I am not more than an employee-Dr.Giri
म उपाध्यक्षको जागिरे मात्र हुं- डा गिरी

काठमाडौं असार २२ । मन्त्रीपरिषदका उपाध्यक्ष तुलसी गिरीले आफू अझै पनि संवैधानिक राजतन्त्र र वहुदलीव्यवस्था प्रति आस्थावान नभएको बताएर आफ्नो वास्तविक अनुहार नेपाली जनतासमक्ष देखाएका छन् । आज सांझ आयोजना गरेको अनौपचारीक पत्रकार भेटघाटमा उनी बोल्दैथिए ।
डा गिरीद्धारा उनकै निवासमा बुधबारसांझ आयोजित अनौपचारिक पत्रकार भेलामा उनले भने -म अहिले वास्तवमा एकदमै निरास छु, किनकि यतिबेला राजादेखि सबै पार्टीहरु संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको कुरा गर्छन् तर म भन्छु - राजतन्त्र कहिल्यै पनि संवैधानिक हुन सक्तैन ।
उनको भनाइमा संवैधानिक राजतन्त्र भनेको राजतन्त्रको विकृत रुप हो । त्यसैगरी उनले राजतन्त्र निरंकुश पनि नहुने दावी गर्दै केवल राजतन्त्र राजतन्त्र बाहेक केही नहुने पनि बताए ।
गिरीले प्रष्ट शब्दमा भने -पञ्चायती व्यवस्थामा पूर्ण प्रजातन्त्र थियो । तर अहिलै सारा जनता, पार्टी र स्वयं राजाले पनि संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र को कुरा गरिरहेको बेलामा निर्दलीयताको कुरा अहिले उठाउन सकिन्न ।
आफ्ना कतिपय विचारहरु राजाकै कारणले कार्यान्वयनमा नआउने सम्भावना रहेकोभनि निरासा व्यक्त गर्नै गिरीलाई त्यसो भए तपाइ जस्तो आउट डेटेड व्यक्तिलाई राजाले उपाध्यक्ष बनाएकोमा दुख लागेको छैन त ?- भन्ने प्रश्नको भने गिरीले जवाफ दिएनन् ।
राजाकै विचारमा सहमत नहुने हो भने उपाध्यक्ष कसरी बसिरहन मिल्छ त ?- भन्ने प्रश्नमा गिरीको जवाफ थियो - म त राजाको कर्मचारी मात्र हु , अब मेरो आफ्नै विचार छैन । राजाले भनेको मात्र गर्ने हो ।
माओवादीबारे राखिएको प्रश्नमा भने उनले पूरानै अडान दोहराउंदै भने- विश्वमा कतै पनि वार्तावाट शान्ति भएको छैन, त्यसैले हामी वार्ता बाटै मात्र शान्ति हुन्छ भन्ने कुरामा विश्वास गर्दैनौं । माओवादी आफैले हतियार विसाएर आएको खण्डमा भने वार्ता सम्भव पनि छ ।
त्यसैगरि गिरीले अमेरिका आफैले जेनेभा सन्धी मा हस्ताक्षर नगरेकाले कुनै पनि मुलुकलाई मानवाधिकारको पाठ सिकाउने हैसियत नराख्ने पनि बताए । अहिले विश्वमा सबै भन्दा बढी मानवअधिकारको हनन भएको मुलुक अमेरिका हो ,खोई कसले उठाउछ त्यस्को बारेमा आवाज ?-
आफूहरुलाई धेरै वटा मन्त्रालयको भार परेकोले अब चांडै मन्त्री मण्डलको विस्तार हुने पनि उनले बताए । तर , उनले त्यसको थप स्वरुप कस्तो हुने भन्नेवारेमा भने बताउन चाहेनन् ।