सित्तैमा हुने क्षयरोगको उपचार नपाएर पत्रकार पहारीको मृत्यू

         Imprisoned journalist dies after authorities refuse
treatment
                                      
                
                 जानाजान उपचार नगराइ मारिनुभएका संचारकर्मी पहारी

काठमाडौ,असोज १९


दशैको मुखमा खाउला पिउला भन्ने भनाइ निकै चल्तीमा छ। बर्षमा अरुबेला भोकै र नागै बसेपनि दशैकाबेला राम्रो पहिरन र मीठो खाने आशा सबैको हुन्छ। बर्षभरी नभेटेका आफन्त यहि चाडमा आफन्तको बाटो हेरी बस्छन्। आफ्नो परिवार आफन्त र साथीभाइ संग भेटघाटकालागि भन्दै दूरदेशबाट यहि मौका छोपेर आउंछन्। केहि अपवादलाई छोडेर दशैले प्राय गाउघरमा रमाइलो ल्याउंछ। स्वीडेन नर्वे वेल्जियम फ्रान्स नेदरल्यान्ड स्वीजरल्यान्ड लगायतका पश्चिमेली मुलुकका सरकार जो जनताप्रति उत्तरदायि छन् तिनले बेरोजगार बृद्ध भत्ता लगायत गरीव परिवारलाई चाडवाड र पर्व मनाउने रकम नै दिने गर्छन्। तर यस्तो चाडमा राहत दिनुको साटो हाम्रो एकतन्त्रिय शाही सरकारले भने एक जना संचारकर्मीलाई उपचार समेत गर्न नदिएर तड्पाइ तड्पाइ मारेको सुन्दा तपाइलाई कस्तो लाग्ला ? शरीर गलिसक्दापनि उपचार गर्न नदिइ मृत्यूको मुखमा धकेलेर एक जना संचारकर्मीको घरमा दशैका बेला रुवाबासी परेको छ। यसरी उपचार समेत गर्न नदिएर मृत्यूको मुखमा परेका पत्रकार हुनुहुन्छ ; बर्ष३० का महेश्वर पहारी । उहाको हिजो गण्डकी अञ्चल अस्पतालमा मृत्यू भएको हो।

पहारी पोखराबाट निस्कने राष्ट्रिय स्वाभिमान पत्रिकाका पत्रकार हुनुहुन्थ्यो। सन् २००३ को अगष्टमा सरकार र माओवादीबिचको वार्ता भंग भएपछि यो पत्रिका बन्द भएको थियो। सरकारले उहालाई माओवादीसंग निकट रहेको आरोपमा सन् २००४ को जनवरी दूइमा पक्राउ गरी बेपत्ता पारेको थियो। ६ महिनाको कठोर यातना पुर गरी १३ मे २००५ मा रीहा भएका पहारीलाई सुरक्षाकर्मीले पुन पक्राउ गरी पोखरास्थित वडा प्रहरी कार्यालय बगरमा राखेको थियो ।हिरासतमा पटक पटक चर्को यातना दिइएका पहारीको स्वास्थ्य स्थिती क्रमश बिग्रदै गएको र पछि स्पष्ट रुपले क्षयरोगको संक्रमण भएको देखिएको थियो। स्मरणयोग्य कुरा के छ भने क्षयरोगको उपचार नेपालमा निशुल्क हुन्छ।


 क्षयरोगले गांज्दै लगेपछि मरणासन्न अवस्थामा पुग्नु भएका उहांलाई अन्तिम अवस्थामा गण्डकी अञ्चल अस्पताल पोखरामा एक हप्ता अघि लगियो। उक्त अस्पतालले काठमाडौका सुबिधा सम्पन्न अस्पतालमा लैजानुपर्ने जनायो। तर सुरक्षाकर्मीहरुले उहाको थप उपचार गराउन चाहेनन र अन्त्यमा उहाले मृत्यूवरण गर्नुपर्यो भनि आज रिपोर्टर विथआउट बोर्डरले उहाकी धर्मपत्नी दूर्गा पहारीलाई उध्रित गर्दै जनाएको छ। पक्राउ पर्नु अगाडी स्वस्थ अवस्थामा रहनुभएका उहाको मृत्यूमा सरकार पूर्ण रुपमा जिम्वेवार रहेको वोर्डसले दावी गरेको छ। 'महिनौ सम्म गोप्य ढंगले राख्ने यातना दिने र २० जना बन्दीको क्षमता भएकोमा उहा सहित १०० जना राख्ने काम भएको' भन्दै बोर्डसले भनेको छ - 'माओवादीसंग सहानुभूती राखेको आशंकामा हत्या गरिनु अपराधि नीति हो'। बोर्डरले यो घटनाको भर्त्सना गर्दै संयुक्त राष्ट्रसंघिय मानाअधिकारको नेपालस्थित कार्यालायका उच्च अधिकारी इयान मार्टीनलाई पहारीको मृत्यूबारे अनुसन्धान गरी यो घटनामा को जिम्मेवार थियो भन्ने पत्ता लगाउन आव्हृान गरेको छ ।
 


२०६२ कात्तिक ८ गतेको  माओवादी साप्ताहिक जनादेशले पत्रकार  पहारीको बारेमा लेखेको समाचार
पत्रकार पहारीको जेलभित्रै शहादत
पोखरा
शाही सत्ताद्वारा बन्दी बनाइनु भएका पत्रकार महेश्वर पहारीले गत असोज १८ गते बन्दी अवस्थामै उच्च शहादत प्राप्त गर्नुभएको छ। उहालाई गत २०६० पुस १८ गते कास्कीको ल्वाङघलेबाट शाही सेनाले पक्राउ गरी लामो समयसम्म कडा यातनाका साथ सैन्य व्यारेकहरुमा राखी केही समय अघिमात्रै कास्की कारागार चलान गरेको थियो  पहारीलाई अघिल्लो संकटकालमा समेत ०५८ मंसिर १५ गते पक्राउ गरी डेढ वर्षम्म शारिरिक यातनाका साथ राखिएका कारण क्षयरोगले ग्रस्त भै वार्ताकालमा रिहा भै उपचारमा रहेकै वखत पुनः पछिल्लोपटक पक्राउ गरिएको थियो। पक्राउपछि कुनै उपचार नगरी कडा यातना दिइएपछि पहारी थप सिकिस्त वन्दै जानुभएको थियो। शाही सत्ताले कुनै उपचार नगरेकै कारण उहाको निधन हुन पुगेको हो।

पोखरावाट प्रकाशित हुने राष्ट्रिय स्वाभिमान साप्ताहिकसग सम्वद्ध पत्रकार पहारीलाई सैनिक व्यारेकवाट कारागारामा ल्याइए लगत्तै उहाको उपचारको माग हुदै आए पनि पुरै वेवास्ता गरिएको थियो। उहाको शहादतभन्दा एक महिना अघिदेखि नै उहालाई हनहनी ज्वरो आउने तथा खकारमा रगतको मात्रा बढदै गएर शिथिल वनेपछि सहयोद्धा वन्दीहरु एवं आफन्तहरुले उपचारको लागि अस्पताल लान माग गर्दै आएका थिए तर त्यसको कुनै सुनुवाई गरिएन। अन्त्यमा उहालाई अत्यन्तै चिन्ताजनक र अचेत अवस्थामा पुगेपछि पोखरास्थित क्षेत्रीय अस्पताल त लगियो तर त्यहा“का डाक्टरहरुले तत्काल काठमाडौंको सुविधा सम्पन्न अस्पतालमा लगिएमा निको हुने भनेर सिफारिस गरेपनि शाही सत्ताले कुनै चासो दिएन। अझ डाक्टरहरुले सिफारिस गरेको औषधी समेत खुवाइएन। पत्रकार पहारीको उपचारको लागि राजधानी ल्याउन सहयोग पुर्‍याइदिन उहाकी श्रीमतिले लगातार रुपमा विभिन्न मानवअधिकार संघसंस्था, शाही मानव अधिकार आयोग लगायत सम्वन्धित सवैलाई अपील गरे पनि त्यसको कुनै सुनुवाई भएन। भर्खर ३२ वर्षउमेरमा पुग्नु भएका पहारीलाई शाही सत्ताले उपचार नगरेरै तडपाई तडपाई गरेको हत्याको चौतर्फी विरोध र भत्र्सना भइरहेको छ।

शाही सत्ताले भने पत्रकार पहाडीको रगत जाच गर्दा एडस् लागेको पाइएको भन्दै अत्यन्तै झुठ्ठा र भ्रमपूर्ण प्रचार गरिरहेको छ। उहाको रगत जाच्दा एड्स लागेको पाइयो भन्ने कुरा पुरै असत्य रहेको र त्यस्तो रोग लागेको वारे कुनै रक्त परिक्षणसमेत नभएको कुरा अस्पतालले वताइसकेको छ। पत्रकार पहारीको निधन भइसकेपछि आफूलाई शाही सत्ता नजिक वताउने क्षेत्रीय अस्पतालका डाक्टर मुकुन्द आचार्यले आफूहरुले विरामीको परिक्षण र रक्तजाच गरेर एड्स रोग लागेको पाएको नभै विरामी स्वयंले भनेकै आधारमा अहिले हल्ला गरिएको वताएका छन्। पत्रकार पहारीको पारिवारिक स्रोतले भने वोल्नसमेत नसक्ने र अचेत अवस्थामा अस्पताल ल्याइएका विरामीले कसरी आफूलाई लाग्दै नलागेको रोग लाग्यो भनेर भने होलान् भन्ने आर्श्चर्य ब्यक्त गर्दै त्यसको पुष्टि गर्न चुनौति दिएको छ। बरु पटक पटक उहाको खकार जाच गर्दा क्षयरोग लागेको पाइएको थियो। पारिवारिक स्रोतले पहारीलाई एडस जस्ता कुनै रोग नलागेको वताउदै शाही सत्ता र अस्पतालका केही डाक्टरहरुले अफवाहपूर्ण प्रचार गरेकोमा क्षोभ प्रकट गरेको छ।