फूल पात र पत्करहरु बटुल्दैमा मुलुकमा शान्ति आउदैन भन्ने कुरा राजाले बुझेनन् । उल्टै पार्टीहरुलाई बिदेशी पैसामा चलेको आरोप लगाएर पार्टीहरुलाई चुनौती दिए। तस्बिर/ रासस
काठमाण्डौ, असोज ६
नेपालका राजा ज्ञानेन्द्र अब साच्चै राजाबाट झरेर नेतामा परिणत भएका छन्। दलहरुले दिनहु राजधानीमा जनप्रदर्शन गरेपछि राजाले पनि उनीहरुलाई देखाउन बिहीबार ललितपुरका विभिन्न शहरहरुमा पैदल हिडेर नेतागिरीमात्रै गरेनन्, दलहरुलाई आमचकारी गाली गर्दै विदेशी पैसाको खोलो बगाएर काठमाडौमा नचाहिने काम गरेको आरोपसमेत लगाए।
हिम्मत छ भने राजधानीको सडकमा ओर्लन राजनैतिक दलहरुले चुनौती दिइरहेकै बेला बिहीबार राजा ज्ञानेन्द्रले रानी कोमललाई समेत साथमा लिई पांचघण्टा ललितपुरका विभिन्न गल्लीहरुको पैदल भ्रमण गरे। बिहान पौने एघार बजे थापाथलीको वाग्मती पुलबाट ५ घण्टा पैदल हिडेर कुपण्डोल, पाटनढोका, पाटन दरबार स्क्वायर र पुल्चौक हुदै जावलाखेलस्थित अञ्चल प्रशासन कार्यालय पुगेपछि छेवैमा श्रीमतीलाई समेत राखेर राजाले भाषामा समेत अशुद्धी र थेगोहरु प्रयोग गर्दै भने- 'दुर्भाग्यको कुरा अहिले हामीले सुन्छौं केही विदेशीहरुको पैसाको खोला बगाएर यो स्थलमा, यो थलोमा नचाहिदो कुराहरु भइराखेको छ। यसलाई पनि तपाइहरुले ध्यान दिनुपर्छ। यो ठाउंलाई प्रदुषितरहित राख्नुपर्छ। त्यो प्रदुषण चैने मैले वातावरणको मात्रै कुरा गरेको होइन, राजनैतिक सामाजिक र अरु धेरै क्षेत्रको पनि कुरा गरेको हो। राजधानीमा धेरै सम्पदाहरु पनि छन्। मठ, मन्दिर गुम्बा मस्जिदहरुलाई पनि तपाईहरुले संरक्षणतिर लाग्नैपर्छ। पवित्र वाग्मती नदी पनि यही नै बगिराखेको छ।'
कुपण्डोलको वाग्मती पुलबाट ५ घण्टा पैदल हिंडेर सडक वरिपरि उभिएका जनताबाट फूल थाप्दै हिंडेका राजाले जनउपस्थिप्रति सस्तो घमण्ड व्यक्त गर्दै भने- 'आज जनताको उपस्थिति ज्यादै बढी पनि थियो र प्रभावकारी पनि थियो। हामीलाई पनि जनता भेट्नुमा ज्यादै खुशी पनि लागेको छ। त्यसको लागि सबै जनतालाई तपाईहरुले हाम्रातर्फाट धन्यवाद पनि दिनुहोस्।'
पैदल भ्रमणका क्रममा सडक किनारामा उपस्थित कतिपयले रु“दै आफ्ना पीडाहरु सुनाएका थिए भने राजाबाट विगतका भ्रमणहरुमा झैं बुझेंबुझें भन्ने जवाफ फर्काएका थिए। रानी कोमलले पनि बालबालिकालाई 'आज स्कुल लागेन?' भन्दै सोधेकी थिइन्।तर उनी भने अधिकांश समय सबारीमा चढेर यात्रा गरिन्। सडक छेउका मानिसहरुले जताजता फूल लिएको देख्थिन् रानी उतै उतै फूल लिन हतारिएकी देखिन्थिन्। राजारानीको भ्रमणका लागि भनेर ललितपुरका विद्यालयहरु बन्द गरेर विद्यार्थीहरुलाई उपस्थित गराइएको थियो। मध्यमाञ्चलको बस्तुस्थिति बुझ्न भन्दै मध्यमाञ्चलका सबै जिल्लाका मनोनित पदाधिकारी र अन्य जनसमुदायको सहभागिता रहेको सो राजनैतिक प्रहसनमा अधिकांश कर्मचारीहरुलाई त्रासमा सारेर अनिवार्य उपस्थित गराइएको थियो।
यता सासू-ससुराहरु ललितपुरमा पैदल हिडिरहेका बेला बुहारी युवराज्ञी हिमानीराज्य लक्ष्मी भने समाज कल्याण परिषद्को साधारण सभा उद्घाटन गर्न पुगेकी थिइन्।