Even the truth needs a witness ( a symbolic poem )
Chanky Shrestha

अब सत्यलाई
सत्य सावित हुन साक्षी चाहिएको छ
घामलाई घाम हुन
जूनलाई जून हुन
आकाशलाई आकाश हुन साक्षी चाहिएको छ।
यद्यपि दूर क्षितिजबाट ओर्लिएको घामको उज्यालोसँगै
जिन्दगीको शाश्वत सत्यको खोजीमा हिँडिरहेका छन् मानिसहरू
तर, सत्य र उज्यालोकै अस्तित्वमा प्रश्न पनि उठाइरहेका छन्
अब कविताले मात्र
कविलाई कवि सावित गर्न सक्दैन
अब कविलाई कवि हुन
गायकलाई गायक हुन
र, मान्छेलाई मान्छे हुन पनि साक्षी नै चाहिएको छ।
यद्यपि साक्षीले धेरैपल्ट फेरिदिएको छ सत्यको परिभाषा
साक्षीले धेरैपल्ट फेरिदिएको छ सत्यको रङ
साक्षीकै कारण धेरैपल्ट बन्दी भएको छ सत्य
अब सत्य नै साक्षीको खल्तीको रूमाल भएको छ।