
नेपालको प्रजातान्त्रिक आन्दोलनलाई सघाउन भारतबाट आएका नेताहरुको बिरुद्धमा राजधानीमा मन्डलेहरुले निकालेको कालो झन्डा र व्यानर सहितको जुलुश। आजको जुलुशको चांजोपांजो राजाका तीनमन्डले मन्त्रीहरु निक्षशमशेर जबरा, सिनेट श्रेष्ठ र जगत गौचनले मिलाएका थिए भनी काठमाडौबाट हाम्रा समाचारदाताले जनाएका छन् । मन्डलेहरुले ति नेताहरुको आवागमनलाई बैदेशिक हस्तक्षेपभनि व्याख्या गरेका थिए। तस्विर / नेपाल न्यूज
काठमाण्डौ, असोज १२
आफ्नो निरंकुश कदमलाई र्समर्थन गरिपाउ भनेर विदेशीहरुलाई हारगुहार गर्दै हिडेको राजा ज्ञानेन्द्रको शाही सत्ता यतिखेर आफ्नो मिशनमा पूर्णतः असफल भएपछि कथित मण्डले राष्ट्रवादको खोल ओढेर विदेशीहरुमाथि आक्रमणमा उत्रन थालेको छ।
नेपालको आन्तरिक राजनैतिकस्थितिको अध्ययन गर्न तथा जारी लोकतान्त्रिक आन्दोलनलाई र्समर्थन गर्न बुधबार काठमाण्डौ आएका करीब आधा दर्जन भारतीय नेताहरुमाथि त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलनजिक शाही सरकारद्वारा संरक्षित एउटा उत्तेजक भीडले ढुंगामूढा गर्नुका साथै कालो झण्डा प्रदर्शन गरेको छ। यो हर्कत विरुद्ध विभिनन दलहरुले विज्ञप्तिमार्फत आपत्ति जनाएका छन्।
बुधबार दिउसो विमानस्थलबाट राडिसन होटलमा आएर बसेको भारतीय नेताहरुको सो टोलीले साझ नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालालगायतका कांग्रेस नेताहरुसग भेट गरी दलहरुको जारी आन्दोलनप्रति ऐक्यवद्धतासमेत जनाएको छ।
नेपाल बसाइका क्रममा टोलीले अन्य दलका नेताहरुलाई पनि भेट्ने कार्यक्रम राखेको छ।भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका पोलिटब्यूरो सदस्य तथा सांसद सीताराम येचुरीको नेतृत्वमा नेपाल आएको सो टोलीमा भारतीय राष्ट्रिय कांग्रेस, समाजवादी मोर्चा, भारतीय जनता दल तथा कम्युनिष्ट पार्टीगरी ५ जनाको सहभागिता रहेको छ।
भारतीय नेताहरु नेपाल आउने थाहा पाएपछि मंगलबार बसेको मन्त्री परिषद्को बैठकमा पनि त्यसबारे छलफल भएको थियो। विश्व समुदायबाट चौतर्फीरुपमा एक्लिदै गएको राजा ज्ञानेन्द्रको शाही सरकार यो खबर सुनेर अत्तालियो र बुधबारको गोरखापत्रमा ठूलाठूला अक्षरमा समाचार छापेर भारतीय नेताहरु नेपाल आउनु बैदेशिक हस्तक्षेप हो भन्दै उनीहरुलाई एयरपोर्टबाटै फर्काइनु पर्ने टिप्पणीसमेत प्रकाशित गर्यो।
यसैदिन भारतीय नेताहरुको टोली दिउसो एयरपोर्ट आइपुगेको थाहा पाएपछि मन्त्रीहरु निक्षसमशेर राणा, जगत गौचन र सिनेट श्रेष्ठद्वारा पालित केही दर्जन मान्छेहरुले ती पाहुनाहरुको गाडीमाथि ढुंगा प्रहार गर्नुका साथै उत्ततेजक नाराबाजी समेत गरेका थिए। 'प्रजातान्त्रिक राष्ट्रिय अभियान सञ्चालन समिति' लेखेको कालो ब्यानर बोकेर उभिएका ती मानिसहरुले सातदल मूर्दावाद, भारतीय नेता मूर्दावाद, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, भारतीय हस्तक्षेप मर्दावाद, नेपाल-भारत मैत्रीसम्बन्ध अमर रहोस् जस्ता नाराहरु पनि लगाएका थिए।
यस अघिसम्म भारतीय नेताहरु नेपाल आउदा स्वागत सत्कार गर्ने शाही सरकार किन एकाएक यसरी विरोधमा उत्रियो - यसबारेमा देशभित्र अहिले व्यापक बहस शुरु भएको छ।
बुधबार भारतीय पाहुनाहरु काठमाण्डौ आएकै दिन रिपोर्टस् क्लबमा आयोजित कार्यक्रममा कांग्रेस प्रजातान्त्रिकका विदेश विभाग प्रमुख सागरसमशेर जबराले भन्नुभयो- 'भारतमा इमर्जेन्सी लागु हुदा नपालले विरोध गरेको थियो, के त्यो वैदेशिक हस्तक्षेप हो'? प्रजातन्त्र भनेको र्सवमान्य व्यवस्था भएकाले यसका पक्षमा बोल्दा त्यसलाई वैदेशिक हस्तक्षेप भन्न नमिल्ने राणाले टिप्पणी गर्नुभयो। त्यसैगरी कांग्रेस नेता डा. शेखर कोइरालाको तर्क थियो- 'राजाले बैदेशीक सहयोग माग्दा हुने अनि दलहरुले माग्दा चाहि त्यो कसरी वैदेशिक हस्तक्षेप हुन्छ ?'
जनमोर्चाकी नेतृ शशी श्रेष्ठले राजा ज्ञानेन्द्रले विदेशलाई गुहार्दा गुहार्दा केही नलागेपछि विदेशीमाथि खनिन थालेको आरोप लगाउनुभयो। त्यस्तै एमाले नेता भलनाथ खनालले विदेशी पाहुनामाथि अभद्र व्यवहार गरेर शाही सरकारले पारजित मानसिकताको पराकाष्टा देखाएको टिप्पणी गर्नुभयो। कार्यक्रममा अमेरिकाका लागि पूर्व राजदूत विश्व प्रधानले नेपाल भ्रमणमा आएका नेताहरुको नियतलाई नबुझिकन वैदेशिक हस्तक्षेप भयो भन्न नमिल्ने जानकारी दिनुभयो। त्यसै गरी बाममोर्चाका नेता सीपी मैनालीले मण्डलेहरुलाई प्रश्न गर्दै भन्नुभयो - राजाले विदेशीसंग बन्दुक र हतियार माग्दाचाहि त्यो राष्ट्रघात नहुने तर यहाको लोकतान्त्रिक आन्दोलनलाई मित्रराष्ट्रले समर्थन गर्दा कसरी राष्ट्रघात हुने?
नेपाल आएका पाहुनालाई ढुंगामुढमले स्वागत गरेर राजाको सरकारले आफ्नो असली चरित्र छिमेकी सामु प्रदर्शन गरेको मैनालीले बताउनुभयो। भारतीय नेताहरु कसैको निमन्त्रणमा नभई आफैं नेपालको स्थितिबारे अध्ययन गर्न आएको मैनालीले जानकारी दिनुभयो।
यता भारतीय पाहुनालाई मण्डलेहरुले दुख दिइरहेका बेला अन्तरराष्ट्रिय कानूनविद्हरुको अर्को एक टोलीपनि नेपालको कानूनी स्थितिबारे अध्ययन गर्न युरोपबाट काठमाण्डौ आएको छ। त्यस्तै आउदो असोज १८ गतेदेखि युरोपेली संघको प्रतिनिधि मण्डल (ट्रोइका) को एक टोली नेपालको ३ दिने भ्रमणमा आउदैछ।