Political parties to be banned!
काठमाडौ, असोज ८


नेकपा (एमाले) का महासचिव माधवकुमार नेपालले असोज १८ र माघ १९ को भन्दा पनि कठोर कदम चाल्न दरबारियाहरुले षड्यन्त्र गरिरहेको भन्दै कार्यकर्ताहरुलाई सचेत रहन सल्लाह दिनुभएको छ।

शनिबार पार्टी कार्यालय बल्खुमा आयोजित कार्यक्रममा महासचिव नेपालले कार्यकर्ताहरुलाई निर्देशन दिंदै भन्नुभयो-  'मुटु र खुट्टा कमाउने होइन, तपाईहरु अझ ठूलो आन्दोलनको आधीबेहेरी सिर्जना गर्ने तयारीमा लाग्नुहोस्। निकट भविष्यमै माघ १९ को भन्दा ठूलो शाही कदम हुन लागेको छ।'महासचिव नेपालले दरबारियाहरुले चांडै दलहरुमाथि प्रतिवन्ध लगाउन सक्ने खतरा पनि औंल्याउनु भएको छ। दरबारियाहरु मौका पर्खेर बसिरहेका छन् र जनविद्रोह हुने डरलेमात्रै अहिलेसम्म चुप लागेका हुन्, नेपालले भन्नुभयो। हालै बिराटनगरमा मन्त्री परिषद्का उपाध्यक्ष तुलसी गिरीले दिएको अभिव्यक्ति एउटा परिक्षणमात्रै भएको बताउदै नेपालले भन्नुभयो-'कस्तो प्रतिक्रिया आउंदोरहेछ भनेर गिरीले परीक्षणका लागि बोलेका हुन्। तर, त्यो उनको अभिव्यक्ति सरकारी धारणा हो।

उपाध्यक्ष गिरीले चार दिन अघि बिराटनगरमा मनोनित जिविस पदाधिकारीहरुको कार्यक्रममा सम्बोधन गर्दा दरबारियाहरुले वर्तमान संविधान मानिरहन आवश्यक नरहेको जिकिर गर्नुभएको थियो।एमाले महासचिव नेपालले कार्यकर्तालाई संभावित दुर्घटना विरुद्ध जुध्नका लागि तम्तयार रहन निर्देशन दिनुभएको छ। सोही कार्यक्रममा सहभागी एमाले कार्यकर्ताहरुले भने आन्दोलनको एजेण्डामा कार्यकर्ताहरुको भावनालाई समेट्न नेतृत्वसंग आग्रह गरेका थिए।

उता कान्तिपुर टेलिभिजनद्वारा शनिवार आयोजित एक बहस कार्यक्रममा बोल्दै निरंकुशताका प्रतिमुर्ती तथा राजाका सल्लाहाकार पूर्वप्रधानसेनापति सच्चितशमशेर जबराले काठमाण्डौमा भइरहेको आन्दोलनमा जनसहभागिता आफूहरुले नदेखेको र दिनको तीनसय रुपैया दिएर दलहरुद्वारा एक/दुइसय मान्छेलाई ढुंगा हान्न खटाइएको हास्यास्पद टिप्पणी गर्नुभएको छ।

 राणाको यो भनाइको तत्कालै प्रतिवाद गर्दै कांग्रेस नेता  कृष्णप्रसाद सिटौलाले भन्नुभयो- 'राजावादीहरु पत्रकार, वकिल, कर्मचारी र जनताको आन्दोलनमा जन सहभागिता नै देख्दैनन् र राजालाई यस्तै सल्लाह दिन्छन्।केही दिन अघिको राजाको भनाइ र राणाको भनाइ मिलेपछि राजाका सल्लाहकारले कस्तो सल्लाह दिइरहेका रहेछन् भन्ने थप प्रष्ट पारेको छ र माधव नेपालको आशंकालाई सार्थकताको नजिक पुर्याइदिएको छ।

प्रचण्डसंग वार्ता गर्न कांग्रेस नेता आचार्य आतुर

 काठमाण्डौ, असोज ८
भारतको दिल्लीबाट भर्खरै फर्केका कांग्रेस नेता नरहरी आचार्यले भारतमा आफूले माओवादी नेता प्रचण्डसंग भेट गर्ने प्रयास गरेको तर, उहां नेपालमै रहेकाले भेट हुन नसकेको बताउनु भएको छ। नेपालमै भए पनि प्रचण्डसंग भेटेर आफूले वार्ता गर्ने आचार्यले बताउनुभएको छ।

जनवादी गणतन्त्र स्थापना गर्न भनेर युद्ध लडिरहेका  माओवादीहरुले लोकतान्त्रिक व्यवस्थामा सहमति जनाउनु स्वागतयोग्य कुरा भएको आचार्यको कथन छ। तर, सात दलले भने आफूलाई बदल्न नसकेको उहांले शनिबार आयोजित कार्यक्रममा बताउनुभयो।