दस्तावेज-
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू
आज हाम्रो देश गम्भीर संकटको अवस्थामा छ। यो अवस्था राजाको सर्वसत्तावादी निरंकुश शासक बन्ने अति महत्त्वाकांक्षा र उनका जनविरोधी क्रियाकलापबाट उत्पन्न भएको हो । जनताको चाहनाको उचित सम्मान गर्न र देशमा शान्ति कायम होस् भन्ने राजा चाहँदैनन्, उनी एक नेपालीबाट अर्को नेपालीको हत्या भइरहोस् र नेपाली नेपालीबीचको भिडन्तले सृजित अशान्तिको आडमा निरंकुश शासन लम्ब्याइरहुँ भन्ने मात्र चाहन्छन्। राजा ०४६ सालको जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई समाप्त गर्दै मुलुकमा आफ्नो हुकुमी र स्वेच्छाचारी शासन लाद्न चाहन्छन्। राजाको आजसम्मको सबै क्रियाकलापले यिनै कुरालाई प्रस्ट गरेको छ। होइन भने माओवादीले युद्धविराम गरेर आन्दोलनरत सात राजनीतिक दलहरूसँग समझदारी गर्दै पूर्ण लोकतन्त्र र शान्तितिर र्फकने चाहना राख्दा त्यसलाई हरतरहले बिथोल्ने प्रयास गर्ने थिएनन्। लामो समयदेखि सशस्त्र संघर्षमा संलग्न माओवादीलाई शान्ति र मेलमिलापतिर प्रवृत्त गराउन लागेका राजनीतिक दलहरूलाई अनेक अनर्गल र अवाञ्छित लान्छना लगाउने आतंककारीको मतियार भनाउने जस्ता निकृष्ट एवं देशघाती कार्य गराउने थिएनन्। राजाले प्रतिगामी कदम सुरु गरेपछि मुलुक दिन प्रतिदिन अकल्पनीय अशान्ति र अराजकतातिर धकेलिएको छ। नेपालका सम्पूर्ण मित्रराष्ट्रहरू तथा संयुक्त राष्ट्रसंघजस्ता निकायहरूले राजाको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरिरहेका छन्। राजा राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा एक्लिएका छन्। तर राजाले यी सबैप्रति कुनै सरोकार देखाएका छैनन्। देशको हित र प्रतिष्ठाको निम्ति यो एक अत्यन्तै चिन्ताको विषय हो । यस्तै स्थिति कायम रहिरहे हाम्रो देश विश्व समुदायबाट एक्लिएर घोर अन्धकारतिर धकेलिने खतरा प्रत्येक दिन बढिरहेको छ। देशको पर्यटन व्यवसाय र उद्योग धन्दाहरू पूर्णतया बन्द हुँदैछन्। कृषि र अरू रोजगारीका अवसरहरू समाप्त भएका छन्। गाउँ-गाउँबाट युवाहरू पलायन भएर विदेशमा अति दयनीय जीवनयापन गर्न बाध्य भइरहेका छन्। कतिपय पहाडी जिल्लाका जनताले खाद्यान्नको अभावमा भोकभोकै रहनुपरेको छ। भ्रष्टाचार, कुशासन र मानवअधिकार उल्लंघनका अनेकौं घटनाले मुलुक क्षतविक्षत र आक्रान्त भइरहेको छ। यति ठूलो र भयावह संकट यसभन्दा पहिले, यसरी कहिले पनि मुलुकले बेहोर्नुपरेको थिएन। तर एकछत्र शासक भएका राजालाई देशको यो दुर्गतिप्रति अलिकति पनि चिन्ता छैन। उनी गरिब देशको राजस्व खर्च गरेर अनावश्यकरूपमा अत्यन्त महँगो एवं विलाशी भ्रमण गरिरहेका छन् र देशलाई सैनिकीकरणतर्फ धकेलिरहेका छन्। समग्रमा राजा देशमा शान्ति, लोकतन्त्र र समृद्धिको बाटोमा अवरोध भएका छन्। राजाका प्रत्येक चरित्र र कामकारबाहीले राजा महेन्द्रको सर्वसत्तावादी नीतिलाई अनुशरण गरिरहेको छ। नेपालमा पनि जनप्रतिनिधिको शासन छ भन्ने अन्तर्राष्ट्रिय जगतलाई देखाउन राजा महेन्द्रले पञ्चायती निर्वाचनको नाममा कुनै जनाधार नभएकाहरूलाई जिताएर ल्याउने नाटक गरेका थिए। अहिले यी राजाले पनि त्यही निर्दलीय निरंकुशकालका जनविरोधी एवं देशघाती तत्त्वलाई आफ्नो सहयोगी बनाएर अन्तर्राष्ट्रिय जगत्लाई देखाउनमात्र निर्वाचनको नाटक मञ्चन गर्न, गराउन लागेका छन् तर यस्ता कृत्रिम कुराले कुनै पनि मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायलाई भ्रममा पार्न सक्दैन। तीनपटक संसदीय निर्वाचनमा र दुईपटक स्थानीय निर्वाचनमा स्वतन्त्रतापूर्वक आफ्नो मताधिकार प्रयोग गरिसकेका जनताले यो नाटकीय निर्वाचनमा आफ्नै हक र हितविरुद्धको पात्र भएर आफ्नो देश, आफू तथा आफ्ना सन्ततीका भलाइलाई आफैं कुठाराघात गर्न सक्दैनन्। आज निर्विघ्नरूपमा जनताले आफ्नो प्रतिनिधि छान्न नसक्ने अवस्थामा राजा किन नगरपालिकाको निर्वाचन गराउन उद्यत छन् र यसलाई प्रत्येक चेतनशील नेपालीले गम्भीर भएर सोच्नुपर्छ। राजा निर्वाचन भनेको सेना र प्रहरीको घेराभित्र हुने नाटक हो भन्ने मान्यतामा आधारित भई स्वतन्त्र निर्वाचन प्रणालीलाई नै समाप्त पार्न चाहन्छन्। निरंकुश शासक बन्ने चाहनामा नेपाली जनतासँग निहुँ खोजेर नगरकोट र अरू कतिपय ठाउँको जस्तै निहत्था जनतालाई गोलीको निशाना बनाउन चाहन्छन्। आज नियम, कानुन, संविधान आदि सबैलाई लत्याएर राजा एकतन्त्रीय हुकुमी शासन सञ्चालन गरिरहेका छन्। यही निर्वाचनको नाटकबाट ल्याइने तथाकथित जनप्रतिनिधिबाट उनी निरंकुश राजतन्त्रलाई वैधानिकता दिलाउन खोजिरहेका छन्। निरंकुश राजतन्त्रअन्तर्गत हुने कथित निर्वाचनले मुलुकको समस्या समाधान गर्दैन, बरु यसले मुलुकलाई अझ बढी अशान्ति र अस्थिरतातर्फ धकेल्ने र स्थितिलाई थप जटिल बनाउँदै देशलाई अरू गम्भीर संकटग्रस्त अवस्थामा पुर्याउने प्रस्ट छ। यसरी राजा र उनका सहयोगीहरूले यो निर्वाचनलाई देशको हित र जनताको अधिकारलाई निर्ममतापूर्वक तहसनहस पार्ने हतियारका रूपमा प्रयोग गर्न लागेका बेला यो देशको इतिहास र भविष्यले हामी सबैलाई आफ्नो कर्तव्यप्रति सचेत रहन घचघच्याइरहेको छ। निरंकुश राजतन्त्रलाई मजबुत बनाउन र जनतालाई कमजोर पार्न प्रयोग गरिने राजाको यो निर्वाचन हतियारलाई यसरी आफ्नै घाँटीमा हामीले प्रहार हुन दिने कि नदिने र मुलुकलाई समग्ररूपमा छिन्नभिन्न पारेर गृहयृद्धमा होम्न लागेको यो षड्यन्त्रलाई हामीले हेरिमात्र रहने कि कडा प्रतिकार गर्ने ? तसर्थ देश, जनता र प्रजातन्त्रका विरुद्ध नियोजित षड्यन्त्रका रूपमा घोषणा गरिएको कथित निर्वाचनलाई सक्रियतापूर्वक बहिष्कार गर्दै असफल बनाउनुबाहेक अर्को विकल्प छैन। यसक्रममा सात दलसँग सम्बन्धित कुनै पनि सदस्य कथित निर्वाचनमा उम्मेदवार बन्ने, प्रस्तावक-समर्थक- प्रचारक हुनेलगायत निर्वाचनको प्रक्रियामा सहभागी भएमा निजलाई कम्तीमा ५ वर्षका लागि सम्बन्धित पार्टीबाट निष्काशन गरिनेछ। साथै आमनेपाली जनता र विश्व समुदायबाट बहिष्कृत बन्दै गइरहेको निरंकुश राजतन्त्रको रक्षा कवज बन्ने र लोकतन्त्रविरोधी कित्तामा खडा भएर जनताको घृणाको पात्र बन्ने यो कथित निर्वाचनमा भाग नलिन सबै नेपाली दिदीबहिनी तथा दाजुभाइमा हामी हार्दिक आह्वान गर्छौं। देशको शोषण दमन गरेर विदेशी बैंकमा अथाह सम्पत्ति थुपार्नेहरूलाई देशको कुनै माया हुँदैन। तर यो देशको हितमा जसको हित अन्तरनिहित हुन्छ, उसको भविष्य यही देशसँग गाँसिएको हुन्छ। त्यसैले राजाले आफ्नो सारा असंवैधानिक, अप्रजातान्त्रिक, तानाशाही कामकारबाहीलाई समर्थन गराउन घोषणा गरिएको यो निर्वाचनलाई सक्रियतापूर्वक बहिष्कार गरी आफ्नो देशप्रतिको निष्ठा र कर्तव्यलाई पूरा गर्नु सबै देशभक्त र प्रजातन्त्रवादीहरूको पुनित कर्तव्य भएको छ। हामी निरंकुश राजतन्त्रको अन्त्य गरेर पूर्ण लोकतन्त्र स्थापना गर्ने आन्दोलनमा समाहित छौं। यसका लागि आन्दोलनको शक्तिले संसद् पुनःस्थापना गर्ने र त्यसको निर्णयले सर्वदलीय सरकार बनाउने, माओवादीसँग वार्ता गर्ने र सहमतिको आधारमा संविधानसभाको निर्वाचन गरी सार्वभौमसत्ता र राजकीय सत्ता पूर्णरूपले जनतामा स्थापित गराउने शान्तिपूर्ण जनआन्दोलनमा पूर्णप्रतिबद्ध छौं। सशस्त्र द्वन्द्वको अग्रगामी राजनीतिक निकासद्वारा समाधान गरेर देशमा शान्ति बहाली गर्न हामी पूर्णकटिबद्ध छौं। तसर्थ निरंकुश राजतन्त्रको अन्त्य गर्न, संविधानको गलत व्याख्या र प्रयोग गर्दै राजाले चलाएको प्रतिगामी षड्यन्त्रलाई परास्त गर्न, संयुक्त जनआन्दोलनबाट पूर्ण लोकतन्त्र र शान्तिबहाली गर्न, राज्यको पुनर्संचना गरी समावेशी र सहभागीमूलक पूर्णप्रजातन्त्रको स्थापना गर्न, सात दल र माओवादीबीच भएको १२ बुँदे समझदारीलाई अझ ठोस र प्रस्ट बनाउँदै कार्यान्वयन गर्न कथित नगरपालिकाको निर्वाचनलाई शान्तिपूर्ण तरिकाबाट सशक्त र प्रभावकारी ढंगले सक्रिय बहिष्कार गर्दै जनआन्दोलनलाई नयाँ उचाइमा लैजान सम्पूर्ण देशवासी दिदी-बहिनी, दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौं । नेपाली कांग्रेस- सभापति, गिरिजाप्रसाद कोइराला नेकपा -एमाले- महासचिव, माधवकुमार नेपाल नेपाली कांग्रेस -प्रजातान्त्रिक- का.वा. सभापति, गोपालमान श्रेष्ठ जनमोर्चा, नेपाल- अध्यक्ष अमिक शेरचन नेपाल मजदुर किसान पार्टी- अध्यक्ष, नारायणमान विजुक्छे नेपाल सद्भावना पार्टी -आनन्दीदेवी- राष्ट्रिय उपाध्यक्ष, भरत विमल यादव संयुक्त वाममोर्चा नेपाल- अध्यक्ष, कृष्णदास श्रेष्ठ मिति ०६२ पुस १४ गते
|
|
||||||||||||||||||||||||||||||||||||||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
चुनाव बहिष्कार गर्न सात दलको अपिल
Comments
No comments found.
Trackbacks
TrackBack URL: Weblogs that reference this article:
|
This Month
Month Archive
|
||||||||||||||||||||||||||||||||||||||