A question of understanding the complete democracy
Dr. Mathura Prasad shrestha, senior human right leader
बिचार/ बिबेचना
लोकतन्त्र, मानवअधिकार, द्वन्द्व रुपान्तरण र सार्थक एवं दीगो शान्ति सवै एक अर्काका परिपूरक विषयहरु हुन्। यिनका प्रगाढ अन्तरसम्बन्धका कारण एकआपसबाट अलग्याए हरएकको सार अर्थहीन हुने मात्र होईन यथार्थमा अस्तित्वबिहिन हुन्छ। उपरोक्त मानवीय फाँटहरु प्रत्येक जनताको जीवनको अपरिहार्य अंगहरु हुन्। तिनका ब्याख्या बिश्लेशण गर्नुअघि नेपालको बर्तमान परिस्थिति र जनताका मनस्थिति बारे आग्रह गर्न चाहन्छु।
माओवादी बिद्रोह बढ्दै जानु र त्यस द्वन्द्वलाई राजनैतिक उपचार गरी टुंग्याउनतिर नलागि सैन्यबलमा मात्र भरपरेको देखिदा तात्कालिन तथा त्यसपछिका सरकारहरुका राजनैतिक सुझबुझको कमि र अपरिपक्वता उदाङ्गो भएको छ। यस युद्धका कारण र लोकतन्त्रिक संस्कृति जनमानस र जनजीवनमा प्रगाढ हुंदै गएको छ। यसैपरिप्रेक्षमा दरवारभित्र राजतन्त्र असान्दर्भिक हुंदै जाने आशंका र त्राश संगसंगै कपट र षडयन्त्रको विजारोपण भएको हो तरपनि तात्कालिन सरकार र पार्टीहरुले यसको भेउपत्तो पाउन सकेनन्।
उल्टो सैनिकलाई सरकारको अधिनस्त पार्न र अन्य आशिर्वादहरुका लागि दरवारलाई सल्ट्याउन र गुलामी गर्नमानै आफ्नो अधिकांश उर्जाहरु खर्चे। दरवार हत्याकाण्ड हुंदै संकटकालको घोषणा, २०५८ साल असोज १८ को प्रतिगमन र २०६० माघ १९ को बदनियतपूर्ण प्रतिगमन नेपालको राजतन्त्र भित्र सलबलाईरहेको सत्तालिप्साका दुराशयपूर्ण कपट कसरि नृशंस बन्छ भन्ने प्रश्नले फेरि एक पल्ट हामी नेपाली सबैलाई चुनौति दिएको छ।
शाह बंश सुरु देखि आठ साल, १७ साल हुंदै अहिले सम्म बारम्वार नेपाली जनतालाई धोखा दिईरहेको छ। मुलुकलाई षडयन्त्रै षडयन्त्रले आक्रान्त बनाएको छ। अहिले जनता आक्रोशित भैसकेका छन्। यहि आक्रोशलाई पन्छाउन पार्टीहरु, माओवादी, संचार माध्यम, नागरिक समाज, अन्तराष्ट्रिय जगत, देश, काल, परिस्थिति र सबैको भाग्य समेतलाई दोष दिएर राजाले स्यालनीति थोपर्ने चेष्टा गरेको छ।
माघ १९ गतेको असंबैधानिक र अबैधानिक प्रतिगमन पछि त राजाले सार्वजनिक क्षेत्र, सरकारी संयन्त्र, अन्तराष्ट्रिय मानवीय कानुन, मानवअधिकार, धर्म, संस्कृति, कूटनीति, विधि सबैमा अन्ध प्रहार गरी जनता सबैलाई आँखा र कानबिनाका चेतनाबिहिन बेवकूफ बनाएर राज गरिरहने नियत स्पष्ट पारेको छ। अहिले माओवादी युद्धबिरामलाई सकारात्मक नमानेर भंग गर्ने मात्र दुःस्वप्नमा हराएको छ राजा। आफ्नो अभिष्टको सिकार सबै नेपाली जनतालाई बनाई राख्ने चाहना उसमा छ।
यसरी संबिधान लगायत विधि नाघेर निरङ्कुश बनेको राजाको भर्त्सना गर्नु, बिरोध गर्नु र नामेट समेत गर्नु हामी सबै नेपालीको अधिकार मात्र होईन नैतिक र नागरिक दायीत्वपनि हो। यस दायित्वबाट पन्छनु दासत्व स्विकारेर आकांक्षा बिना बेनामी तथा अंध्यारो प्रतिगामी जीवन स्विकार्नु सरह हुन्छ । तर स्वाभिमानी नेपाली जनता आफ्नो नागरिक दायित्व निभाउन धेरै अगाडि बढीसकेका छन् र लोकतन्त्र, मानवअधिकार, द्वन्द्वरुपान्तरण पछिको र्सार्थक एवं दीगो शान्ति, र समग्र विकाश बारे चासो लिएर राजनैतिक आन्दोलनतिर लम्किसकेका छन्।
लोकतन्त्र लाई बिभिन्न समुहले बिभिन्न दृष्टिकोणले सम्झने र अर्थ्याउने भएकोले लोकतन्त्रबारे मनन गर्दा निम्न १० कुराहरुमाथि बिवेचना गर्न सवैमा आग्रह गर्दछु। हुनत लोकतन्त्रका अरु धेरै विशेषता पनि हुन्छन्। समय र स्थानको ख्याल गरी प्रमुख आधारहरु मात्र यहां प्रस्तुत गरिएको छः
क. लोक शब्दले उँचनिच र कुनै भेदभाव बिना कसैलाई नछाडि सवै समाबिष्ट राष्ट्रका अपरिमित तथा संपूर्ण जनताको समुहलाई जनाउँछ। यस अर्थमा लोक भन्ने शब्द जनता अथवा गण भन्दा ओजपूर्ण मानिन्छ। तथापि यस लेखमा लोक र जनता समानमानि दुवैको समान प्रयोग भएको छ।
ख. नेपाली जनता कसैको रैति वा प्रजा नभई सर्वअधिकार संपन्न जागरुक, स्वाभिमान र सचेत नागकिहरु हुन्। छयालिस सालको जनआन्दोलनको कर्ताभर्ता भएर खारीएका हुन् नेपाली जनता। नेपाली जनता कुनै अगुवा वा नेता पछि लुरुलुरु नलागि विचलित नेता र राष्ट्रसेवकहरु समेतलाई नसिहत दिन सक्ने भएका छन्। त्यसैले विगतमा प्रचलित शब्द प्रजातन्त्रको सट्टा लोकतन्त्रको उपयोग सर्वत्र सवैले द्रुत गतिमा प्रयोग गरिरहेका छन्।
ग. लोकतन्त्रको संस्कृतिले जनतालाई इतिहास, संस्कृति, मानवसभ्यता, धर्म आदि सवै मूल्यमान्यताका श्रोत र निर्माता हुन् भन्ने तथ्यलाई स्थापित गर्दछ।
घ. लोक सवैका पालक हुन्। कर्मचारी, जनप्रतिनिधी, सैनिक, प्रहरी, (राजा हुने देशमा राजा पनि ) जनताका कर र मान्यताले अस्तित्वमा रहन्छ। निजीक्षेत्र समेतमा रहेका उद्योग, ब्यपार, बित्तीय संस्था, ब्यवसाय, ब्यवसायी सवै लोकका आवश्यकता र चाहना अनुसार अस्तित्वमा आउँछन् र फस्टाउँछन्। किसान, मजदुर, कलाकार, वैज्ञानिक, वुद्धिजीवि, विज्ञ सवै लोकसम्मत बनिरहन लोकका आवश्यकता र चाहना परिपूर्ति गर्न र सेवामा समर्पित रहन्छन्। सो अनुरुप आत्मविकाश तथा प्रतिस्पर्धा गरीरहन्छन्। जनताको नुनको भार तिरीरहेकै हुन्छन् र तिर्नु सवैको दायित्व पनि हो।
ङ. लोकतन्त्रमा जनता र्सार्वभौम हुन्छन् र संपूर्ण राज्यशक्तिका श्रोत जनतानै हुन्छन्। यी मान्यता स्थापनाकोलागि जनताले विधीको शासन, ब्यक्तिको होईन भन्ने अवधारणालाई मुखरित गरि त्यसै अनुरुपको कानुन बनाई लोकसंस्कृति र ब्यवहारमा परिणत गर्छन्। त्यसै अनुरुप जनतालेनै राष्ट्रको संविधान, राज्यसंरचना, राज्यनीति, कार्यपालिका, न्यायपालिका, शासनब्यवस्था, सुरक्षाब्यवस्था, नैतिकता सवै आफै वा आफ्ना प्रतिनिधि मार्फत निर्माण गर्छन्। त्यसैगरि लोकले त्यसका अनुगमन, हेरफेर र निर्देशन, अभिमतपनि दिन सक्छन्।
च. लोकतन्त्रमा जनता नै प्रथम भन्ने मान्यता र सिद्धान्त प्रतिस्थापन हुन्छन्। यसले सवै जनताका लागि र जनता माथि कोहि हुंदैन, हुनु हुंदैनू भन्ने यथार्थलाई स्थापित गर्छ। यही मान्यता अनुरुप लोकतन्त्र स्वाभाभिक रुपले गणतान्त्रिक हुन्छन् र लोकतन्त्रमा राजतन्त्रको स्थान हुंदैन वा असान्दर्भिक हुन्छ। प्रारम्भमा स्पष्ट र सरल बुझाईकोलागि लोकतान्त्रिक गणतन्त्र वा गणतन्त्रिक लोकतन्त्र जस्ता शब्दहरुको र्सबत्र चयन र उपयोग हुंदै आएको छ।
छ. लोकतन्त्र संस्थागत गर्न विश्वका सवै मानव र मानवसंयन्त्रहरु मिलेर अन्तराष्ट्रिय मानवीय कानुन र राष्ट्रिय कानुन निर्माण गरी विश्वका संपूर्ण जनताका राजनैतिक, सामाजिक, आर्थिक र सांस्कृतिक सवै अधिकारहरु सुनिश्चित गरेको छ। ति अधिकारहरु समान, सर्वमान्य, अभिभाज्य, विश्वब्यापी, सर्वपहुंच र निरपेक्ष हुन्छन्। देश, काल, परिस्थिति सापेक्ष कसैले बनाउन र उपयोग गर्न पाउँदैन। कसैलाई काखा कसैलाई पाखा लगाउन पनि पाउँदैन। नेपालको सन्धि ऐन २०४७ लेपनि संमिलन भएका अन्तराष्ट्रिय सन्धि सम्झौताका भावना र उद्येस्य अनुरुप नेपालको कानुन लागूगर्ने र बनाउँदै जानुपर्ने कुरालाई स्पष्ट पारेको छ।
ज. लोकतन्त्रमा समानता र सामाजिक न्यायका सिद्धान्तहरु प्रतिपादित भएको हुन्छ।
झ. लोकतन्त्र समावेशी हुने भएकोले देशका संपूर्ण जनता, बिपन्न बर्ग, महिला, आदिबासी, जनजाति, मधिसे, दलीत, अपांग र उपेक्षित सवैलाई यो देश हाम्रो पनि हो भनि गर्व गर्न पाउनेगरि बिना कुनै भेदभाव राज्यको राजनैतिक, सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रहरुमा स्वतन्त्र र सकृय सहभागि बन्न अधिकार र कर्तब्य प्रदान गरेका हुन्छन्। तदनुरुप लोकतन्त्रमा राजनैतिक बहुलता साथसाथै सांस्कृतिक, पर्यावरण र जैविक बिविधताका कदर हुन्छ। बहुसंस्कृति र बहुभाषाभाषी समावेशी लोकतन्त्रको प्रमुख चरित्र हो।
ञ. लोकतन्त्रमा सवै राजनैतिक पार्टी, संवैधानिक अंग र ब्यक्तिहरु, तथा सवै जनसेवकहरु जनताका हृदय र मन जित्न सदा र्समर्पण र उद्यत हुनुपर्ने स्पष्ट परिपाटी संस्थागत गरी उजागर गरिएको हुन्छ। यो लेख गत अक्टोवरको ४ तारिखका दिन नेपाल इन्फोमा प्रकाशित भएको थियो । यसको दोस्रो खन्ड हेर्न यहा क्लिक गर्नुहोस। यो लेख अहिलेको समय सान्दर्भिक हुन सक्ने ठानी पुन प्रकाशित गरिएको हो।
यो लेख ताप्लेजुङ्ग, फिदीम र इलाम जिल्लामा गरिएको भाषणमा आधारित छ। आश्विन १७, २०६२