French helicopter didn't land on the Everest--Nepal Government

सगरमाथामाथि बसेको भनि दावी गरिएको हेलिकोप्टर
फ्रान्स ,असोज १४
बिश्वको सर्वोच्च शिखर सगरमाथामाथि फ्रान्सेली हेलीकोप्टर बसेको बिषयमा बिभिन्न कोणबाट नेपालमा बिरोध गरियो। सरकारले आज सगरमाथामाथि हेलिकोप्टर नबसेको भनेर बताएपनि फ्रान्समा उक्त हेलिकोप्टर सगरमाथामाथि बसेको थियो भनेर प्रचार भएको छ।
फ्रान्सबाट निस्कने विज्ञान सम्वन्धी लोकप्रिय पत्रिका 'सिअंस ए भि' अर्थात विज्ञान र जीवन भन्ने मासिक पत्रिकाले सगरमाथाको एक हिमनदीमाथि हेलीकोप्टर उडीरहेको चित्र सहितको आलेख प्रकाशन गरेपछि यो मुद्धा यहा निकै चर्चित भैरहेको छ।उक्त पत्रिकाले गत अंकमा 'सगरमाथामाथि हेलीकोप्टर बस्यो' शिर्षकमा उक्त लेख प्रकाशित गरेको छ। सगरमाथा (नेपाल) डेटलाइन राखेर आलेखलाई निकै महत्वका साथ प्रकाशित गरिएको छ।
सगरमाथामा बसेको हेलीकोप्टरबारे उल्लेख गरेपछि नेपालीहरुसंग यहाका फ्रान्सेलीहरुले 'तिमीहरुको हिमालमा त हामीले पो हेलीकोप्टर बसाइदियौ त' भन्न थालेका छन्।
पत्रिकामा उल्लेख भएअनुसार सगरमाथामाथि बसाल्न लगिएको ए एस ३५० बि ३ लोखर्के (Ecureil AS 350 B3) नामको यो हेलीकोप्टरबाट सगरमाथामा उडान भर्नु अगाडी एक शय बिस किलो बराबरको पाटपूर्जा झिकीएका थिए।हेलीकोप्टरलाई केही हलुका बनाउनकालागि यसो गरिएको थियो। सगरमाथामा बसाउनुभन्दा त्यहाबाट पून उडाउन यसका पाइलोट डिडिए दास्लेलाई कठिन भएको थियो।
हुन त हिमालको त्यो उचाइमा हेलीकोप्टर उडाउनु यसैपनि कठिन मानिन्छ। किनकि यस्तो उचाइमा समुद्री सतहको तुलनामा अक्सिजनको मात्रा ६० प्रतिशतले कम हुन्छ। हावा बढी चल्छ। हिमनदी हिउका ढिक्का, हावाको झोक्का र तिब्र रुपमा चल्ने बतासले हेलीकोप्टरलाई नियन्त्रणमा राखिरहन कठिन हुन्छ।
खासगरि हेलीकोप्टरको पंखा घुम्नकालागि रोटोर भनिने एउटा मेशिन हुन्छ। रोटोरमा हावा बढी भएमा हेलीकोप्टर अनियन्त्रित हुनसक्छ। हावा कम हुदाचाहि पंखा नै चल्दैनन्। त्यसैलेपनि हिमालमाथिको अवतरणलाई चुनौतीपूर्ण मानिएको हो। झन् यो हेलीकोप्टरका चालक दास्ले त हाम्रो जस्तो हिमाली बनोट भएको मुलुकका आकाशमा विमान उडाउने अनुभव नभएका व्यक्ति थिए। यसैले नेपाली प्राबिधिकको कुनै सहयोग र अभ्यासबिना नै सगरमाथामा हेलीकोप्टर अड्याइदिएकालेपनि यो बिषयले फ्रान्समा निकै चर्चा पायो।
हुन त फ्रान्सेलीहरु हिमालमाथि नयाँ नयाँ रेकर्ड बनाउन माहिर छन्। यिनै फ्रान्सेलीले यसअघिपनि हाम्रा हिमालमाथि पटक पटक बिश्व इतिहास बनाएका छन्। सन् १९७२ मा पनि फ्रान्सेली नागरिक जँ बुलेले सगरमाथाकै १२ हजार ४ शय मीटर माथिको आकासमा 'लामा' भनिने हेलीकोप्टर उडाएर विश्व रेकर्ड बनाएका थिए। ३ जुन १९५० मा पहिलो पटक आठ हजार एकानब्बे मिटरको अन्नपूर्ण हिमाल चढेर इतिहास बनाउने माउरीस हर्जोग र लुइस लान्सेलपनि फ्रान्सेली नै हुन्।
शुरुमा त यो हेलीकोप्टर सगरमाथामाथि बसेकै होइन भन्दै नेपालको वायू सेवा संचालक संघले समेत यसको खण्डन गरेको थियो तर पछि पश्चिमा संचार माध्यमले समाचार सार्वजनिक गरेपछि नेपाली अधिकारीहरु त्यसलाई स्विकार्न बाध्य भएका थिए।तर सरकारले पुन त्यसलाई अस्विकार गरेपछि अब फ्रान्सेलीहरुको दाबी कस्तो रहनेछ र गिनीज बुकमा नाम लेखाउन ठिक्क परेका फ्रान्सेलीहरुले कस्तो प्रतिक्रिया दिनेहुन् प्रतिक्षाको बिषय बनेको छ।