Maoist-seven party alliance will continue

काठमाडौं, पुस ८
सरकारका कारण युद्धविराम भंग गर्ने संकेत माओवादीहरुले दिएपछि राजनितिदलहरुले भने माओवादीसंगको समझदारी नटुट्ने जानकारी गराएका छन्। एकतर्फी युद्धविरामलाई सरकारले वेवास्था गरेकाले सशस्त्र विद्रोही नेपाल कम्युनिष्ट पार्टी माओवादीले युद्धविराम भंग गर्ने संकेत मिलिरहेको बेला सात राजनीतिक दलले भने विद्रोहीसित आफ्नो समझदारी कायमै रहने बताएका छन् । राजधानीमा आज आयोजित कार्यक्रममा राजनीतिक पार्टीका नेताहरुले त्यस्तो जानकारी दिएका हुन्।

एमाले स्थायी समितिका सदस्य केपी शर्मा ओलीले दल-माओवादी समझदारी युद्धविराम भंग भए पनि कायम रहने बताए । उनले समझदारी हिंसात्मक द्वन्द्वका लागि नभए चाहिँ प्रष्ट पारे । ओलीले नगर निर्वाचन जनताबाटै बहिष्कार हुने दावी गर्दै भने--तर, सुरक्षा घेराभित्र बिना परिचयका मतदाताबाट मत खसाल्ने कसरत राज्यले गरिरहेको छ । कांग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले राज्यले समझदारी पत्रलाई नकारात्मक ढंगबाट व्याख्या गरेर माओवादीलाई भड्काईरहेको आरोप लगाए । युद्धविराम लम्ब्याउन र हिंसात्मक बाटो नसमात्न विद्रोहीलाई आग्रह गर्दै उनले पनि युद्धविराम भंग भए पनि सात दलको सहमति यथावत् रहने जानकारी दिए।प्रजातान्त्रिक काग्रेसका केन्द्रिय सदस्य डा. नारायण खड्काले युद्धविराम भंग भए पनि दुबै पक्षको संर्घषका कार्यक्रम समझदारीकै आधारमा संचालन गरिने बताए।