Satire on King's birthday special
The most democratic leader of the world!
Rachana Sharma
श्री ५ महाराजधिराज ज्ञानेन्द्रबाट नेपाली जनता र देशको भलाइकालागि राष्ट्रको सम्पूर्ण शासन आफ्नो हातमा लिइबक्सेको पांच महिना पुरा भएछ । माघ १९ गते शासनसत्ता आफनो हातमा लिइबक्सदां मौसुफबाट तिन बर्षभत्रमा राष्ट्रलाई संकटबाट मुक्त गरिबक्सने हुकुम भएको थियो । आज त्यो कुरा व्यबहारिक रुपमा क्रमश पुष्टि हुदैंछ । किनकी मौसुफले शासनभार लिइबक्सेपछि ३३ प्रतिशत समस्या त दिन र रात नभनीकन गरेको कामबाट समाधान भैसकेको छ । बांकी ६० प्रतिशत अब सजिलै दूइ बर्षभत्रमा पुरा हुनेछ ।
बषौंदेखि भ्रष्टाचार र लुटको जरै उखलेर फाल्न श्री ५ अति कटिबद्ध होइबक्सन्छ । त्यसैले श्री ५ बाट आफ्नै पहलमा भ्रष्टाचार नियन्त्रण शाही आयोग गठन गरिबक्सेको हो । यस आयोगको गठन पश्चात श्री ५ ले धेरै भ्रष्टाचारीको संपत्ती निष्पक्ष ढंगले छानबिन गरेर कार्बाही गरिबक्स्यो। कतिसम्म भने आफ्नै नातेदार शेरबहादूर देउवालाईपनि छोडिबक्सेन । देउवा मात्र होइन संपत्ती जाचबुझ आयोगको बिवरणमा समेत नपरेका अन्य भ्रष्टाचारीहरुलाई शाही आयोग मार्फत दण्ड दिएर श्री ५ ले ठूलो नाम कमाइबक्सदै छ । जसको प्रचार प्रसार अन्तराष्ट्रिय क्षेत्रमा समेत भएको छ । श्री ५ को यस्तो महान कार्यमा सहयोग पुर्याउन दरबारीया भारदारहरु तुलसी गिरी, श्री ५ का मामा शुशिल समसेर जबरा, माइजु चन्द्रकला आंचल , ज्वाईं कुमार मोहनबहादूर शाही , भान्जी दिदी रजनी चन्द र उनकापति दिवाकर लगायतले अर्बौंको ऋण बैंकलाई नतितेर ठूलो सहयोग गरेका छन् ।
सरकारले लागु गरेको २१ बुंदे कार्यक्रम त झन सम्पूर्ण नेपालीकालागि अति उत्साहबर्द्धक रह्यो । यि कार्यक्रमहरुको सफल कार्वान्वयनले काठमाडौ छिटै अन्तराष्ट्रिय मापदण्डमा पर्छ भन्ने कुरा त लाटालाईपनि थाह छ । के शिक्षा, के स्वास्थ्य, के खानेपानी सबैतिर उत्तिकै रुचि राखेर श्री ५ बाट बनाइबक्सेका कार्यक्रम मार्फत भारदारहरुलाई राम्रो ब्यबस्था गरिबक्सेबाट काठमाडौमा अमन कायम हुनेछ भन्ने कुरामा पूर्ण बिश्वास गर्न सकिन्छ ।
बहुदलिय प्रजातन्त्र र संबैधानिक राजतन्त्रमा मौसुफ कति कटिबद्ध होइबक्सन्छ भन्नेकुरा त अन्तराष्ट्रिय मन्चहरुमा मौसुफबाट व्यक्त गरिबक्सेका सारगर्वित भाषणबाट प्रष्ट हुन्छ । आफ्ना दाजुबाट शुरु भएको प्रजातन्त्रको सुद्रिढिकरणको इतिहासलाई निरन्तरतादिन मौसुफले कति मात्र दुख झेलिबक्सेन - मौसुफको दुख संझेर जो कोहि नेपालीका आंखाबाट आंशुका धारा छुट्ने गर्छन् । चाहे दरबार हत्याकाण्डमा मौसुफले पाएको दुख, चाहे वर्तमानको दुख, साच्चै मौसुफ धैर्यताका प्रतिक र प्रजातन्त्रका धरोहर होइबक्सन्छ । मौसुफले चाहे इण्डोनेशिया, चाहे कतार , चाहे मुलुकभित्र, चाहे बाहिर बोलेर हुन्छ कि, फकाएर हुन्छ प्रजातान्त्रिक परिपाटीमा आमुल परिवर्तन ल्याउन के गरिबक्सेको छैन ? हतियार बिना प्रजातन्त्र दह्रो हुन्न भन्ने कुरा मौसुफलाई अति ज्ञान भएकोले मुलुकका हतियारबिनाका आतंककारी सिध्याउन अस्ति भर्खर चीनबाट एक खेप हतियार भित्रियो । हालै मौसुफले प्रजातन्त्र रक्षाकालागि एक्लै भएपनि लड्ने र मुलुकको आन्तरिक समस्या आफै समाधान गर्ने अठोट व्यक्त गरिबक्सेको छ । र बिदेशी हस्तक्षेपबाट मलुकलाई जोगाइबक्सेर जनतालाई हौसला प्रदान गरिबक्सेको छ ।
जनताका कुरा सुनेरै मौसुफले इतिहासमा ठगिएका अपहेलित भएका व्यक्तिहरुलाई समाबिष्ट गरेर ठगिएका जनतालाई प्रजातन्त्रको मुल प्रबाहमा सामेल गरिबक्सेको छ । चाहे तुलसी गिरी , चाहे प्रकाश कोइराला , चाहे गोल्छे सार्की, चाहे सच्चित शमशेर । सबै जनामाथि कुनै न कुनै समयमा बज्रपात परेको थियो । उनीहरुको भाग खोसिएको थियो । मुल प्रबाहबाट उनीहरु गलत्यायिएका थिए । त्यसैले राष्ट्रले बिर्सनै नहुने यि पिछडिएका र ठगिएका नागरिकलाई मन्त्रीमण्डलमा समाबेस गरेर मौसुफले समाबेशी प्रजातन्त्रको उच्च अभ्यास गरिबक्सेको छ । परिणाम स्वरुप वर्तमान मन्त्रीमण्डललाई कसैलेपनि कठै भनेको छैन बरु मन्त्रीमण्डलका सबै सदस्यहरुले त जनताबाट वाह वाह र ताली पाएका छन् ।
प्रजातन्त्रको सुद्दिकरण अभियानमा श्री ५ ले के गरिबक्सेन र ? संकटकाल घोषणा गरिबक्स्यो । देश संकटमा भएका बखत नागरिकहरुले जथाभावी बोलेर कुरा बिगारीदिने डरले नागरिक अधिकारमाथि प्रतिबन्ध लगाइबक्स्यो । देश हत्या र हिंसाबाट गुज्रेकाबेला जस्तो सुकै असुविधा पनि भोग्न पर्छ भन्ने सोचेर सुपुत्रलाई जम्मा ६० लाख पर्ने मोटरसाइकल किनिबक्स्यो । यूवराज बादल र कुहिरो फाटेका बेला त्यहि भिर चढ्ने भडभडेमा चढेर नेपालका नगरकोट जस्ता दूर्गम भेगहरु पुगेर जनताका पिर मर्का बुझिबक्सन्छ ।
मौसुफ एक कर्मठ , कर्तब्य परायण राजामात्र नभएर राष्ट्र, राष्ट्रियता र मातृभूमीको रक्षामा दिलोज्यान दिइबक्सन्छ । त्यसैले माघ १९ पछि नेपालले जम्मा कालापानी बाहेक अरु जमीन गुमाएन । जनताले त्यो कुरामा चित्त दुखाएपछि मर्माहत होइवक्सेका मौसुफले तुरुन्त नेपाल, भारत र चीन बिचको सिमाना र चीन तथा भारतको सन्धि पत्र हेरिबक्स्यो । सन्धिपत्रमा कालपानी भन्ने शब्द नभएकोले जनताले चित्त दुखाउन नर्पने भनि हुकुम भो । नेपाल भारत सिमामा भारतले सडक बाहेक अरु नखनेर उदारता देखाएका कारण मौसुफ शिंह झैं गर्जिबक्सेको छैन । त्यसैले नेपालको केहि लाख हेक्टर जमिन बाहेक अरु डुबेको छैन । मौसुफले भारत र चीन जस्ता ठूला मित्रसंगको मित्रतामा सानातिना कुराको ख्याल गर्न उचित नहुने ठानेर नै शिंहको गर्जन नगरिबक्सेको हो । बरु आजकाल मौसुफले कमिलाको जस्तो मित्रता र सौहार्दता रुचाइबक्सेकोले कमिलाको जस्तै चाल अपनाइबक्सेको छ भन्ने कुरा भारदारहरुबाट व्यक्त भएको छ ।
नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक राज्य हो । यो मुलुकमा ९१ भाषा र एक शय जातजाती तथा जनजातीका मनिसको बसोबास छ । यस्तो बिबिधता भएको मुलुकमा श्री ५ हिन्दूका एक मात्र सम्पूर्ण राजा होइबक्सन्छ ।
प्रकृतीप्रेमी राजा भनेर चिनिने भएकोले नेपालको प्रकृती संरक्षणमा त शाहवंशिय राजाहरुमध्ये र्सबाधिक लोकप्रिय राजा होइवक्सेको छ । मौसुफकै अथक प्रयत्नले हुनपर्छ अघिल्लो बर्ष ५ शय ४६ को संख्यामा रहेका गैंडा घटेर यो वर्ष ३ शय ७२ मात्र बांकी छन् । मौसुफले बडो माया गर्ने गरेको महेन्द्र प्रकृती संरक्षण कोष भने गैडा बस्ने चितवन राष्ट्रिय निकुन्जमा कार्यरत छ । श्री ५ को सो संस्थाले त झन गत बर्षेखि बाघ र गैंडाको संरक्षणकालागि बिशेष कार्यक्रम ल्याएको छ । यस्तो किन भको होला ? बाघ कराउनु र बाख्रा हराउनु यो पक्कै संयोगमात्रै त होइन होला ।
मौसुफ जि शाहका नाममा कविता रचना गरिबक्सन्छ भन्ने कुरा त नेपालीका जनजिभ्रोमा भिजेका मर्मस्पि कविताहरुबाटै थाह हुन्छ । लक्ष्मी प्रसाद देवकोटाको यात्री कविता के कविता ? न त लेखनाथ पौडेलकै चरीको बिलाप के कबिता ? कहांका गोपाल प्रसाद रिमाल , कहांकी पारिजात । श्री ५ का कुनै न कुनै मर्मस्पर्सी कविता जनजिभ्रोमा लोकगीत सरह झुण्डनुले मौसुफको कवि हृदयको जति प्रसंसा गरेपनि पुग्दैन । त्यसैले मौसुफका राष्ट्रिय मात्र नभएर अन्तराष्ट्रिय फांटमापनि प्रसस्तै साहित्यिक रचनाहरु पाइने गरेका हुन् र अन्तराष्ट्रिय स्तरमापनि मौसुफको साहित्यिक व्यक्तित्वको चर्चा हुने गरेको हो ।
पत्रकारीताप्रति श्री ५ को रुचि त झन बिशिष्ठ किसिमको छ । राजदरवारबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित हुने रमझम पत्रिकाको सम्पादन मण्डलका अध्यक्ष समेत बनिबक्स्यो । पत्रकारिताले नै मौसुफलाई राजमुकुट प्रति सवै बफादार रहनै पर्छ भन्ने कुरा सिकाएको हो । पत्रकारितामा मौसुफको यहि रुचिका कारण अहिले राज्यले अथाह प्रेस स्वतन्त्रता पाएको छ र पत्रकारहरु त्यसको खुसीमा सिठ्ठी फुक्दै हिडेका हुन् र समाचारकोलागि भोट हाल्दै हिडेका हुन् । गोरखापत्र चाहि गोर्खापत्र त्यहि भएर बनेको हो । गोर्खापत्र दरबारमा नछापिने गरेको र साप्ताहिक नबनेको पनि त्यहि भएर हो । भने मौसुफ आफै गोर्खापत्रको संपादक नबनिबक्सेकोपनि त्यहि भएर हो । पत्रकारिता प्रतिको यस्तो लगावका कारण मौसुफले गोरखापत्रलाई दरबार बाट निकाल्न आबश्यक ठानीबक्सेको छैन । समाचार पत्रहरु राज्य र राष्ट्रमुकुटप्रति बफादार बन्नुपर्ने दूरदर्शी निर्णयका कारण अहिले सबै समाचार माध्यमहरु राज्यकेन्द्रित भएकापनि त्यहि भएर हो ।
हरेक नेपालीको घरमा शान्ति र सुरक्षा ल्याउन भनेरै शाही नेपाली सेनाका परमाधिपति आफै होइबक्सेको हो । श्री ५ यो गरिमामय पदमा आसिन भएपछि जम्मा एक हजार भन्दा बढीले ज्यान गुमाउन परेको छैन । आफ्नालाई काखा र अरुलाई पाखा पार्नै काम नगरी मौसुफ हरेक नेपालीको ज्यू ज्यानको सुरक्षाकालागि कटिबद्ध होइबक्सन्छ भन्ने कुरा त गायक प्रविण गुरुङ्गको हत्या र र्सार्बजनिक स्थानमा आतंक फैलाउने काममा दोषी यूवराज पारसलाई गरेको कारबाहीबाट प्रष्ट हुन्छ ।
मौसुफ आफ्नो देशको समृद्धि र विकासमा उल्लेखनिय काम गर्ने व्यक्तिलाईपनि उत्तिकै कदर गरिबक्सन्छ । देशका कर्मठ व्यक्ति को हुन् भन्ने कुरा दूधको दूध पानीको पानी छुट्टाएर जन्मजयन्तिमा ८ शय व्यक्तिलाई विभूषित गरेबक्सेबाट थाहहुन्छ ।
त्यसैले हरेक नेपालीको आंशु पुछ्ने, सबै नागरिकको दुख सुखलाई आफ्नै दुख सुख ठान्ने यस्ता महान, त्यागी, राष्ट्रप्रेमी, सहनशिल, निडर, मृदुभाषी, कविहृदयी, दृढ, दूरदर्शी, कुटनीतिक चार्तुयता सबै भएका र ३२ सै लक्षणले युक्त महान र प्यारा राजाको जन्मदिन साउन ७ गतेसम्म मात्रै मनाएर पुग्दैन । यो जन्मदिन बर्षभरी मनाउनु पर्छ र ७९ मूलसमिति बिस्तार गर्नुपर्छ भने सदस्य संख्यापनि २ हजार ६ शय ५६ जनाबाट बढाउनु पर्र्छ । यस्ता महान राजा एक वर्षमात्र होइन हजार बर्षबाचिरहुन् । हामी नेपालीको शुभकामना ।
लेखक नेपाल पत्रकार महासंघका सदस्य हुन् । उनले पनि आफ्नो नाम फेर्न चाहे ।