Blast Daily receives threats.


धरान, असार १५ - माओवादीले धरानबाट प्रकाशित ब्लाष्ट टाइम्स दैनिकलाई निरंकुश राजा ज्ञानेन्द्रका केही शाही दलालहरुद्वारा चलाइएको पीत पत्रकारिता नगर्न भन्दै चेतावनी दिइएको छ ।
केही दिन अगाडि उक्त पत्रिकाको एक अंकमा "माओवादीको स्थानीय नेतृत्व परिवर्तन" भन्ने शिर्षमा प्रकाशित समाचारले माओवादी पार्टी केही 'जिम्मेवार कमरेडहरुको' चरित्र भएको आरोप सहित माओवादीले स्वन्त्र पत्रकारिताविरुद्ध यसरी धावा बोलेको हो ।
ब्लाष्ट टाइम्सले जनविरोधी हर्कतहरुलाई संस्थागत गर्दै लगिरहेको र यस प्रकारको आपराधिक क्रियाकलापहरुले ब्लाष्ट टाइम्सका केही शाही दलाल एवं अपराधिक व्यक्तिहरुको पत्रकारिताको मुकुण्डो च्यातेर आम जनमासको बीचमा गम्भीर कार्वाही गर्नु पर्ने परिस्थितिको सिर्जना हुने चेतावनी समेत माओवादीले निकालेको जनविरोध भन्ने पत्रिका मार्फत दिएको छ ।
माओवादीले उक्त समाचारको खण्डन गर्न र आइन्दा त्यस्तो समाचार प्रकाशित नगर्न उक्त पत्रिकाका सम्पादक/प्रकाशकलगायत एवं सबैलाई उर्दी जारी गरेको छ ।
उक्त पत्रिकालाई राज्यले पनि उत्तिकै हैरान पारिरहेको बेला माओवादीले यो चैतावनी दिएको छ । अहिले पनि माओवादीले इलामका पत्रकार सोम शर्मालाई अपहरण गरेर राखेका छन् भने त्यहींका अर्का पत्रकार उमेश गुरुङ्गलाई ४० दिन घरमै नजरबन्दमा राखेपछि पत्रकारहरुको टोलीले गएर छुटाएर ल्याएको छ । उनलाई माओवादीले दुइ महिनाभित्र पत्रकारिता नै छोडेर माओवादीमा भर्ती हुन धम्की दिएका छन् ।