Big debeats today at the RNA headquarter

काठमाण्डौ संवाददाता साउन २६

कालिकोट जिल्लाको पिलीमा माओवादीले भिषण आक्रमण गरेर २ सय २७ जना सैनिकहरुलाई पराजित गरेपछि शाही नेपाली सेनाको हेडक्वाटरमा खैलाबैला मच्चिएको छ । पिली घटनाको भोलिपल्ट मंगलबार दिउ“सो दुइ बजे सेनाको युद्ध कार्य विभाग (डिएमओ) हलमा डिएमओका प्रमुख किरणसमशेर थापाले ब्रिगेडियर जनरल नरेश बस्नेतलाई बोलाएर धतुरो झारेका छन् ।
श्री ५ का पञ्चायतकालीन सैनिक सचिव ऋषिकुमार पाण्डेका ज्वाइ पर्ने नरेश बस्नेत सेनाभित्रका अरबपति हुन् । बस्नेतको काठमाण्डौं विशालनगरस्थित घरमा स्वमिङ पुलसमेत छ । यिनै बस्नेतले ठेक्का पट्टाबाट ठूलो धनराशि हात पार्ने उद्देश्यले पिलीमा पूर्वाधारबिनै सेना र हतियार थुपारेको पत्ता लागेपछि थापाले उनलाई हप्काएका हुन् ।श्रोतका अनुसार थापाले बस्नेतलाई हलभित्रै हप्काउदै भने- 'तिमी मनपरि गर्ने - पूर्वाधारै नबनाई किन हतियार थुपार्न लगायौ ? आर्मीलाई किन त्यहा“ पठायौ ? तिमी आर्मीलाई मराउने, हतियार लुटाउने, अनि आफूचाहि“ पैसा कमाउने ? त्यहा सेना थुपारेर कति कमायौ ?
बस्नेतले मौन रहेर थापाको गाली सुनेका थिए । भिडन्तमा ठूलो मात्रामा हतियारहरु गुम्नुका साथै ठुलो मात्रामा सैनिकहरु हताहत भएकाले यसबाट अन्तरराष्ट्रमा समेत नराम्रो असर परेको थापाले बताएका थिए ।
कालिकोट भिडन्तमा माओवादीलाई हतियारका हिसाबले ठूलो फाइदा भएको छ । माओवादीका पश्चिम डिभिजन कमाण्डर प्रभाकरका अनुसार पिलीबाट माओवादीले कब्जामा लिएका हतियारहरुमा ८१ एमएम ब्यारेल एक थान र सोको बम १ सय ५० थान, जीपीएमजी एक नाल र सोको गोली पांच हजार, एलएमजी २० नाल र सोको गोली १२ हजार, इन्सास राइफल ७० नाल र सोको गोली ३० हजार, एसएलआर ८० नाल र सोको गोली २१ हजार, एसएमजी दुइ नाल र सोको गोली तीन हजार, ब्राउनिङ पेस्तोल दुइ नाल र सोको गोली दुइ हजार र टुइन्च मोर्टार दुइ ब्यारेल र सोको बम दुइ सयलगायत उच्च विस्फोटक पदार्थ तथा महत्वपूर्ण युद्ध सामग्रीहरु छन् ।
कालीकोट घटनामा शाही नेपाली सेनातर्फलप्टन तुलसी श्रेष्ठ सहित ४० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । २ सय २७ जना सैनिक रहेको क्याम्पबाट ५२ जनालाई कब्जामा लिइएको प्रचण्डद्वारा बुधबार जारी वक्तव्यमा जनाइएको छ । माओवादीतर्फवटालियन कमिसार लोकेश ( सरद अवस्ती) सहित २६ जनाको निधन भएको छ । शाही सेनाले ४० जनालाई लहरै उभ्याएर माओवादीले गोली हानेको भनी लगाएको आरोपलाई प्रचण्डले खण्डन गरेका छन् । साथै विकास निर्माण र दातृराष्ट्रको सहयोगप्रति आफुहरु नकारात्मक नरहेको प्रचण्डले पारेका छन् ।

कालीकोट भिडन्तको राजनैतिक र फौजी प्रभाव


कालिकोट भिडन्तले नेपाली राजनीतिमा कस्तो प्रभाव पार्ने छ भन्नेबारे माओवादीको मुखपत्र जनादेशले यसरी संश्लेषण गरेको छ-'माओवादीले आफ्नो फौजी श्रेष्ठतालाई दुनिया“का सामु फेरि एकपटक प्रदर्शन गरेका छन् । अत्याधुनिक हतियारले लैस अर्ढाई सयको संख्यामा रहेको कालीकोटको पिलीमा अवस्थित शाही सेनाको बेस क्याम्पलाई जनसेनाले ११ घण्टा लामो लर्डाईं लडेर पूर्ण रुपमा आफ्नो कब्जामा लिएका छन । जनमुक्ति सेना नेपालको पश्चिम डिभिजनले यो ऐतिहासिक विजय हासिल गरेको थियो ।
ठूलो सफल कार्वाही

माघ १९ गतेको शाही 'कु' पछिको मात्र होइन रणनैतिक प्रत्याक्रमणको योजनाअर्न्तर्गत यो सबैभन्दा ठूलो कार्वाही हो । शाही सत्ताको सुरक्षाकर्मीको एकै ठाउ“मा भएको मृत्युको संख्याको हिसावले जनयुद्ध पहलपछिकै यो पहिलो हो । देशैभरि भएका सफल विकेन्द्रित कार्वाही, खारा, सिरहामा मोर्चावद्ध युद्धको अभ्यास हुंदै कालीकोटसम्म पुग्दा अभूतपूर्व विजय हासिल भएको छ । कालीकोटको यो विजयले अझ ठूला कार्वाहीका लागि ढोका खुलेको छ ।

ऐतिहासिक मोड लिनसक्ने

कालिकोट विजयले नेपालको राजनीतिलाई नै नयां मोड दिनसक्छ । प्रजातान्त्रिक प्रक्रियालाई सम्पूर्ण रुपले अवरोध सिर्जना गरेर हतियारको भाषा मात्र बोल्ने निरंकुश शाही सत्तालाई कालीकोटको सफल कार्वाही राम्रो जवाफ हो । यो कार्वाहीले शाही सत्ताको सञ्चालक र तिनका पृष्ठपोषकहरुको मनोबल गिर्ने र त्यसका विरोधी सबैको मनोबल बढ्ने छ । शाही सत्ताका विरुद्ध थालिएको राजनीतिक संर्घषलाई पनि यसले सकारात्मक प्रभाव पार्नेछ ।
सैनिक बलमा मात्र टिकेको शाही सत्तामा कालीकोट पराजयले विघटनको प्रक्रिया अझ तीव्र हुने सम्भावना छ । र, अग्रगामी राजनीतिक निकासका लागि चलेको आन्दोलन अझ प्रभावकारी हुनेछ ।

नया षड्यन्त्रको सम्भावना

माओवादीको  विजय  देख्न  नचाहने  देशी  विदेशी  जनविरोधी  शक्तिहरुले माओवादीलाई  प्रतिधक्का  दिने  खतरा  छ ।  बेनीको  विजय  मनाउन  नभ्याउदै माओवादीका  स्थायी  समितिका  सदस्य  एवम्  तत्कालीन  पूर्वी  कमाण्डका इञ्चार्ज क. किरणलाई  भारतीय  विस्तारवादले  गिरफ्तार  गरेको थियो । माओवादी हावी हुन्छ भनेर माओवादी र संसदवादीबीचको बढ्दै गएको सहकार्यलाई मोड्न देशी विदेशी शक्ति केन्द्रहरुको सक्रियता अझ बढ्नसक्छ । संसदवादीलाई फेरि सरकारमा सहभागी गराएर माओवादी  विरुद्ध  लडाउने  षड्यन्त्र  हुनसक्छ ।  अपमानित  हुदै  आएका  संसदवादी नेताहरु फेरि शाही सत्ताको खेताला हुन्छन कि हुंदैनन् त्यो अहिले भनी हाल्न सकिदैन ।

शाही सत्तामा अन्तरविरोध

कालीकोटको कार्वाहीको लगत्तै शाही सेनाको मुख्यालयमा 'राजा' ज्ञानेन्द्र पुगेको कुरा अहिले काठमाडौंमा चर्चा छ । यसले पनि शाही सत्ता यो पराजयबाट कति आत्तिएको छ भन्ने स्पष्ट हुन्छ । शाही सेनाका प्रमुख प्यारजंग थापा हिजो घटनास्थल पुग्ने चर्चा भए पनि माओवादी घटनास्थलमै रहेको खबरका कारण जान नसकेको बताइन्छ ।
यो पराजयस“गै शाही सत्तामा एक अर्कालाई दोष थोपर्न सुरु भइसकेको छ । यो भीषण पराजयसंगै शाही सेना, प्रहरीमा भागदौड तीव्र हुने सम्भावना देखिन्छ ।