
बिराटनगर, असोज ६
असोज ६ गते ललितपूरको भ्रमणका क्रममा राजाले राजनीतिक पार्टीहरुलाई बिदेशीको पैसामा मुलुकमा अबाञ्छित गतिबिधीहरु भैरहेको आरोप लगाएपछि नेपाली कांग्रेसका सभापती गिरीजा प्रसाद कोइरालाले त्यसको कडा प्रतिबाद गर्नुभएको छ। यो प्रतिबाद पछि नेपालको राजनीतिमा नया तरंग पैदा हुने संभावना बढेर गएको छ।
उहांले आफ्नो कडा भनाइ आज सांझ कान्तिपुर दैनिकका दूइ पत्रकारहरु संग कोइराला निबास बिराटनगरमा सार्वजनिक गर्नुभएको हो। राजा आफै कस्तो पृष्ठभूमीबाट राजा बने भन्ने कुरा बिर्सनुहुदैन भन्दै गिरीजाले भन्नुभएको छ - राजाले यो भुल्नु हुदैन की उनी कहांबाट आएका थिए र कस्तो परिस्थितीमा राजा बनेका थिए।
सभापती गिरीजाले कहालीलाग्दो राजदरवार दूर्घटना तर्फ इंगित गर्दै थप्नुभयो - अहिलेका राजाको दरबार हत्यकाण्ड अगाडी कुनै शक्ति थिएन। यदि राजाले यो कुरा बिर्सन्छन् भने नेपालमा राजतन्त्रको भविष्य बांकी रहनेछैन।