Political development after the statement of US Embassy (political comment)
Nepal Info
विचार/ विवेचना
नेपाल इन्फो
नेपालको राजनैतिक समस्या कसरी समाधान गर्ने भन्ने विषयमा नेपालका राजनैतिक पार्टी र अमेरिकाबीच मतान्तर भएपछि एकापसमा आरोप प्रत्ययारोप शुरु भएको छ। अमेरिकी राजदूत जेम्स एफ मोरियार्टी माओवादी र सातदलबीच सहकार्य गर्न नहुने टिप्पणी गर्नुभएको छ भने सात दलका नेताहरु माओवादीसग सम्वाद र सहकार्य गर्नुपर्ने बताइरहेका छन्। माघ १९ को शाही कदमपछि राजाको आलोचना गर्दै आएको अमेरिकासग दलहरुको विचार बाझिएको यो पहिलो घटना हो।
अमेरिकी राजदूतले मोरियार्टी उनीहरुको देशका नेपालसम्बन्धी दुइवटा उद्देश्य बताएका छन्, एउटा नेपालमा प्रजातन्त्रको पुनर्स्थापना गर्नु र दोस्रो माओवादीलाई सत्तामा आउन नदिनु। यही उद्देश्यअनुरुप मोरियार्टी माओवादी र दलबीच सहकार्य हुन नहुने बताउदै आएका हुन्। मोरियार्टी शुरुदेखि नै यो पनि भनिरहेका छन् कि सात दल र राजा मिल्नुपर्छ। सात राजनैतिक दलहरुले भने राजासगको सम्झौतालाई असम्भव बताउन थालेका छन्। पछिल्लोपटक राजदूत मोरियार्टी सोमबार कान्तिपुर दैनिक र दि काठमाण्डौ पोष्टलाई अन्तरवार्ता दिदै भनेका छन्- राजा र दलहरुको मेलमिलापको अर्को विकल्प छैन। राजा र दलवीच मेलमिलाप भएन भने देश तहस नहस हुन सक्दछ।
सात दलले माओवादीसग सहकार्यको कुरा गर्नु आफ्नै पूर्व अडान उल्लंघन गर्नु हो भन्ने अमेरिकी राजदूतको आरोप छ। माओवादी हत्या हिंसा नत्यागेसम्म दलहरुले सहकार्य नगर्ने बताउदै आएको मोरियार्टीको जिकिर रहेको छ। एमालेका कार्यवाहक महासचिव वामदेव गौतमले माओवादीसग सातदलले सहकार्य गर्नुपर्ने आशयको टिप्पणी गरेपछि त्यसको लगत्तै गत शुक्रबार अमेरिकी दूतावासले एक प्रेस वक्तव्य जारी गरेर दल र माओवादीबीचको सम्भावित गठबन्धनलाई 'त्रासदीपूर्ण बताएको थियो। यता कांग्रेस नेता नरहरी आचार्यले अमेरिकाद्वारा गरिएको दल-माओवादी सम्भावित सहकार्यको विरोधप्रति कडा आपत्ति जनाउदै माओवादीसग सहकार्य अहिलेको आवश्यकता हो भन्नुभएको छ।
अमेरिकी राजदूतले दल-माओवादीबीच बढ्न थालेको सहकार्यको संभावनाप्रति नकारात्मक टिप्पणी गरेपछि एमाले नेता बामदेवको पनि एकाएक स्वर बदलिएको छ। एमालेका कार्यवाहक महासचिव गौतमले सोमबार नै एक वक्तव्य प्रकाशित गरेर सशस्त्र संर्घष र निरंकुशता नत्यागेसम्म माओवादीसग संयुक्त मोर्चा वा सहकार्य हुन नसक्ने तर्क गरेका छन्।
अमेरिकाले आफ्नो आन्दोलनमाथि र्समर्थन जनाएकाले खुशी हुदै आएका दलहरु यतिखेर अमेरिकी हर्कतदेखि झस्किएका छन्। अब उनीहरु अमेरिकाले जे जे भन्यो त्यतै लागेर राजासग मिल्ने बाटोतिर लाग्दछन् या मुलुकको आवश्यकता बमोजिम माओवादीसग सहकार्य गरेर पूर्ण लोकतन्त्रका बाटोतिर लाग्छन्, त्यो भने हेर्न बाकी नै छ। मुलुकको भाग्य र भविश्यको फैसला अमेरिकी चाहनाले होइन, नेपालीहरुको आफ्नै निर्णयले हुने हो।