Politices of civil society 

चन्द्रदेव भट्ट

विचार/Views

विगत केही वर्षदेखि राजनीतिक मामिलामा नागरिक समाजको प्रयोग ब्यापक रुपमा भएको पाइन्छ । त्यसो त नागरिक समाज आफैमा नयां अवधारणा होइन । यसको प्रयोग पाश्चात्य राजनीतिक विज्ञानमा सोह्रौ शताब्दीदेखि नै भएको पाइन्छ । त्यस समयमा नागरिक समाजलाइ राज्यसंग तुलना गरिन्थ्यो । पछि सत्र्रौ शताब्दीमा आएर मात्र यसलाइ राज्यबाट पृथक रुपमा हेर्ने गरियो । नागरिक समाजको संगठित अध्ययनको प्रादुर्भाव भने पश्चिमा राजनीतिक चिन्तकहरुले गरेका हुन । प्राचिन कालमा समाज शास्त्रीहरुले नागरिक समाजलाइ समान आकाङक्षा भएका, न्यायिक समानताका पक्षधर मानिसहरु एकीकृत भएको संस्था वा संगठनका रुपमा ब्याख्या गरेको पाइन्छ । मध्यकालमा नागरिक समाजलाइ सम्पति स्वतन्त्रता, समानता र संगठन जस्ता बैयक्तिक आधार सित जोडेर हेर्ने गरेको देखिन्छ । आधुनिक युगमा नागरिक समाज न्याय, स्वतन्त्रता, समानता र एकतामा आधारित भइ सामुहिक बिचारधारा तर्फ स्थान्तरित हुदै आएको देखिन्छ । जे भए पनि यो एउटा यस्तो अवधारणा हो जसको आजसम्म सर्वमान्य परिभाषा छैन र यसको प्रयोग परिस्थिति , समय र ठाउं अनुसार गरेकोे पाइन्छ । समष्टिगत रुपमा जुनसुकै युगमा जस्तो सुकै विश्लेषण गरिएता पनि नागरिक समाज एउटा यस्तो सचेत वर्गहरुको समूह हो, जसले समाजको सर्वोपरि हितको लागि राज्यसंग पहल गर्दछ तर नागरिक समाज तथा यसका अगुवाहरुले राज्य संचालनमा हिस्सा खोज्दैनन, न उनीहरुको कुनै आर्थिक प्रलोभन हुन्छ । यही कारणले गर्दा राजनितिक पार्टीहरुलाइ नागरिक समाजको अंग मानिदैन किनकि राजनीतिक पार्टीहरुको मुख्य उद्देश्य राजनीतिक सत्ता हासिल गर्नु हो । नागरिक समाजको मुख्य काम भनेको निस्वार्थ राज्यलाई विभिन्न पक्षमा सचेत गराउने हो ।

सन १९८० को दशकको अन्त्यदेखि अर्थात पूर्वी युरोपमा साम्यवादको अन्त्य र तेस्रो विश्वका देशहरुमा प्रजातन्त्रको लहर -जसलाइ प्रसिद्ध अमेरिकी राजनीतिक विद्धान स्यामुयल हन्टिड.टनले थर्ड वेभको संज्ञा दिएका छन) ले त नागरिक समाजको भूमिकालाइ सगरमाथाको चुचुरोमा नै पुर्‍याइ दिएको छ । कसै-कसैले त नागरिक समाजको भूमिकालाइ नै प्रजातन्त्रको तेस्रो लहरको मुख्य कारक पनि मानेका छन । परिणाम स्वरुप नागरिक समाज आज आएर प्रजातान्त्रिक राजनीतिको अभिन्न अंगको रुपमा स्थापना भइसकेको छ । नागरिक समाजको यही भूमिकालाइ मध्यनजर गरी विश्व मामिलाका विभिन्न बिषयहरु जस्तै वातावरण संरक्षण, मानव अधिकारको संरक्षण तथा प्रवर्द्धन, द्वन्द समाधान अन्तराष्ट्रिय कुटनीतिको संचालन, युद्धविराम, आणविक सन्धि आदिमा यसको मध्यस्थताको ब्यापक प्रयोग भैरहेको छ । यी सवै समस्याको समाधानमा यसको भूमिका सकारात्मक र निष्पक्ष हुने भएकोले आज आएर प्राज्ञ तथा अन्तराष्ट्रिय संस्थाहरुले विश्व नागरिक समाजको परिकल्पना समेत गरिसकेका छन । यसको पछिल्ल्ाो प्रयोग सफलता प्राप्त नगरे पनि इराकको युद्धलाइ रोक्नको लागि गरेको पाइन्छ । नेपाली समाजमा नागरिक समाजको अवधारणा वैदिक कालदेखिनै भएपनि यसको वर्तमान स्वरुपको प्रयोग चाहि पश्चिमेली राष्ट्रहरु भन्दा नयां नै मान्नु पर्दछ । प्राचीन नेपालमा नागरिक समाज भएता पनि यसको सिमा राज्य द्धारा नै निर्धारित हुने गर्दथ्यो । त्यति वेलाको नागरिक समाज पुरातनवादी विचारधारामा आधारित थियो र नागरिक समाज राज्य द्वारा नियन्त्रित भएकोले नै यसले राजनीतिक परिवर्तनमा उल्लेखनीय भूमिका निर्वाह गर्न नसकेको हो । साथै त्यति वेलाको नागरिक समाजको भूमिका नै आजको जस्तो थिएन । उत्तर आधुनिक नागरिक समाज राष्ट्रिय तथा अन्तराष्ट्रिय राजनीतिमा अहम भूमिका खेल्दै आएको छ । यस्तो किसिमको नागरिक समाजको अवधारणा नेपालमा सन १९९० को दशक देखि ब्यापक रुपमा हुदै आएको छ । त्यसो त नागरिक समाजले प्रजातन्त्र पुनर्वहालीको लागि पहिलो जन आन्दोलनमा पनि ब्यापक भूमिका खेलेको पाइन्छ । विभिन्न पेशागत समूह तथा आम नागरिकको ब्यापक सहभागिताले नै पहिलो जनआन्दोलनले आफ्नो लक्ष्य प्राप्त गर्न सकेको हो । तर त्यस पछिका दिनहरुमा भने नागरिक समाजको भूमिका त्यति सकारात्मक देखिदंैन किन भने नागरिक समाजका स्वघोषित नेता तथा अगुवाहरुको एउटा खुट्टा नागरिक समाजमा र अर्को खुट्टा राजनीतिमा राख्ने प्रवृतिको विकासले गर्दा यसकोे अवधारणालाइ नै दूषित गरेको पाइन्छ । यसका अतिरिक्त विभिन्न रङ्गका राजनीतिक पार्टी तथा तिनीहरुका नेताहरुले आफ्नो ब्यक्तिगत स्वार्थ पूर्तिको लागि आफू सुहाउंदो नागरिक समाजको निर्माण गरे । नागरिक समाजको अर्को बिडम्बना के देखियो भने दातृ संस्थाहरुबाट आर्थिक सहयोगको सजिलोको लागि शहरका ठूला बडा तथा अंग्रेजी बोल्नेहरुले नागरिक समाजको नाममा बिभिन्न किसिमका संगठनहरु खोले । यी संगठनहरुले न समावेशी नागरिक समाजको निर्माणमा भूमिका खेले न प्रजातान्त्रिककरणको प्रकृयामा सहयोग पुयाए । यिनीहरुको मुख्यकाम भनेको दातृ संस्थाहरुलाइ खुशि पार्नुमा मात्र सिमित रहृयो । समष्टिगत रुपमा भन्दा खेरि आधुनिक नेपाली नागरिक समाजले शहर भन्दा बाहिरको समाजलाइ आफूमा समाहित गर्न सकेन र राजनीतिक समाजमा जस्तै यसमा पनि सर्वसाधारणको पहुंच असम्भवनै हुन गयो । यो प्रवृत्तिले गर्दा नेपाली नागरिक समाजले नागरिक समाजको मूल मान्यतालाइ नै बङग्याई दियो र समाजलाइ ठाडै विभाजित गरयो । जसले गर्दा समाजमा राजनीतिक अस्थिरताको सृजना भयो । नागरिक समाजको यस्तो किसिमको चरित्रले गर्दा होला पश्चिमेली राजनीतिक शास्त्रीहरु तेस्रो विश्व -चाहे त्यो दक्षिण एसिया, अफि्रका, मध्य पर्व या ल्याटिन अमेरिका होस) को नागरिक समाज प्रति यदाकदा शङ्का व्यक्त गर्ने गरिरहेको पाइन्छ । त्यो किन भने यी देशहरुमा नागरिक समाज निश्चित व्याक्ति तथा परिवारको कब्जामा हुन्छ र तिनीहरुले तरल भीडलाइ आफ्नो इच्छा अनुशार - देशमा राजनीतिक स्थिरता अस्थिरता दुबै ल्याउनको लागि) प्रयोग गरेको पाइन्छ । यसको ज्वलन्त उदाहरण नेपालको नागरिक समाज पनि हो । जहा बषौं देखि राजनीतिक समाज जस्तै नागरिक समाज पनि निश्चित व्याक्तिहरुको कब्जामा छ र यसको पछाडि शक्तिको मोह लुकेको पाइन्छ । यहि कारणले गर्दा होला माओवादीहरुले विगतका दिनहरुमा नागिरक समाजको शान्तिको पहललाइ विश्वास नगरेको ।

यदि नागरिक समाज पहिले देखि नै संजग, संवल र उत्तरदायी भइदिएको भए मुलुकले यति ठूलो समस्या बेहोर्नु पर्ने थिएन । र सम्भवतः माओबादी समस्या लगायत अरु सबैको समाधान पहिले नै भइसक्ने थियो की । सन १९९० को दशकको राजनीतिक अस्थिरताको मूल जड नै नागरिक समाजको राजनीतिकरण हुनु तथा नागरिक समाज पैसामुखि हुनु हो ।

क्रमशः