कुरो हो। उनीहरूको निम्ति राजा दैविशक्तिको प्रत्यक्ष उपज साक्षात भगवान् विष्णुको अवतार हो, राजा बोल्ने र देख्ने परमेश्वर हो, राजा न्यायको प्रतीक हो र राजाले देशको संरक्षण गर्ने अलौकिक शक्ति पाएको हुन्छ।

    पञ्चायतकालीन ज्यादतीमा हुर्किएर सामाजिक विषमताविरुद्ध मुखर भएका एक समयका पूर्व वामपन्थीहरूको निम्ति पञ्चायतको समयमा राजतन्त्रले आफ्नो स्वार्थअनुरूप अगाडि सारेको नक्कली राष्ट्रवादको पाखण्ड र्सवाधिक महत्त्वको पक्षको रूपमा चिन्तनमा हावी हुन पुगेको छ। राजा नभए देश रहन्न, नेपाल १९४७ को बल्लभभाइ पटेलको सिद्धान्तअनुरूप भारतको एउटा प्रान्त बन्न पुग्छ, संविधानसभामा लतारियो भने सिक्कीमलाई लेण्डुपदोर्जेले भारतलाई सुम्पिएजसरी यहाका नेताहरूले भारतलाई बुझाउछन् भन्ने छ। भूतपूर्व वाम व्यक्तित्वहरूमा समेत पञ्चायतकालीन मण्डले राष्ट्रवादको यो भावना यतिसम्म प्रबल रहेको छ कि उनीहरू जनताले दुःख पाए पनि, राजा र राजतन्त्रका हिमायतीहरूले दिउसै रात पारेर आम जनताको कत्लेआम गरे पनि, राष्ट्रिय सम्पदाको ब्रम्हलुट मच्चाए पनि अरूखाले अन्यायको विरोध गर्न हुन्छ तर राजतन्त्रको विरोध भने गर्न हुदैन भन्छन्। राजामा दैवीशक्तिको तर्क उनीहरू मान्दैनन् तर राजाबेगर नेपाल राष्ट्रको अस्तित्व कायम नरहने भएकोले राजाको विरोध गर्नु भनेको भारतीय स्वार्थको हातको खेलौना बन्नु नै हो। भारतीय स्वार्थर्को अनुकूल जानु भनेको राष्ट्रघाती बन्नु हो, नेपाली लेन्डुपदोर्जे बन्नु हो। त्यसैले प्रत्येक नेपालीले राजतन्त्रको पक्षमा नै खडा हुनुपर्छ भन्ने मान्यतापनि उनीहरूको छ।
 
    राजाको प्रत्यक्ष मतियार अर्थात् राजतन्त्रवादीहरूको तुलनामा राजतन्त्रका परोक्ष मतियारको तर्क जनसमुदायको निम्ति कर्णप्रिय सावित हुन्छ। विष्णुको अवतारसम्बन्धी अन्धविश्वासको सिक्का कमजोर सावित भइसकेको वर्तमान समयमा सानो राष्ट्रको पीडा अर्थात् राष्ट्रवादको भावनालाई भजाउन राजाको निम्ति यस्ता भूतपूर्व वाम बौद्धिकहरूको छिरोलिएको तत्त्व असाध्यै प्रभावकारी रहेको पाइन्छ। विना पैसाका यस्ता सेवकहरूले राजालाई हुनसम्मको गुन लगाइरहेका छन्।

    राजतन्त्रका हिमायती यी दुवै तत्त्वहरूको चिन्तनको मूल सार के हो भने नेपाल राष्ट्रको निर्माण, विकास र सर्म्बर्द्धन राजतन्त्रले गरेको हो। नेपालको राष्ट्रिय अस्मिता, प्रादेशिक अखण्डता र र्सार्वभौमसत्ता राजतन्त्रमा अन्तरनिहित मात्र होइन, त्यसको अजस्र स्रोत पनि राजसंस्था नै हो। वर्तमान नेपाल पृथ्वीनारायण शाह अर्थात् यतिबेलाका राजाका पुर्खाले आर्जेका हुन् र यहाका जनतामाथि रजाइ चलाउने नैर्सर्गिक अधिकार शाहवंशलाई छ। पृथ्वीनारायण शाहले नेपालको वर्तमान स्वरूप आर्जन नगरेको भए यतिबेला नेपाल भन्ने मुलुक नै रहन्नथ्यो र हामी सम्भवतः भारतका बासिन्दा हुन्थ्यौं। राजालाई समयकालखण्डको संकुचित दायराबाट या अल्पकालीन राजतन्त्रात्मक ज्यादती देखेर आवेशमा आएर विरोध गर्नुहुन्न। राजाको विरोध देशकै अपमान हो, राष्ट्रघात हो। राजतन्त्रविनाको नेपालको कल्पना गर्न नसकिने भएकोले राजालाई उदार बन्न याचना गर्ने, समय सगसगै राजतन्त्र चल्नुपर्छ भनेर सल्लाह दिने, भ्रष्ट, तानाशाही चरित्रका बाहकहरूलाई साथ नदिन राजासमक्ष बिन्ति गर्ने जस्ता काम गर्नुपर्छ, राजाको विरोध गर्नु हुदैन भन्ने धारणा समेत उनीहरुमा पाइन्छ।

    राजालाई सर्वोपरी मानेर 'राष्ट्रियता र जनजीविकाको विकास तथा सर्म्बर्द्धन गर्ने’ यस किसिमको चिन्तन अध्यात्मवादबाट प्रेरित छ। राजाको दैवी शक्तिसम्बन्धी सिद्धान्तको पक्ष लेउ कि नलेउ राजाको विरोध गर्नु हुन्न भन्ने चिन्तन अधिभूतवादी भाग्यवादी चिन्तन हो। राजा नभए देश रहन्न भन्ने दृष्टिकोण मूर्खताको सिमारहित जडसुत्र हो र जनतालाई राजा मात्र आफ्नो उद्धारक हुन सक्छ भन्ने चिन्तनमा डोर्‍याउने यस्तो दृष्टिकोण बेइमानीको पराकाष्ठा हो। सानो राष्ट्रको पीडा अर्थात् राष्ट्रवादलाई हतियार बनाएर एक्काइसौं शताब्दीको नेपाललाई चौधौं शताब्दीको अन्धकारमा धकेल्न खोज्ने चिन्तनका यी बाहकहरू नेपाल र नेपाली जनताका नांगेझार पारिनुपर्ने घिनलाग्दा शत्रुहरू हुन्। राजतन्त्रसग प्रत्यक्ष स्वार्थ गासिएका राजतन्त्रवादीहरू जनसमुदायबीच नांगिइसकेकाले उनीहरूबारे सामान्य चर्चा मात्र नै पर्याप्त हुन्छ। राजतन्त्रवादी भन्न नरुचाउने भूतपूर्व वामपन्थीहरूको राजावादी चिन्तनले समाजमा नराम्रो असर फैलाइरहेको हुदा यस्तो प्रवृत्तिविरुद्ध निर्मम प्रहार जरुरी भएको छ। वामपन्थी शब्दजाल, राष्ट्रियतासम्बन्धी संवेदनशील कडीको दुरुपयोग र आफ्नो पूर्व आस्थाको द्वन्द्ववादी विश्लेषणको भ्रष्ट उपयोगको कारण यस्तो चिन्तनका बाहकहरूले समाजको चिन्तनको विकासमा हुनुसम्म अवरोध खडा गरेका छन्।

    शब्दका कुशल खेलाडी समेत रहेका यस्ता पूर्व वामपन्थीहरूले कहिले अहित फर्मुलाको नाममा, कहिले कम्बोडियाको पूर्व राजा सिंहानुकको सादृश्यतामा र कहिले चीनमा गृहयुद्धको समयमा घटेको सियान घटनाको हवाला दिंदै राजतन्त्रको पक्षमा अन्तराष्ट्रिय कम्युनिष्ट मुहावराको समेत उपयोग गरी जनसमुदायबीच भ्रमको पहाड सिर्जना गरेका छन्। अन्तराष्ट्रिय उदाहरणहरूको यस किसिमको भ्रष्टीकरणले र्सवसाधारण नेपालीहरूबीच मात्र होइन, क्रियाशील वामपन्थी आन्दोलनभित्रै पनि अन्यौल खडा गर्ने गरेको छ। पञ्चायती शासनको तीस वर्षो एकोहोरो प्रलापले राजालाई राष्ट्रियताको पर्याय सावित गर्ने जुन कसरत गरेको थियो, त्यसको गर्भमा रहेको राजाको राष्ट्रघाती निजी स्वार्थअनुरूपको चिन्तन र व्यवहारलाई खोतलेर हेर्ने चेष्टा समेत नगरेको सतही वामपन्थले अन्तराष्ट्रिय नमूनाहरू प्रस्तुत गरी नवोदित पुस्ताको मानसिकता नै यस्तो राजापरस्त तुल्यायो कि त्यसलाई आजसम्म चिर्न सकिएको देखिन्न। राजाको विरोध गर्‍यो कि राष्ट्रघाती या अराष्ट्रिय तत्त्व भन्ने पञ्चायतकालीन संस्कारको बौद्धिक ढालको रूपमा रहेको यस्तो सतही वामपन्थले द्वन्द्ववादको नाम लिंदै द्वन्द्ववादविरोधी सामन्ती स्वार्थको ताबेदारी गरिरहेको थियो। यतिबेलाको राजा नभए देश रहन्न भन्ने चिन्तनका बाहक भूतपूर्व वामपन्थीहरू यही पञ्चायतकालीन मानसिकताको निरन्तरता मात्र सावित हुन पुगेका छन्।

    नेपालमा राजतन्त्र स्थापना हुनुअगाडि नै नेपालको राजनैतिक स्वरूपको निक्र्योल भइसकेको तथ्यको इतिहास साक्षी बनेको छ। नेपालमा वर्तमान भारत तर्फबाट आयातित आर्यनश्लका लिच्छवीहरूले यहाको किरातहरूको गणराज्यलाई ध्वंस पारी आफ्नो शासन सुरु गर्दा पनि राजतन्त्र स्थापित गरेका थिएनन्। वैशालीमा रहेको आफ्नो पूर्व गणराज्यकै रूपको गणतान्त्रिक प्रणाली सुरु गरेका लिच्छवीहरूले राजाको उपाधी एउटा निश्चित समयको निम्ति निर्वाचित आफ्नो पदाधिकारीलाई प्रदान गर्ने गरेको तथ्य पनि इतिहासमा साक्षी छ। लिच्छवीहरूको गणराज्यका निर्वाचित राजा वृषदेवले वंशानुगत राजतन्त्रको परिपाटी सुरु गराए तापनि सिंगो लिच्छवीकालभरी फरक-फरक कुल, वंश र हागाविगाका राजाहरू थापिएको तथ्यले राजतन्त्रको वर्तमान स्वरूप नेपालको ऐतिहासिक परम्परा थिएन भन्ने सावित गर्दछ।
    इतिहास के कुराको पनि साक्षी छ भने राजतन्त्रले नेपाललाई एकताबाट विखण्डनमा, जनशक्तिको साटो शक्ति केन्द्रिकरणमा र मानवीय मूल्यमान्यताको साटो नृशंसतामा डोर्‍याएको छ।

 पाटनको च्यासलको इनारमा गणतन्त्रका पक्षधर आठ सय टाउकाहरू काटेर पुरी इनार ढाकिएको अनुश्रुति हामीबीच ज्यूदै छ। राजा फेरिएपिच्छे पुरानो राजाका बफादारहरूको निहुमा अनगिन्ती मानिसहरू काटिएको तथ्य पनि इतिहासमा अंकित छ। राजाले छोरालाई अंश र छोरीलाई बिर्ता पनि राज्यकै भागवण्डामार्फत गर्ने तथ्य पनि इतिहास नै साक्षी बसेको पाइन्छ। इसापूर्व छैटौ शताब्दीमै छत्तीस सय माइलको चौघेरो भएको मानिने चतुस्सत नेपाललाई ९०-१०० टुक्रामा विभाजित हुन बाध्य तुल्याउने प्रमुख पक्ष राजतन्त्र नै भएको तथ्यको साक्षी पनि नेपालकै इतिहास छ। बाह्य आक्रमणको समयमा सहर छाडेर आफू जंगल पस्ने, जनतामाथि आक्रामक शक्तिको प्रहार गराउने र उनीहरू फर्केपछि फेरि राज गर्न आउने राजतन्त्रको परम्परा पनि नेपालकै इतिहासमा भेटिन्छ।

    नेपाल भन्ने देश नेपाली जनताले बनाएका हुन्, कुनै राजाले बनाएका होइनन्। देश बनाउने राजनैतिक चेतना भएका नेपालीहरूले आफ्नो शासनपद्धतिमा राजाको प्रादुर्भाव हुनुभन्दा कम्तिमा पनि एक हजार वर्षजतिअगाडिदेखि नै टाढा-टाढाका स्थानहरूसम्म नेपालको कीर्ति फैलाइसकेका थिए। इसापूर्व छैटौ शताब्दीको अर्थव परिशिष्टले नेपाललाई राज्य मात्र होइन, विषय नै मानिसकेको छ। गौतम बुद्धको परिनिर्वाण हुनुअगाडि उनका प्रधान शिष्य नेपालको ख्यातिकै कारण यहाको भ्रमणमा आएका छन्। सिन्धुगंगा ब्रम्हपुत्रको मैदानमा शक्तिशाली साम्राज्य निर्माण गर्ने अभियानमा लागेका इसापूर्व तेस्रो शताब्दीका अथर्व कौटिल्यले आफ्नो ग्रन्थ अर्थशास्त्रमा नेपालको प्रतिष्ठाको यहाको बहुउपयोगी उत्पादनको उल्लेख गरेर संकेत गरेका छन्। चैन मुनी भद्रवाहले मगधमा अकाल परेको समयमा नेपालको आश्रयमा बस्न आएर आवश्यक सुत्र नामको महत्त्वपूर्ण जैन ग्रन्थको निर्माण गर्नपनि भ्याएका छन् । यतिबेलाको समयसम्म नेपालमा राजतन्त्र स्थापना भएको छैन, कुनै पनि ग्रन्थहरूमा नेपालमा अमुक राजाको राज्य थियो भनेर किटिएको छैन। वर्तमान भारतमा विशाल साम्राज्यहरूको निर्माण भइसकेको समयसम्म पनि नेपालका जनताले आफ्नो राज्यसंरचनामा राजतन्त्रको आवश्यकता देखेका छैनन्। नेपालमा नेपाली जनताको आफ्नै गणतान्त्रिक राज्यपद्धति चलेको देखिन्छ। देश सर्वोपरी ठानिएको छ र यहाको राज्यव्यवस्थाको शान्तिसुशासनको प्रमाणस्वरूप बुद्धको समयमा भारत र तिब्बतबीचको व्यापारनाकाको रूपमा स्थापित हुनु, आर्थिक समुन्नतिको कारण आचार्य मदुवाहु जस्ता प्रतिष्ठित व्यक्ति नेपालको आश्रय (स्मरण रहोस्, कुनै राजा या अन्य कुनै व्यक्तिको आश्रयमा होइन)मा बस्न आउनु र नेपालका उत्पादनहरू मगध साम्राज्यमा समेत प्रतिष्ठित बनि सक्नुलाई अगाडि सार्न सकिन्छ। राजाविनाको त्यतिबेलाको नेपाल एकदमै विस्तृत रहेको र नेपालको राज्यव्यवस्था नितान्त प्रभावकारी भएको पाइन्छ। क्रमश:

लेखक  मार्क्सवाद,लेनिनवाद र माओवादसंग सम्वन्धित बुद्धिजिवी हुनुहुन्छ। उहांले नेपालमा सामन्तवाद नामको चर्चित पुस्तक लेख्नु भएको छ र नेपाली राजसंस्थाको बारे गहिरो अध्ययन गर्नु भएको छ। उहां झिल्को मासिकका सम्पादकपनि हुनुहुन्थ्यो।