काठमाण्डौ, भदौ २९
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले माओवादीबाट एकतर्फी युद्धविराम गरिसकेपछि सरकारले पनि शाही नेपाली सेनालाई ब्यारेकमा फिर्ता गर्नुपर्ने बताउनुभएको छ त्यसैगरी आयोगका अध्यक्ष नयनबहादुर खत्रीले पनि भन्नु भएको छ- ' एकपक्षले युद्धविराम गरेपछि अर्को पक्षले लड्छु भन्नु हुंदैन। यस्तो मौका आएको बेला सरकारले पनि लचिलो भएर काम गर्नुपर्छ।'
कालीकोटको पिली आक्रमणका सम्बन्धमा आयोगद्वारा गरिएको स्थलगत अध्ययनबारे प्रतिवेदन र्सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै खत्री र पाठकले सो कुरा बताउनुभएको हो। कार्यक्रममा बोल्दै आयोगका पदाधिकारीहरुले भनेका छन्- माओवादीले गरेको एकतर्फी युद्धविरामलाई हामी सकारात्मक रुपमा लिन्छौं र देशभरि क्रियाशील अनुगमन गर्ने निर्णय गरेका छौं।'
माओवादीले युद्धविराम गरेपछि देशमा हत्या हिंसाका घटनाहरुमा ९० प्रतिशतभन्दा कमी आएको पाठकले बताउनुभयो। तर, युद्धविरामका १२ दिनमा कब्जा र अपहरणका घटनामा भने वृद्धि भएको उहांले बताउनुभयो।
पिलीबाट कब्जामा लिइएका सेनालाई माओवादीले मुक्त गर्ने बेला हुनै लाग्दा आयोगद्वारा बुधबार र्सार्वजनिक गरिएको ७ पृष्ठ लामो प्रतिवेदनमा भिडन्तमा मारिएका ५८ सैनिकको नामावली दिइएको छ, जसमा १० जनाको भने नाम खुल्न सकेको छैन।

राष्ट्रिय मानव अधिकार आयोगको पिली आक्रमण प्रतिवेदन

राष्ट्रिय मानव अधिकार आयोगको टोलीले घटनास्थल पिलीमा करिब ६ घण्टा रहेर अवलोकन गर्यो। यस अवसरमा शिविरका कमाण्डर सेनानीस‌ंग घटनाका बारेमा जानकारी लिई भएको क्षति सम्बन्धमा स्थलगत निरीक्षण गरियो। उहांबाट प्राप्त जानकारी अनुसार जम्मा ५५ जना सैनिक जवानहरुको मृत्यु भएको, १०९जना सैनिक सर्म्पर्कमा आएको, ६० जनालाई माओवादीले अपहरण गरेका र ४ जना अझै हराइरहेको भन्ने जानकारी प्राप्तभयो। कुल ५५ सैनिक जवानहरु मारिएका मध्ये २२ जनाको टाउकोमा गोली लागेको, लप्टन तुलसीप्रसाद श्रेष्ठको गोली लागेको दाग नदेखिएको र गुप्ताङ्ग काटिएको अवस्थामा फेला परेकाले यातना दिएर मारिएको हुनसक्ने, त्यसैगरी आउने बाटोमा -उत्तर पश्चिमतर्फ ९ वटा लास एकै ठाउंमा खप्ट्याएको फेला पर्यो। जुन, समातेर लाइन अप गरेर मारेको हुन सक्ने। साथै १२ वटा लास शिविरको तल्लो भाग नजिक भीरमा रहेको भन्ने सेनानी नवल शाहको भनाइ रहेको छ।

तर, मारिएका सैनिकका सम्बन्धमा माओवादी पक्षको भनाइ बुझ्दा मारिएका सबै सैनिक दोहोरो भिडन्तमा नै मारिएका, अपहरण गरिएका सैनिकहरुलाई मानवोचित व्यवहार गरिएको र उचित समयमा छाडिने छ भन्ने भनाइ रहेको पाइयो। शाही सेनाले भिडन्तपछि गाउं-गाउंमा र्सच गर्दा आफ्ना कार्यकर्ता, र्समर्थकहरुलाई दुःख दिएको भन्ने भनाइ पाइयो। सबै लासहरु कुहिएको अवस्थामा जांचिएको हुंदा र सबैमा लगाएको कपडासमेत नभएकाले के कति दुरीबाट गोली हानिएको हो भन्ने छुट्टाउन नसकेको भन्ने पोष्टमार्टम गर्ने डाक्टरको राय पाइयो। ९ वटा लास कसको हो भन्ने नखुलेको, चिन्न नसकिएको हुनाले सामूहिक दाहसंस्कार गरिएको, एउटा लासमा शिव कार्की भन्ने कार्ड भेटिएकाले सोही आधारमा निजको परिवारलाई जिम्मा लगाइएको, जांच्ने अवस्थामा नहुंदा समस्या उत्पन्न भएको, हरेक सैनिकलाई पहिचान गर्न घांटीमा ट्याग झुण्ड्याउने व्यवस्था भएको तर, पायोनियरको काम गर्ने ननकम्ब्याट अर्थात् सडकको काम गर्नेको सोही दिन हेलिकप्टरबाट फिल्डमा गएकाले पहिचान गर्ने चिन्ह नभएको पनि हुनसक्ने भन्ने शाही नेपाली जंगी अड्डा मानव अधिकार शाखाबाट जानकारी पाइयो।

माओवादीहरुतर्फ२६ जना मारिएको माओवादीले स्वीकार गरेको तर ४१ वटा लासहरु फेला परेको स्थानीय बासिन्दाले बताए। उक्त संख्या अझै बढी हुनसक्ने भन्ने विभिन्न व्यक्तिको भनाइ रहेको छ। मृत्यु नै नभएका सैनिक शिव कार्की र लक्ष्मीकृष्ण देसारको मृत्यु भएको भनी अरुकै लास आफन्तलाई बुझाएको पाइयो। स्थलगत निरीक्षणका क्रममा टोलीले गाउंलेले देखाए बमोजिम र्सवसाधारणको खेतबारीमा अवलोकन गर्दा घटनास्थल वरपर यत्रतत्र खेतमा ६ वटा र कार्कीवाडाको पारिपट्टीको उत्तरतर्फजुम्ला जाने बाटोको माथितर्फ१ गरी ७ वटा लासहरु अंगभंग भएका अवस्थामा देखिएको, लास अंगभंग भई यत्रतत्र छरिएर रहेको पाइएको तर उक्त लासहरु कसका हुन् भन्ने पत्ता लाग्न सकेन। प्रायः सबै लासहरु कम्ब्याड ड्रेसमा थिए। सो क्रममा चारवटा खाल्डोमा अवलोकन गर्दा २ वटा खाल्डोमा २/२ वटा लास देखिए। उक्त लासको हातखुट्टा खाल्डो बाहिर देखिएको थियो। एउटा खाल्डोमा खुट्टाको औंला समेत देखिएको, लासको अन्य भाग पुरिएको, अर्को खाल्डोमा जुत्ता देखिएको लास ढुंगाले किचिएको अवस्थामा रहेको देखियो। गाउंलेका अनुसार अर्को लास रहेको ठाउंमा लास कुकुर, गिद्ध, चील, स्यालले खाएको भन्ने भनाइ रहेको, लासका मासु फोहोरका टुक्रा यत्रतत्र छरिएर रहेका थिए। साथै कालिका प्र.वि.पिली, कालिकोटको कम्पाउण्डमा माओवादीले मानिसको टाउको काटेर मारेको रगत विद्यालयको प्रवेशद्धारमा यत्रतत्र छरिएर रहेकोले विद्यार्थीहरु विद्यालय आउन डराएका, शिक्षकहरुले विद्यालयमा लागेको रगत, माटो, पानीले पुछि सफा गरी करीब १ हप्तापछि मात्र विद्यालय संचालन हुनसकेको भन्ने पाइयो। विद्यालय नजिकै पानीको धारासंगै ३ वटा लास पुरिएकाले विद्यालय समेतलाई दुर्गन्धित बनाएको भन्ने स्थानीय शिक्षकको भनाइ रहेको पाइयो।

स्थानीय बासिन्दाका अनुसार अरु पनि विभिन्न ठाउंमा लासहरु भएको र लासहरुलाई गिद्ध, चील, कुकुर, स्यालले खाने गरेको भन्ने भनाइ पाइयो। स्थानीय व्यक्तिको भनाइअनुसार माओवादीले मृतकको लास डोकोमा बोकेर पनि लगेका थिए। घटनास्थल वरपर रहेका दाहा, मुग्राहा, सुकटिया, पाखा, मान्म आदि गाउं विकास समितिबाहेक टाढा टाढाका गाउं एवं छिमेकी जिल्लाबाट समेत आम नागरिकलाई जबर्जस्ती सैनिक शिविरमाथि आक्रमण गर्न माओवादीले प्रयोग गरेको भन्ने स्थानीय व्यक्तिहरुको भनाइ छ। को कति र्सवसाधारण मानिसहरुको उक्त घटनामा संलग्नता थियो भन्ने सम्बन्धमा आयोगको टोलीलाई तोकिएको सीमित समय र अवधिका कारण फेहरिस्त प्राप्त हुन सकेन। केही समयपछि विभिन्न गाउंबाट उक्त घटनामा गएका मानिसहरुको अवस्थाबारे खोजी भएपछि मात्र र्सवसाधारणको हताहत सम्बन्धमा संख्या यकिन हुनसक्ने विभिन्न राजनीतिक पार्टीको भनाइ थियो।

पायोनियर गणका सैनिक सडक निर्माण गर्ने प्रयोजनका लागि नै खटिएको र उनीहरुको नियुक्ति नै सोही प्रयोजनको लागि हुने पाइयो । तिनीहरुको नियुक्ति नै लडाइको प्रयोजनका लागि नहुने भनाइ पाइयो। तर, सैन्य पोशाक र सामान्य तालीमसहित आत्मरक्षाको लागि हतियार उपलब्ध हुने भएकाले पायोनियरका सैनिकले पनि रातभर दोहोरो भिडन्त गरेको पाइयो। हेलिकप्टर उत्रने स्थल नजिकको बाटोमा सैनिकका कपडा च्यातिएको, गोलीका खोका यत्रतत्र छरिएका देखिएको थियो। घटनास्थलको वरिपरि र्सवसाधारणको बाली नोक्सान गरी खाल्डो खनिएका, पिली-मान्म बाटो वरपर समेत खाल्डा खनिएको देखिन्थ्यो। साथै माओवादीले र्सवसाधारणको बाली नोक्सान गरी खाल्डो खनेको, दोहोरो भिडन्तबाट बालीनालीमा हानी पुगेको पाइयो। आधार शिविर नजीकै बाहिर बाटोमा सेनाका टोपी, कपडा, च्यातिएको जलाइएको बुट, जुत्ता जथाभावी फालिएका देखिन्थे भने अनगिन्ती गोलीका खोकासमेत देखिन्थे। साथै सेनाले प्रयोग गरेको घर, अस्थायी शिविरका पालहरु जलेका देखिन्थे। कोपस्थित सैनिक बेस क्याम्पको वरपर घटनास्थलमा भाडाकुडा, सैनिकका कपडा, बोरा आदि सामानहरु त्यत्तिकै देखिन्थे।

होलिकोप्टरबाट ल्याइएका सामान बोक्दै गरेका विना हतियारका सैनिकलाई अपहरण गरी सबै सामग्री माओवादीले कब्जामा लिई अपहरित सैनिकलाई नै हतियार एवं खाद्यँन्नको भारी बोक्न लगाई कब्जामा लिएको भन्ने पाइयो। कालीकोट जिल्लास्थित पिलीको कोप इलाका ने.क.पा. माओवादी को गढ र मुख्य प्रभावित क्षेत्र भएकाले त्यहा ने.क.पा. माओवादीले आफ्नो उपस्थितिको प्रतिकस्वरुप गेट, चौतारो तथा तालिमस्थल, करिब २ वर्षअगाडि तयार गरेका रहेछन्। जुन हाल शाही नेपाली सेनाको शिविरभित्र समेत परेको पाइयो। पिली भएर जुम्लातर्फजाने सुर्खेत, जुम्ला राजमार्ग रेखा र जनता आवतजावत गर्ने साविक बाटोको बीचमा व्यारेक रहेको पाइयो। उक्त बाटो जोखिमपूर्ण छ। उक्त बाटो साझ ५ बजेपछि र्सवसाधारणलाई आवतजावत गर्न सेनाद्धारा बन्देज गरिएको पाइयो।
२०६२ साल श्रावण २३ गते भएको दोहोरो भीडन्तबाट सुरक्षा अस्थायी शिविर नजिक रहेका घर आवासमा र्सवसाधारणलाई मानवीय क्षति नपुगेको तर दोहोरो फाइरिङ्गबाट तिला नदी पारिपट्ट गेला गा.वि.स वडा. न ३ को स्थानीय परे र्घर्तीलाई गोली लागी मृत्यु हुन गएको पाइयो। तर, कतातिरको गोलीबाट मृत्यु भएको भन्ने खुल्न सकेन।

मृतक गैर सैनिक व्यक्तिमध्ये शक्ति मल्ल सेनालाई आवश्यक सामग्रीहरु आपुर्ति गर्ने ठेकेदारको रुपमा काम गर्दै आएका थिए। उनलाई मिति २०५७ साउन २३ गते सेनालाई खाना खुवाएको आरोपमा माओवादीले अपहरण गरी लगेको। माओवादीलाई छक्काई सुरक्षा घेरा तोडी भाग्न सफल भएकाले माओवादीले बदला लिने निशाना बनाउदै आएका थिए। निज करिब २ वर्षेदेखि गाउ छाडी विस्थापित भई सदरमुकाम मान्ममा बसोबास गर्दै आएका थिए। घटना भएको दिन पिली गाउकै बिरामी रामबहादुर मल्ललाई गाउमा छाड्न जादा माओवादीले खेतमा समातेर कब्जामा लिई आखा निकाली, कान काटेर दातसमेत निकाली चरम यातना दिई मारेको भन्ने मृतकका आफन्त तथा प्रत्यक्षदर्शीको भनाइ रहेको छ। निजको दाहसंकार, काज क्रिया सदरमुकाम मान्म कालिकोटमा गरेको पाइयो।

मृतक (शक्ति मल्ल) का परिवारलाई श्री ५ को सरकारको नीतिबमोजिम क्षतिपूर्तिको रकम उपलब्ध गराउने भन्ने जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारीबाट जानकारी गराइएको तर सोबमोजिम हालसम्म क्षतिपूर्तिको रकम उपलब्ध गराइएको पाइएन। घाइते भई उपचार गराइरहेका सबै व्यक्तिहरुलाई अस्पतालबाट पूर्णरुपमा निःशुल्क उपचारको व्यवस्था मिलाइएको वीरेन्द्र अस्पताल छाउनी एवं जिल्ला प्रशासन कार्यालय कालीकोटबाट जानकारी गराइयो।

घटना भएको २३ गते राति नाइटभिजन हेलिकोप्टरले फायरिङ्ग एवं बम प्रहार गर्दा स्थानीय हुकुमबहादुर मल्लको घरमा क्षति पुगेको पाइयो। सोही घटनामा स्थानीय दीपबहादुर मल्लको गोठ जलेको पाइयो। र्सवसाधारण व्यक्तिहरु अनबहादुर मल्ल, नन्दबहादुर मल्ल, जीरबहादुर मल्ल, हंशबहादुर मल्ल र धनीराम चौलागाईंको पाखो जग्गा, घडेरी एवं लगाइएको बालीसमेत सेनाको शिबिरभित्र र गोर्खे कार्कीको जग्गा हेलीप्याडमा परेकोमा क्षतिपूर्ति मुआब्जा नदिइएको पाइयो। घटनापछि स्थानीय एक व्यक्तिलाई शाही नेपाली सेनाले सोधपुछका लागि शिविरमा बोलाई दिनभर थुनामा राखेको भनाइ पाइयो। कर्णाली राजमार्ग निर्माणमा काम नगर्न बाटो वरपरका श्रमिकहरुलाई माओवादीतर्फबाट डर, त्रास, धम्की दिएको, श्रमिकबाट जवर्जस्ती चन्दा असुली एवं मौसमी बाली असुलीका कारण श्रमिक र स्थानीय जनतामा असन्तोष रहेको बुझियो। दुबैपक्षले जिम्मेवारी नलिएका लासहरु खुल्ला रहेको देखिएकाले लास जथाभावी सड्न जादा रोग फैलिन सक्ने आशंका स्थानीय बासिन्दाले व्यक्त गरे ।

राजमार्ग निर्माणमा काम गर्न दैलेख, जुम्लालगायत स्थानीय जनतालाई माओवादीहरुले प्रतिबन्ध लगाएको पाइयो। घटना पछि अहिलेसम्म पनि स्थानीय वासिन्दामा पुनः आक्रमण हुन सक्ने त्रास कायमै रहेको पाइन्छ। सडक निर्माणमा नाबालकको प्रयोग भएको र ज्यालामा असमान व्यवहार भएको पाइयो। सडक निर्माण जोखिमपूर्ण रहेको पाइयो। कामदार मजदुरको सडक निर्माणको क्रममा मृत्यु भएको, घाइते भएको तर, क्षतिपूर्ति नदिइएको पाइयो।

आक्रमणमा कति उमेर समूहका बालसैन्य थिए भन्ने यकिन पुष्टि हुन सकेन तर, स्थानीय व्यक्तिका भनाइअनुसार माओवादीले वालवालिकालाई अपहरण गरी आफ्नो अभियानमा लगाउने र जवर्जस्ती इच्छा विपरीत डब्लुटी सदस्य बनाउने गरेका छन्। जबरजस्ती डब्लुटी बनाइएका व्यक्तिलाई मानव ढालको रुपमा प्रयोग गरिएको भनाइ पाइयो।
जिल्ला प्रहरी कार्यालय कालीकोटको २०६२ भदौ १५ को पत्रानुसार करिब ५ हजारको संख्यामा आएका माओवादीले आक्रमण गरेको र क्षति पुगेको भन्ने विवरण प्राप्त भएको। मिति २०६२ श्रावण ३१ मा घटनास्थल मुचुल्का भएको तर लासको अवस्था खुल्ने गरी लाश जाच प्रकृति मुचुल्का एवं मृतक र्सवसाधारणको पोष्टमार्टम समेत भएको पाइएन।
(राष्ट्रिय मानव अधिकार आयोगद्वारा भदौ २९ गते र्सार्वजनिक प्रतिवेदनबाट उधृत )