Nepal army kills dozen civilians, 19 injured
     
तस्विर: सागर श्रेष्ठ

काठमाडौं ,मंसीर ३०
 प्रसिद्ध पर्यटकीय स्थल नगरकोटको वडा नम्बर ७ चिहानडाँडामा रहेको कालीदेवी मन्दिरमा गए राती एक सैनिक जवानले कम्तीमा १४ र्सवसाधारणको हत्या गरेको छ। धान्यपूणिर्माको मेला भर्न आएका जनतालाई सेनाले अन्धाधुन्ध गोली हानेको थियो। १५ मिनेट जति लगातार गोली चलाएपछि गोली चलाउने सिपाही पनि घटनास्थलमै मारिएका छन्। उनलाई आक्रोशित जनताले उसकै बन्दुकले हानेर मारेको बताइएको छ। तर, स्थानीय वासिन्दाले त्यहाँ पुगेका अरु सेनाले नै घटनालाई कमजोर पार्न मारेको आशंका गरेका छन्। यो घटनामा अरु १९ जना र्सवसाधारण घाइते भएका छन्।
घाइतेमध्ये १६ जनाको बिरेन्द्र सैनिक अस्पताल, छाउनीमा उपचार भइरहेको सैनिक जनसर्म्पर्क निर्देशनालयले निकालेको बिज्ञप्तिमा लेखिएको छ।मृतकहरुको शव भने जिल्ला अस्पताल, भक्तपुरमा राखिएको छ।लास साँझसम्म पनि आफन्तलाई दिइएको छैन। त्यहाँ मृतकका आफन्त तथा र्सवसाधारणले आक्रोश व्यक्त गर्दै प्रदर्शन गरेका छन्।
मृतकहरुको लाश भक्तपुर अस्पतालमा राखिएको हुनाले यो क्षेत्र बिहानैदेखि तनावग्रस्त थियो। उनीहरुले मृतकको लाश माग्दै विरोध प्रदर्शन गरेका हुन्।उनीहरुमाथि प्रहरीले अश्रुग्यास हानेको छ।गए राती नगरकोटको कालीदेवी मन्दिरको मेलामा आएका केही र्सवसाधारण र स्थानिय वासिन्दा समेत रहेका सैनिक जवान बासुदेव थापाबीच नाच्दा खुट्टाले हानेको भनि सामान्य झगडा भएपछि घटनाले घातक रुप लिएको थियो।
ती सैनिकले स्थानीय युवतीमाथि हातपात गरेपछि स्थानीय युवाले गुण्डा सेनाको प्रतिकार गरेका थिए। झगडा भएको केही समयपछि सैनिक जवान थापाले नगरकोट ब्यारेकबाट बन्दुक ल्याएर अन्धाधुन्ध गोली चलाएका थिए। त्यसअघि उनले छुरा हानेर दिलीप तामाङ्लाई घाइते बनाइसकेका थिए। ती सैनिक जवान पहिलेदेखि नै स्थानीय जनतालाई अनेक गुण्डागर्दी गर्ने गरेको स्थानीय बासिन्दाले जानकारी दिएका छन्। 
मृतकहरुमा नगरकोट गाविसका भगवान तामाङ, आइते तामाङ, बुबा छोरी रामलाल नगरकोटी र नानु नगरकोटी, माया तामाङ, सुजन श्रेष्ठ, रामप्रसाद पन्थ, काले तामाङ, निरु तामाङ, दीपक तामाङ लगायत छन्। सैनिकको गोलि प्रहारबाट ५ वर्षीय दीपक तामाङ र ११ वर्षीय धमाई लामाको पनि मृत्यु भएको छ। यो संख्या अझै निकै बढ्न सक्ने बताइएको छ। घटनास्थलबाट राती नौ वटा एम्बुलेन्समा घाइतेहरुलाई ओसारिएको थियो। सैनिक अस्पतालमा राखिएका घाइतेहरुलाई सेनाले झुटो बयान दिन लगाएका छन्। हिम राइट्सले भेटेका घाइतेहरुले आफूहरुबीच नै कुटाकुट भएर घाइते भएको बताएका छन्। सैनिक जनसर्म्पर्क निर्देशनालयका अनुसार घाइते मध्ये ३ जना महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार गराएर घर फर्किइसकेका छन् ।
घटना भएको ठाउँमा राती नै सेना पुगेर सकेसम्म प्रमाण नष्ट गरेको छ । मानवअधिकार कर्मी तथा पेशागत संघसंस्थाका प्रतिनिधिहरुले नगरकोट घटनाको अध्ययन प्रतिवेदन सार्वजनिक गरेका छन्। उनीहरु आज बिहानै घटनास्थलमा पुगेर तथ्य संकलन गरेर फर्किएका थिए।प्रतिवेदनहरुले यो घटनालाई गैर न्यायीक हत्या भन्ने ठहर गरेका छन्।नगरकोट घटनाको छानविन गर्न सरकारले भने सर्वोच्च अदालतका पूर्व न्यायाधिश टोपबहादुर सिंहको अध्यक्षतामा ३ सदस्यीय छानविन समिति गठन गरेको छ।यो समितिलाई ५ दिन भित्रमा प्रतिवेदन बुझाउन आदेश दिइएको छ।
साथै सरकारले मृतकका परिवारलाई १ लाख ५० हजार क्षतिपूर्ति दिने र घाइतेको निःशुल्क उपचार गर्ने भएको छ।राष्ट्रिय मानव अधिकार आयोगले पनि सुरक्षाकर्मीबाट र्सवसाधारणको हत्या भएको घटनालाई गम्भीर रूपमा लिदैं अनुसन्धान शुरू गरेको छ। अनुसन्धानका सिलसिलामा आज आयोगका अधिकृतहरूको  टोलीले घटनास्थल, भक्तपुर अस्पताल तथा वीरेन्द्र सैनिक अस्पताल छाउनीमा पुगी लाशको अवलोकन गर्यो। टोलीले घाइतेहरूको अवस्थाको बारेमा जानकारी लिनुका साथै घटनाका प्रत्यक्षदर्शी, पीडितका परिवार, सुरक्षाकर्मी र अन्य सम्बन्धित व्यक्तिहरूसग समेत भेटी घटनाबारे जाचबुझ गरेको थियो। घटनाको विस्तृत अनुसन्धान जारी रहेको आयोगले जनाएको छ।
घटनाको छानबिनका लागि शाही नेपाली सेनाले पनि १ नम्बर बाहिनीका बाहिनीपति सहायक रथीको अध्यक्षतामा छानबिन टोलि गठन गरेको सैनिक जनसर्म्पर्क निर्देशनालयले जनाएको छ।साथै शाही नेपाली सेनाले घटनामा मृत्यु भएका व्यक्तिहरुको परिवार र घाइतेहरुलाई क्षतिपूर्ति दिलाउनको लागि तत्काल सरकार समक्ष लेखापढी गरिने जानकारी पनि दिएको छ।तर सेनाले आज बिहानै सरकारी रेडियो र टेलिभिजनलाई यो घटनालाई गलत ढंगले प्रचार गर्न सामग्री पठाएको थियो। सेनाले नगरकोटमा १२ आतंककारी मारिएको जनाएर विज्ञप्ति पठाएको थियो। तर त्यो विज्ञप्ति प्रसारण भने भएन।नगरकोटमा र्सवसाधारणको हत्या गरेको विरोधमा सात राजनितिक दलहरुले भोली काठमाडौं उपत्यका बन्दको घोषणा गरेका छन्।