NC omites the Constitutional monarchy from its Statute
काठमाण्डौं भदौ १३,
भोलीदेखि हुन लागिरहेको नेपाली कांग्रेसको एघारौं महाधिवेशनको पूर्वतयारीका क्रममा आज बसेको नेपाली कांग्रेसको केन्द्रिय कमिटीको बैठकले आफ्नो बिधानबाट संवैधानिक राजतन्त्रलाई हटाएको छ । नेपाली कांग्रेका तर्फबाट अब नेपालको राजतन्त्रबारेको निर्णय गर्ने जिम्मा जनतालाई नै सुम्पने ऐतिहासिक निर्णय भएको छ । आइतबार पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा राजतन्त्रसम्बन्धी चर्को विवाद भएपछि आज बसेको केन्द्रिय समितीको बैठकले उक्त निर्णय गरेको हो । संवैधानिक राजतन्त्रलाई यथावत राख्नुपर्ने भनि अडान लिएकी शैलजा आर्चायले आजको बैठक बहिस्कार गर्दै नोट अफ डिसेन्ट लेख्नुभएको थियो ।
स्रोतका अनुसार हिजोको बैठकमा रामचन्द्र पौडेल, रामशरण महत र नरहरी आचार्यलगायतले अब कांग्रेसको विधानमा राजतन्त्रलाई राख्न नहुने अडान राखेका थिए भने कृष्ण सिटौला, सैलजा आचार्य, रामवरण यादब लगायतका मध्यमार्गी नेताहरुले अहिल्यै राजतन्त्र हटाउने बेला भइनसकेको जिकिर गरेका थिए ।
त्यसै गरी नेपाली कांग्रेसका अर्का नेता नरहरी आचार्यले हिजै सभापति पदमा उमेद्वारीको औपचारिक घोषणा गर्नुभएको छ। आफ्नै निवासमा केही पत्रकारहरुलाई बोलाएर आचार्यले महाधिवेशनमा कांग्रेस सभापतिमा चुनाव लड्ने घोषणा गर्नुभयो । आचार्यले भन्नुभयो-'पार्टी आफ्नै परीक्षाका लागि पनि म सभापतिमा उठ्छु । आचार्यले मुलुक गणतन्त्र उन्मुख हुदै गएकाले परम्परागत यथास्थितिमा नेपाली कांग्रेस रहन नसक्ने बताउनुभएको छ । साथै जनतालाई शासनको सर्वोच्चता सुम्पन संविधान सभालाई एजेण्डा बनाइनुपर्ने धारणा आचार्यले अघि सार्नुभएको छ ।
राजधानीमै आइतबार आयोजित एक कार्यक्रममा कांग्रेसका अर्का केन्द्रीय नेता कृष्णप्रसाद सिटौलाले पनि मुलुक गणतन्त्र उन्मुख भएको बताउनुभएको छ । कांग्रेस महाधिवेशनले जनताको सर्वोच्चता, सेनालाई जनताको अधीनमा राख्ने र राज्यको पुनसंरचना सम्बन्धी विषयमा अग्रगामी निर्णय लिने सिटौलाले आश्वासन दिनुभएको छ । जनतालाई राष्ट्रिय एकताको मूल धारमा त्याउन र सबैमा राष्ट्रिय भावनाको विकास गराउन महाधिवेशनले विशेष कार्यक्रम तर्जुमा गर्ने सिटौलाको कथन छ । त्यसैगरि संयुक्त आन्दोलनलाई सशक्त पार्ने कुरामा पनि ध्यान केन्द्रित गरिने उहांले बताउनु भएको छ । महाधिवेशनमा कार्यसमितीका ३० जना सहित कुल १४ सय ६५ जना प्रतिनिधिहरुको सहभागिता रहनेछ ।