The King directs for the parliamentary election

काठमाडौ, असोज २५
मुलुकमा स्थानिय निकायको निर्वाचनको चर्चा
चलिरहेकाबेला लगत्तै प्रतिनिधीसभाको निर्वाचन गर्ने कुरा
सार्वजनिक हुने भएको छ।दशैको टीकाको अबसर पारेर देशवासीका नाममा सन्देश दिदै राजाबाट उक्त कुराको
सार्वजनिक भएको हो। यसअघि महानगरपालिका, उप-महानगरपालिका र
नगरपालिकाका पदाधिकारीहरुको निर्वाचन यही माघ २६ गते बुधबार गर्ने
कुरा सार्वजनिक भएको थियो।
राजाबाट भोली दिइने संन्देश
प्यारा देशवासीहरू,
सत्यको सधैँ विजय हुन्छ भन्ने शाश्वत सन्देश स्मरण गराउँदै शान्ति, न्याय र मर्यादाका लागि निरन्तर क्रियाशील रहन प्रेरणा दिने महान् चाड बडादसैँको शुभउपलक्ष्यमा स्वदेश तथा विदेशमा रहे-बसेका नेपालीहरू तथा सम्पूर्ण हिन्दुहरूको सुख, शान्ति र समृद्धिका निमित्त हामी शुभकामना व्यक्त गर्न चाहन्छौँ ।
आफ्नो राष्ट्रको समस्या आफैंले समाधान गर्ने, आपसी मनोमालिन्य आपसको छलफलबाटै हटाउने तथा सदा स्वतन्त्र रहेको आफ्नो स्वाभिमानी इतिहासमा गर्व गर्ने नेपालीहरूका लागि राष्ट्रवाद नै एकमात्र मिलनविन्दु हो । वास्तवमा यही नै नेपालीको विशिष्ट पहिचान हो । यसैबाट निर्देशित भई देशलाई अहिलेको अप्ठयारो अवस्थाबाट जोगाएर पुर्खाहरूले अविच्छिन्न कायम राखेको राष्ट्रिय स्वाभिमानलाई भविष्यका पुस्ताका लागि पनि आत्मविश्वासको आधार बनाउनु पर्दछ । गत आठ महिनामा दृढ निश्चयी देशभक्त जनताको संलग्नतामा कर्त्तव्यनिष्ठ सुरक्षाकर्मीहरूको प्रयासबाट आतङ्ककारी गतिविधिमा कमी आएको छ, आमजनताले शान्तिसुरक्षाको बढ्दो अनुभव गर्न थालेका छन् । तर जनताको चाहना र देशको आवश्यकताबमोजिम आतङ्कवादबाट देश र प्रजातन्त्रलाई बचाउन सबैले सधैँ चनाखो र सक्रिय रहनु आवश्यक छ । स्वच्छ र धाँधलीरहित निर्वाचनद्वारा स्थापित जनप्रतिनिधिमूलक संस्थाहरूलाई सक्रिय तुल्याएर मात्रै र्सार्थक बहुदलीय प्रजातन्त्रको महत्वपूर्ण अभ्यास हुन सक्दछ । त्यसैले बालिग नेपालीहरूको सामूहिक विवेकलाई सम्मान गर्न बहुदलीय प्रजातन्त्रमा निष्ठा राख्ने सबैले घोषणा भइसकेको महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरूको निर्वाचनमा सहभागी भएर प्रजातन्त्रको हितमा योगदान दिनुपर्छ । अधिराज्यभरिका नगरपालिकाहरूको निर्वाचन सम्पन्न भएपछि स्वभावतः सिर्जना हुने उपयुक्त अवस्थालाई सुदृढ गरी २०६३ सालभित्र प्रतिनिधिसभाको निर्वाचन गराउन निर्वाचन आयोगलाई हामीबाट हुकुम बक्सेका छौँ । निर्वाचनको सम्पूर्ण प्रक्रिया मर्यादित, स्वच्छ र धाँधलीरहित ढङ्गमा सम्पन्न गराउन प्रजातन्त्रमा निष्ठा राख्ने अन्तर्राष्ट्रिय समुदायलाई पनि सक्रिय सहयोग गर्न हामी आह्वान गर्दछौँ ।
बाटो बिराएकाहरूले पनि राष्ट्र र जनताको हितमा समर्पित हुन हत्या-हिंसा छोडेर प्रजातान्त्रिक प्रतिस्पर्धाको राजनीतिमा प्रवेश गर्न अब ढिलो गर्नु हुँदैन । जस्तोसुकै मतभेद पनि समझदारीबाट हटाएर राष्ट्रिय अस्मिता रक्षा गर्न सम्मानजनक आधार फेला पार्न सकिन्छ । यसैले देशको आवश्यकता र जनताको चाहना बुझेर इतिहाप्रतिको दायित्व महसुस गरी राष्ट्रिय राजनीतिको मूल प्रवाहमा समाहित हुन सबैलाई ढोका खुला रहेको कुरा पनि हामी स्पष्ट गर्न चाहन्छौँ ।
अन्तमा, मातृभूमिको बृहत्तर हित हुने दिगो शान्ति स्थापना भई नेपाली जनताको सुखद र समृद्ध भविष्य सुनिश्चित हुनका लागि राष्ट्रप्रेमी देशभक्त सबै नेपालीहरू एकबद्ध भई नयाँ इतिहास प्रारम्भ गर्न श्री नवदुर्गा भवानीले हामी सबैलाई अभिप्रेरित गरून् - यही हाम्रो प्रार्थना छ ।
जय नेपाल !