Deputy PM Bista appreciates Maoist -Democratic party understanding

काठमाडौ ,मंसिर ९

पार्टीहरु र माओवादीवीच भएको सहमतिका विषयमा मन्त्रीहरुले नै विवादास्पद प्रतिक्रिया दिइरहेकै बेला मन्त्री परिषद्का उपाध्यक्ष कीर्तिनिधि विष्टले भने सहमतिको खुलेर प्रशंसा गर्नुभएको छ।
राजधानीमा आयोजित एक कार्यक्रमको उद्घघाटन गरिसकेपछि सञ्चारकर्मीहरुले सोधेका प्रश्नहरुको जवाफ दिने क्रममा उपाध्यक्ष विष्टले शान्ति प्रक्रियाकालागि हुने जुनसुकै प्रयास र सम्झौतालाई सरकारले सकारात्मकरुपमा लिने बताउनुभयो। राष्ट्रकालागि सबैभन्दा महत्वपूर्ण कुरा शान्ति भएकोले यसलाई प्रशंसा नै गर्नुपर्दछ । सरकारले यो समझदारीका विषयमा सकारात्मक र संयमित भएर आफ्नो विचार व्यक्त गर्ने विष्टले जानकारी दिनुभएको छ।
उता बुधबार सरकारका प्रवक्ता टंक ढकालले माओवादीसग गरिएको समझदारीलाई अप्राकृतिक गठबन्धन भनेकामा सात राजनैतिक दलका नेताहरुले आपत्ति जनाएका छन्। राजधानीमा आयोजित कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता केपी शर्माओलीले समझदारीका विषयमा दुइ दिन नबित्दै व्यापक जनर्समर्थन प्राप्त हुन थालिसकेको बताउनुभयो। र, समझदारी पछि प्रजातन्त्रविरोधीहरु अत्तालिएको ओलीले बताउनुभयो।नेपाली कांग्रेसका प्रवक्ता कृष्णप्रसाद सिटौलाले यो समझदारीलाई सही ढंगबाट कार्यन्वनयन गर्नसके मुलुकले सहज निकास पाउने बताउनुभयो ।
त्यसैगरी समझदारीपत्रका हस्ताक्षरकर्ता तथा नेपाल सद्भावना पार्टी उपाध्यक्ष भरतविमल यादवले अर्को एक कार्यक्रममा  बोल्दै राजतन्त्र लगायत समझदारीपत्रमा अस्पष्ट रहेका कुराहरुलाई संविभान सभाले नै टुंगो लगाउने बताउनुभएको छ। त्यसैगरी युवा नेता गगन थापाले समझदारीमा कसले हार्‍यो वा कसले जित्यो भनेर 'जुगाको लडाइ' गर्न नहुने बताउनुभएको छ।