Royalists faught themselves

काठमाण्डौ, भाद्र २३
पाठकवृन्द, तपाइहरुलाई सुन्दैमा अनौठो लाग्यो होला। विदेशी हस्तक्षेपको विरोध गर्ने भन्दै गत सोमबार काठमाण्डौको मीनभवनबाट मण्डलेहरुले निकालेको जुलुसमा मण्डले-मण्डलेबीचमै दिउंसै तरबार हानाहान भयो। सो तरबार हानाहानमा पत्रकार पदम ठकुराठी गोलीकाण्डका नाइके तथा मन्त्री जगत गौचन र अर्का चर्चित गुण्डा तथा सहायक मन्त्री निक्षसमशेरका पाल्तु गुण्डाहरु संलग्न रहेको पत्ता लागेको छ।

काठमाण्डौमा प्रतिगमन विरुद्धआन्दोलन चर्कंदै गएको औडाहालाई सहन नसकी सोमबार जगत गौचनले भाडाका केही मान्छेहरुलाई मीनभवन क्याम्पस अगाडि भेला पारेका थिए। 'नेपालको आन्तरिक मामिलामाथिको वैदेशिक हस्तक्षेपविरुद्धको जनआन्दोलन समिति' भन्ने लामो नामको ब्यानर बनाएर जुलुस लगाउन भेला पारिएका गौचन र्समर्थक मण्डलेहरुले कार्यक्रम शुरु गर्न नपाउंदै निक्षसमशेर र अर्का मन्त्री सिनेट श्रेष्ठका आधा दर्जनजति गुण्डाहरु आएर जथाभावी तरबार चलाइहाले। तरबार प्रहारबाट बिकास महर्जन भन्ने मन्त्री गौचनका मतियार र भुवन भन्ने अर्को एकजना घाइते भएका छन्। घाइते महर्जन 'ललितपुर उपडोजो' नामक गौचनको कराते स्कुलका प्रमुख समेत हुन्।

गौचन पक्षधर मण्डलेहरुमाथि तरबार प्रहार गर्नेहरुमा दीपक मनाङ्गेसंगै ज्यानसम्बन्धी सजायंमा वारेण्टेड तीर्थ लामा, गणेश लामा, रेशम लामा र धनबहादुर लामाको संलग्नता रहेको बताइएको छ। निक्ष समशेरहरुकै संरक्षणका कारण यिनीहरुलाई प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन। यीमध्ये गणेश र तीर्थको बानेश्वरमा 'क्रिष्टल प्यालेस' नामको डान्स रेष्टुरेन्ट छ। यिनीहरुका नाइके दिपक मनाङ्गे ज्यान मार्ने उद्योगअर्न्तर्गत थुनामा परिसकेका छन्। तर, यिनीहरुलाई प्रहरीले देखेर पनि नदेखेजस्तो गर्दै हिडीरहेको छ।