
काठमाण्डौ, कार्तिक ५
दिनभर प्रहरीले घेराबन्दी गरेपछि गएराति सवा ११ बजे दर्जनौं प्रहरी जबर्जस्ती आएर कान्तिपुर एफएमको कार्यालयमा प्रवेश गरी पूर्वाञ्चल प्रसारणमा प्रयोग हुने सामान लगेका छन्। यसरी कान्तिपुर एफएमको प्रसारण पूर्वाञ्चलमा बन्द भएको छ। काठमाडौंमा भने प्रसारण यथावत छ। आज दिउसो राजा ज्ञानेन्द्रको निरंकुश शाही सरकारले ललितपुरको पुल्चौकस्थित कान्तिपुर एफ.एम.को कार्यालयमा शुक्रबार पुलिस पठाएर घेराबन्दी गरेको थियो। कथित सञ्चार नियन्त्रण अध्यादेशको आड लिएर गरिएको सो कुकृत्यको प्रहरी घेरावन्दी बिरुद्ध तत्कालै मानव अधिकारवादीहरु, पत्रकार महासंघ, बार एशोसिएसन र राजनैतिक दलहरुले निन्दा गरेका थिए ।
एफ.एम. व्यवस्थापनका अनुसार शुक्रबार दिउसो ३ बजेपछि सञ्चारमन्त्री टंक ढकालको निर्देशनमा सञ्चार मन्त्रालयका ३ जना अधिकृतसहितको टोली कार्यालयमा प्रवेश गरेको थियो। 'प्राविधिक निरीक्षणका लागि' भन्दै आएको सो समूहले कार्यालयमा पसेपछि कान्तिपुर एफ.एम.को पूर्वाञ्चल प्रसारण बन्द गर्न भनेको थियो। उनीहरुले भेडेटारस्थित टावर संगको लिंक विच्छेद गर्न धम्की दिएका थिए। तर, एफ.एम. व्यवस्थापनले लिखित पत्र दिन भनेपछि ढकाल निर्देशित सो टोली अलमलमा पर्यो र ५३० बजेपछि प्रहरी बोलाएर कार्यालय घेराउ गर्न लगायो। प्रहरीहरुले राति ८ बजेतिर मात्रै सञ्चार मन्त्रालयका कर्मचारीहरु हिडेपछि कार्यालय छाडेका थिए।
सरकारद्वारा सञ्चार अध्यादेश विपरीत कार्य गरेको भन्दै कान्तिपुर एफ.एम.लाई आरोप लगाइए पनि त्यसलाई पुष्टि गर्ने कुनै लिखित पत्र दिइएन। कान्तिपुरका कर्मचारीहरुले औपचारिक पत्र लिएर आउन चुनौती दिएपछि सरकारी अधिकारीहरुलाई अप्ठ्यारो परेको छ।कान्तिपुर एफ एमा माथि सरकारले निर्लज्ज हस्तक्षेप गरेपछि तत्कालै नेपाल बार एसोसिएसन, नेपाल पत्रकार महासंघ र मानव अधिकार उच्चायुक्त इयान मार्टिनको कार्यालयका प्रतिनिधि पुल्चौक पुगेका थिए। त्यसै गरी नेकपा एमालेका महासचिव माधवकुमार नेपाल पनि शुक्रबार बेलुका एफ.एम.को कार्यालय पुग्नुभएको छ। महासचिव नेपालसगै जनमोर्चा नेपालका अध्यक्ष अमिक शेरचन पनि कार्यालयमा पुग्नुभयो। महासचिव नेपालले सरकारको यो कदमलाई उद्दण्डताको पराकाष्टा भन्दै सरकार सीमा नाघेर अगाडि बढ्न थालेको बताउनु भएको छ। यो समाचारपनि हेर्नुहोस।
र कान्तिपुरको यो समाचार र The Kathmandu Post
सञ्चार अध्यादेशको देशव्यापी पुत्ला जलाइयो
यसैबीच शुक्रबार देशका विभिन्न भागमा पत्रकारहरुले सञ्चार अध्यादेशको पुत्ला जलाएका छन्। धरानमा पत्रकारहरुमाथि प्रहरीले हस्तक्षेप गरेको छ भने पाल्पा, बुटवल, सप्तरी जनकपुर झापा, बनेपा आदि ठाउमा सफलतापूर्वक पत्रकारहरुले पुत्ला जलाएका छन्।राजधानीमा पनि पत्रकारहरुले शुक्रबार बानेश्वरदेखि माइतीघरसम्म र्याली गरेर सभासमेत गरेका छन्। सो सभामा पत्रकारहरु कनकमणि दीक्षित, हरिहर विरही, शिव गाउले लगायतले बोल्नुभएको थियो।