अरुण बराल, काठमाण्डौ

समाचार विश्लेषण

Analysis of last 15 days ceasefire

Arun Baral, Kathmandu

नेकपा माओवादीले एकतर्फीरुपमा युद्धविराम गरेको आज १५ दिन पूरा भएको छ। यसबीचमा शाही नेपाली सेनाले माओवादीलाई र माओवादीले सेनालाई आरोप-प्रत्यारोप गर्ने क्रम तीब्र भएको छ।यतिका दिनसम्म सरकारले भने युद्धविराम गर्ने कुनै छांट देखाएको छैन। युद्धविरामपछि सेनाले आफ्ना आधा दर्जन कार्यकर्ताहरुको हत्या गरेको माओवादीले जनाएको छ भने माओवादीद्वारा दुइ र्सवसाधारण समेतको हत्या गरिएको सेनाले आरोप लगाएको छ। नेकपा माओवादीले भनेको छ - 'युद्धविरामको घोषणापछि जनसेनाले आक्रमण नगर्ने स्थितिको फाइदा उठाएर शाही नेपाली सेना अहिले युद्धविराम अघि पुग्न नसकेका ठाउंहरुमा पुग्न थालेको छ।' माओवादीको भनाइअनुसार युद्धविरामपछि शाही सेना जाजरकोटको पांचकटिया, पांचथरको रांके र रवी बजार, ताप्लेजुङ, इलामको एकतप्पा र धुसेनी, भोजपुरको पान्धारे, उदयपुरका गाउंहरु, बर्दियाको लापुर र कास्कीका विकट गाउंहरुका पुगेर खानतलासी, लुटपाट र गिरफ्तारी गर्न व्यस्त रहेको छ। माओवादी सुत्रका अनुसार भदौ २२ गते शाही सेनाको एउटा जत्थाले दैलेखको कालीमाटीस्थित भैरवमन्दिर डांडामा स्थानीय माओवादी नेता उत्तम हमालसहित ४ जनाको हत्या गरेको छ। त्यसैगरी भदौ २५ गते कास्कीमा १४ वर्षीया विद्यार्थी अस्मिता वि.क.लाई बाटामा हिंडिरहेका बेला सेनाले कब्जामा लिएर हत्या गरेको कास्की जिल्ला कमिटीका सेक्रेटरी सन्देशले जनाएका छन्।

 त्यसैगरी पी.एन.क्याम्पस पोखराका विद्यार्थी नेता शोभाकान्त पौडेल (उद्घोष) लाई पनि सेनाले बेपत्ता पारेको सन्देशको वक्तव्यमा उल्लेख छ। त्यस्तै भदौ २५ गते  दाङको तुल्सीपुरमा भइरहेको र्सवपक्षीय छलफल कार्यक्रममा सेनाले हस्तक्षेप गरी थारुवान मुक्ति मोर्चाका केन्द्रीय सदस्य रामबहादुर दहितसमेत ७ जनालाई वेपत्ता पारेको माओवादीले बताएको छ। उता भदौ २७ गते मोरङ्गको बाहुनीबाट मजदुर संगठनका केन्द्रीय नेता भानु मैनाली, जिल्ला अध्यक्ष अशोक शाह र श्रवण राजवंशीलाई सेनाले बेपत्ता पारेको बताइएको छ। त्यस्तै युद्धविरामका बेलामा २४ गते पांचथरको रांकेबाट जनसेनाको १९ औं बटालियनका रक्तिम र प्रकाश नामका दुइ कार्यकर्तालाई पनि सेनाले बेपत्ता पारेको माओवादीको सातौं बृगेड कार्यालयले जनाएको छ।ताप्लेजुङको हाङ्देवा इलाकाबाट दर्जनौं शिक्षकको अपहरण गरिएको भनी सेनाले गरेको प्रचार झुठो भएको माओवादीले स्पष्टीकरण दिएको छ।माओवादीद्धारा युद्धविरामको घोषणा भइसकेपछि पनि सेना र माओवादीबीच जम्काभेट र दोहोरो फायरिङका घटना पनि  एक दुइ ठाउंमा भएका छन्।

भदौ २० गते रामेछापको पोखरीचौरमा शाही सेनाले अन्धाधुन्ध फायर गरी जनसेनालाई घेरा हाल्न खोज्दा घेरा तोड्ने क्रममा जनसेनाले गोली चलाउन बाध्य भएको र एक सैनिकको मृत्युसमेत भएको माओवादीले जनाएको छ।शाही नेपाली सैनिक जनसर्म्पर्क निर्देशनालयले भने पोखरीचौरमा माओवादीले धराप विष्फोटन गराएको र एक सैनिकको मृत्यु भएको दाबी गरेको छ। रामेछापमा जस्तै भदौ २५ गते इलामको धुसेनीमा पनि माओवादी र शाही नेपाली सेनाबीच दोहोरो फायरिङ भएको छ।गाउं पसेको सेनालाई पछि हट्न कासन गर्दा पनि नमानेर फायरिङ गरेपछि जवाफी फायरिङ गरी धपाइएको माओवादीसूत्र बताउंछ। उक्त घटनामा दुइ सैनिकको मृत्यु भएको हुनसक्ने माओवादीको अनुमान छ। सोही जिल्लाको एकतप्पामा पनि त्यस्तै दोहोरो फायरिङ भएको बताइएको छ। माओवादीका अनुसार युद्धविरामको फाइदा उठाएर शाही नेपाली सेना पांचथरको रांके इलाकामा ४ वर्षपछि पसेको छ र रबी बजारबाट ७ जनालाई गिरफ्तार गरी बेपत्ता पारेको छ।

 भदौ २२ गते बांके जिल्लाको मोहम्मदपुरबाट मधेशी राष्ट्रिय मुक्ति मोर्चाका फजुल बेहना, मोती यादव, कलिम कवडिया र बांकेको कोहलपुरबाट थप दुइ जनालाई शाही सेनाले वेपत्ता पारेको माओवादीको आरोप छ। त्यस्तै भदौ २४ गते बर्दियाको मोतीपुर ७ दमौलीका २१ जना थारु युवा युवतीलाई सेनाले गिरफ्तार गरी बेपत्ता पारेको इन्सेकलाई उद्धृत गर्दै माओवादीले जनाएको छ।त्यसको भोलिपल्ट बर्दियाकै बांडगढीबाट दुइ माओवादी गिरफ्तार गरेको र सोही दिन नेपालगञ्जको नागरिक सभाबाट १ जनालाई बेपत्ता पारिएको माओवादीको आरोप छ।

केही विवादास्पद घटनाहरु

युद्धविरामपछि घटेका केही घटनाहरुका विषयमा भने सेना र माओवादीले एक अर्कालाई दोष लगाउने गरेका छन्।भदौ २० गते र्सलाहीको सागरनागचौकमा १४ सवारी साधनमाथि माओवादीले लुटपाट गरेको सेनाले आरोप लगाएको छ भने शाही सेनाले आफैं त्यो त्यो घटना गराएको माओवादीको आरोप छ।यता काठमाण्डौमा माओवादीका नाममा १३ लाख लुटपाट मच्चाएर पक्राउ परेका कल्पना गुरुङ्ग र कोमानन्द खड्का पनि सेनाकै संरक्षणका रहेका व्यक्तिहरु भएको माओवादीले दाबी गरेको छ। भदौ मसान्तमा कोटेश्वरमा अज्ञात व्यक्तिद्धारा मारिएका ७३ वर्षीय अमरबहादुर बूढाथोकीको हत्यामा माओवादीको संलग्नता रहेको सेनाले बताएको छ भने माओवादीले त्यसलाई अस्वीकार गरेको छ।कालीमाटीमा तरकारी व्यवसाय गर्ने दम्पत्तिको भदौ ३० मा अपहरण भए पनि कसैले जिम्मेवारी लिएको छैन। उता धनगढीको गोदावरी गाविसमा माओवादीको नाममा चन्दा उठाउंदै हिड्ने दुइलाई स्थानीयबासीले मारेको बताइएको छ भने महाकाली पारिको चांदनी गाविसमा दुइ माओवादीलाई स्थानीयवासीले मारेको र एकजनालाई सेनासमक्ष बुझाइएको बताइएको छ।सेना र माओवादीबीच भएका आरोप प्रत्यारोपको उचित छानविन गर्ने अनुगमन इकाइहरु नबनेका कारण यी घटनाहरुको निष्पक्ष छानविन र अनुसन्धान हुन सकेको छैन।यस्तै किसिमका दोषारोपण झडपहरु बढ्दै गएमा युद्धविराम भंग नहोला भन्न सकिन्न। शाही सेना माओवादी विरुद्ध सक्रिय माओवादीले युद्धविराम गरिसक्दा पनि शाही नेपाली सेना भने माओवादीलाई विभिन्न आरोपहरु लगाएर युद्ध भड्काउन तल्लिन रहेको देखिन्छ।

शाही सेना आफू चाहि धरपकड, गिरफ्तारी र युद्धमा व्यस्त छ र माओवादीलाई भने युद्धविराम पालना नगरेको आरोप लगाइरहेको छ।पछिल्लो समयमा सैनिक प्रवक्ता दिपक गुरुङ्गले पत्रकार सम्मेलनको आयोजना गरी भनेका छन्- 'माओवादीको युद्धविराम नाटकमात्रै हो।माओवादीहरु युद्धविरामका नाममा आक्रमणको तयारी गरिरहेका छन्।' सेनाका अनुसार माओवादीले युद्धविरामका बेलामा पनि २ जना र्सवसाधारणको हत्या गरेका छन्।त्यसरी हत्या भएकामा गोर्खा बिजौरीका सैनिक जवानका पिता नवराज थपलिया र बाराका मौसम विभागका कर्मचारी राजेन्द्रप्रसाद साह छन्।

युद्धविरामको र्सवत्र स्वागतः सरकार लाचार

माओवादीले युद्धविराम गरेपछि त्यसलाई भारत, यूरोपेली युनियन र संयुक्तराष्ट्र संघले पनि स्वागत गरिसक्दा पनि निरंकुश राजा ज्ञानेन्द्रको सरकार भने लाचारी प्रकट गरिरहेको छ, जसले गर्दा एकतर्फी युद्धविराम भंग हुने अवस्था उत्पन्न हुंदै गइरहेको छ।यद्यपि मानव अधिकारवादी, नागरिक समाज र दलहरुले युद्धविरामको अनुगमन गर्ने बताउंदै माओवादीलाई धैर्य गर्न आग्रह गरिरहेका छन्।