Dozens injoured,over 150 arrested
आइतबार सात राजनीतिक पार्टीहरुद्धारा आयोजनागरिएको सडक आन्दोलनको क्रममा निषेधाज्ञा तोड्ने क्रममा आन्दोलनकारीहरु । यसको लगत्तै सूरक्षाकर्मीले नेता तथा कार्यकर्ताहरुमाथि आक्रमण गरेका थिए। फोटो : सालोक्य/मेरो संसार
काठमाण्डौ, भाद्र १९
सात राजनैतिक दलहरुकले सञ्चालन गर्दै आएको राजधानी केन्द्रित आन्दोलनले एकाएक तीब्र रुप लिन थालेको छ। यसै शिलशिलामा आइतबार सडकमा उत्रिएका हजारौं पर्दशनकारीलाई सरकारले निर्मम कुटपिट गर्नुका साथै गिरिजाप्रसाद कोइराला र एमाले महासचिव माधवकुमार नेपालसहित सयभन्दा बढी नेता-कार्यकर्तालाई निषेधित क्षेत्र बाहिरैबाट पक्राउ गरेर निर्लज्ज व्यवहार देखाएको छ ।
आइतबार न्युरोड क्षेत्रमा प्रतिगमनविरुद्ध प्रदर्शन गर्नेक्रममा नेपाली कांग्रेसका नेताहरु सुशील कोइराला, रामचन्द्र पौडेल, अर्जुननरसिंह केसी, रामशरण महत, मीना पाण्डे, दीलबहादुर र्घर्ती, दिलेन्द्रप्रसाद बडू, डा. रामवरण यादव, दलदेब शर्मा मजगैया र महन्त ठाकुरलाई प्रहरीले गरिफ्तार गरी महेन्द्र पुलिस क्लबमा थुनेको थियो ।
त्यसैगरी एमाले नेता बामदेव गौतम, केशब बडाल, झलनाथ खनाल र संगठन विभाग प्रमुख विष्णु पौडेललाई पनि महेन्द्र पुलिस क्लबमा थुनिएको थियो। प्रहरीले गरेको लाठीचार्जबाट झलनाथ खनालको खुट्टामा चोट लागेको र बामदेव गौतमसमेत घाइते भएको एमाले नेता विष्णु पौडेलले महेन्द्र पुलिस क्लबबाटै बताउनुभयो। नेकपा मालेका महासचिव तथा संयुक्त बाममोर्चाका सीपी मैनाली पनि पुलिस क्लबमै थुनिनु भएको थियो।
पर्दशनकारीहरुले निषेधित क्षेत्र तोड्ने लक्ष्य राखेको भए पनि प्रहरीले निषेधित क्षेत्र बाहिरैबाट गिरफ्तार गरेर प्रजातान्त्रिक अधिकारलाई कुण्ठित पारेको आन्दोलनकारीहरुले बताएका छन्। बसन्तपुर दरबारबाट जुलुस निकाल्ने तरखर गरिरहेका बेला कसैलाई न्युरोड गेटबाट त कसैलाई जुद्ध समशेरको शालिक अगाडिबाट पक्राउ गरी गाडीमा हालिएको थियो। शीर्षस्थ नेताहरुलाई प्रहरीले पक्रन खोज्दा भएको तानातानमा परी कांगे्रस सभापति गिरिजाप्रसाद कोइराला सडकमै केहीबेर मूर्छा पर्नुभयो। उहांलाई प्रहरीहरुले उपचार गर्न लान्छौं भन्दै अन्त्यमा महाराजगञ्जस्थित निवासमा पुर्याएर छाडिदिएको थियो। त्यसै गरी एमाले महासचिव नेपाललाई प्रहरीले पक्राउ गर्ने कसरत गर्दा निकैबेर तानातान भएको थियो। प्रहरीले पक्राउ गरेका सबैजनालाई सांझमा थुनामुक्त गरिएको छ।
माघ १९ पछि आइतबार राजधानीमा भएको यो झडपलाई सबै भन्दा ठूलो मानिएको छ। विशेष गरी न्युरोड गेटमा दिउंसो ३ वजेदेखि ५ बजेसम्म यातायात र पसलहरु पूरै अवरुद्ध भएको थियो।प्रहरीले कुइरीमण्डल हुने गरी अश्रुग्यास प्रहार गरेको थियो।यसैबीच सात राजनैतिक दलहरुको बैठक पनि आइतबार नै बसेको छ। माओवादीसंग सात दलले वर्ता गर्ने निर्णय गर्नुका साथै निषेधित क्षेत्र तोड्ने निर्णय गरेको सहभागीहरुले जानकारी दिएका छन्।