'Terrorist at Royal Palace'

काठमाडौं, मंसीर १३

 मानवअधिकारकर्मी कृष्ण पहाडीले नारायणहिटी राजदरबारभित्र बस्ने आतंकबादीले रेडियोमाथि हमला गरेको बताउनु भएको छ। सरकारले रेडियो सगरमाथामाथि आक्रमण गरी प्रसारण बन्द गरेको बिरोधमा नेपाल पत्रकार महासंघको आह्वानमा आयोजित विरोध र्‍यालीपछि आयोजित सभामा उहाले भन्नुभयो -'सरकारले रेडियो सगरमाथालाई आतंकको आरोप लगाउँदै प्रसारण बन्द गराए पनि नेपालमा कहिल्यै शान्ति नचाहने आतंकबादी नारायणहिटीको चार दिबारभित्र बसेको छ।' आतंकवादीहरु मानवअधिकार, स्वतन्त्र प्रेस, एफएमको समाचारदेखि डराउने गरेको उल्लेख गर्दै नेपालमा राज्यसत्ताले रेडियो सगरमाथामाथि आक्रमण गरेर त्यसलाई थप पुष्टि गरेको उहाले बताउनुभयो।

पहाडीले बिरामी मरेपछि औषधि काम नलाग्ने उल्लेख गर्दै सर्वोच्च अदालतले बिरामी मानवअधिकार र प्रेस स्वतन्त्रता वहाली गर्न सहयोगको गर्नुपर्ने बताउनुभयो। 'शाही सरकार मर्ने बेलामा कमिलाको प्वाँख पलाएको अवस्थामा छ' उहाले थप्नुभयो। स्वतन्त्रताका पक्षधरले ज्यानको पर्वाह नगर्ने भएकाले २५ मंसिरमा मानवअधिकार दिवसको अवसर पारेर रत्नपार्कमा 'आतंककारी बिरुद्ध' कार्यक्रम गरिने जानकारी पहाडीले दिनुभयो। उहाले पटक पटक राजालाई इंगित गर्दै आतंककारी भनेर लल्कार्नुभएको थियो।

पत्रकार महासंघका सभापति बिष्णु निष्ठुरीले प्रेस स्वतन्त्रतामाथि आक्रमण गर्नेको हात झर्ने भविष्यवाणी गर्दै प्रेसमाथि थप आक्रमण नगर्न शाही सरकारलाई चुनौती दिनुभयो। 'शाही सरकार भीरतिरको यात्रामा रहेको' दाबी पनि उहाले गर्नुभयो।महासंघका पूर्व सभापति तारानाथ दाहालले अहिले सिंहदरबार हारेको र शाही नेपाली सेनाको मुख्य कार्यालय भद्रकालीले जितेको अवस्था रहेको बताए। 'भद्रकालीले प्रेस स्वतन्त्रताको वैधानिक बाटो बन्द गर्छ भने स्वतन्त्रताका पक्षधरहरुले अन्य उपाय जानेका छन्, त्यो उपाय गर्ने दिन नआओस्' उनले चेतावनी दिनुभयो। दाहालले रेडियो सगरमाथामाथिको आक्रमण जस्ता स्वतन्त्र प्रेस बिरोधी काम गरेर शाही सरकारले आफ्नै आयु छोट्ट्याइरहेको दाबी गर्नुभयो।
दि काठमाडौं पोष्टका सम्पादक प्रतिक प्रधानले शान्ति नचाहने शाही सरकारले चरणवद्ध रुपमा आफ्नो नाङ्गो नाच प्रदर्शन गरेको जनाउदै स्वतन्त्र न्यायालयले सञ्चार अध्यादेशमा न्याय दिएको भए यस्तो अबस्था आउने थिएन भन्नुभयो। नेपाल वातावरण पत्रकार महासंघका अध्यक्ष लक्ष्मण उप्रेतीले रेडियो सगरमाथामाथि आक्रमणको बारेमा जानकारी गराउनुभएको थियो भने पक्राउ परी रिहा भएका संचारकर्मी दीपकराज पाण्डेले हिरासतको अनुभव सुनाउनुभएको थियो। सगरमाथामाथि भएको हमलाको विरोधमा बबरमहलबाट निस्केको र्‍याली माईतीघर पुगेर सभामा परिणत भएको थियो। यसैबीच रेडियो सगरमाथामासरकारले 'लुटपाट र डकैती' गरेको भन्दै चितवनमा पत्रकारहरुले विरोध जुलुस निकाले। नारायणगढको लायन्स चोकबाट चिस्किएको र्‍याली बजार परिक्रमा गरी पुलचोकमा पुगेर समापन भएको थियो। जुलुसमा चितवनका पत्रकार तथा मानवअधिकारकर्मीहरुको उल्लेखनीय सहभागीता थियो। जुलुसपछि नेपाल पत्रकार महासंघ चितवन शाखाका सभापति जनक अर्यालले सरकारी डकैतीको भर्त्सना गर्दै संचार अध्यादेशलाई पत्रकारहरुले उल्लंघन गर्दै जाने बताए।
सिनर्जी एफएमका प्रबन्ध निर्देशक तथा स्वतन्त्र रेडियो बचाउ आन्दोलन संर्घष समिति चितवन तथा नवलपरासीका संयोजक सहन प्रधानले पत्रकारहरुले संचालन गरेको आन्दोलन जनताको आन्दोलन भएको बताउँदै आन्दोलनमा साथ दिन सम्पूर्ण जनसमुदायसँग आग्रह गर्नुभएको छ।यसैबीच रेडियो सगरमाथामा सरकारले राती पसेर नियोजित ढंगले प्रसारण नै बन्द गराएको, रेडियो उपकरण जफत गरेको र सञ्चारकर्मीलाई गैरकानूनी गिरफ्तार गरेको घट्नाको दर्जनौं संघसंस्थाहरुले विज्ञप्ति निकालेर विरोध गरेका छन्।