
काठमाडौ, असोज १६
मन्त्रीपरिषदका उपाध्यक्ष डा तुलसी गिरी आगामी दिनहरुमा राजनीतिक दलहरुमाथि भिषण दमन गरिने संकेत दिएर एकपटक फेरि बिबादमा आएका छन्। आइतवार बेलुका कान्तिपूर टेलिभिजनकालागि अन्तरवार्ता दिदै उनले राजनीतिक पार्टीहरु राजाले भनेका आधारहरुमा आएर मिले मुलुकको समस्या समाधान हुने बताउदै गणतन्त्र र राजतन्त्र एकैठाउमा रहन नसक्ने उल्लेख गरे।
०४७ को संविधानमा संबैधानिक राजतन्त्र मान्ने भनेर कांग्रेस र एमालेले राखेको अडान आफैले तोडेर गणतन्त्रतर्फजान थालेको गिरीको आरोप छ। गणतन्त्र र राजतन्त्र दुइ शक्ति एकै ठाउमा बस्न नसक्ने प्रमाणित छ। निषेधको कुरा अहिल्यै गर्दिन, टाइम आएको छैन । समस्यालाई सहज ढंगले कसरी निदान गर्न सक्छौ भन्नेमै प्रयत्न भइरहेको छ। तर, आवश्यक परे सर्जिकलै (शल्यक्रिया) भनेपनि गर्नुपर्छ। गिरीले दलहरुमाथि भबिष्यमा राजनीति पार्टीहरुमाथि अझ बल प्रयोग गर्ने संकेत गदै भने - सर्जिकलै टि्रटमेण्टमा जानुपर्छ भन्नेहरु पनि छन् तर, राष्ट्रिय सहमति वा मेडिकल टि्रटमेण्टको संभावना अझैसम्म छ।
आफूले राजनैतिक दलहरुलाई प्रारम्भमै छलफलकालागि निमन्त्रणा गरेको र पहिले राजनैतिक नेताहरुबीच छलफल गरेपछिमात्र राजासंग कुरा गर्न सकिने उनको बिचार थियो।अहिले देशमा विदेशीहरुको दवाब बढेको छ उनको भनाइ छ- ०७ सालदेखि १७ सालसम्म बाह्य शक्तिको भूमिका सीमित थियो, ३० वर्ष पञ्चायत कालमा त यो रोल शुन्य नै थियो, तर ०४६ सालपछि राजा र दलहरुको भन्दा विदेशीको रोल माथि हुन थालेको छ।
नेपालको राजनीतिमा एकपटक बोल्नासाथ बबण्डर मच्चाउदै आएका गिरीले फेरि एकपटक राजनैतिक दलहरुलाई ठाडो चुनौती दिदै भने -सार्वभौम पावर दुइ ठाउमा बस्न नसक्ने प्रमाणित भइसकेको छ।संप्रभुता दइ पिल्लरमा विभाजित हुने नीतिले गर्दा नै नेपालमा राजनैतिक स्थिरता नआएको गिरीले तर्क गरे - दुइवटै पक्षले शक्ति खोज्दै जान थाल्यो भने झगडा भइहाल्छ नि।
जनताको प्रतिनिधित्व पार्लियामेन्टले गरे जस्तै राजाले पनि गर्न सक्छन्। अहिले एकपक्षले अर्को पक्षलाई खत्तम पार्न खोजिरहेको भन्दै उपाध्यक्ष गिरीले र्सार्वभौम सत्ता एउटा पक्षको हातमा आयो भने राजनैतिक स्थिरता आउन सक्ने उल्लेख गरे। सबै मिलेर समस्या समाधान गरौं भनेर राजाबाट हुकुम भएको छ। दलवालाले त्यो आधारलाई समातेर अगाडि बढे भने निचोडमा पुग्न सक्छौं, जुलुस-सुलुस गरिरहने हो भने सजिलै समस्या समाधान हुदैन, गिरीको तर्क छ।