Protesters continuously defy the governments prohibitory order

निषेधाज्ञा तोड्ने क्रममा लेखक तथा पत्रकार र नागरिक समाजका प्रतिनिधीहरु तस्विर: अरुण बराल

काठमाण्डौ भाद्र २४
नेपालका परराष्ट्रमन्त्री रमेशनाथ पाण्डे संयुक्तराष्ट्र संघीय साधारणसभामा भाग लिन जाने दिन शुक्रबार काठमाण्डौमा नागरिकहरुले विरोध प्रर्दशन गर्दै निरंकुश सरकारका प्रतिनिधिलाई मान्यता नदिन माग गरेका छन। त्यस्तै रत्नपार्कमा राजनीतिक दल तथा साहित्यिक लेखकहरुले निषेधाज्ञा तोड्दै गिरफ्तारी दिएका छन्।
'लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलन'को नेतृत्वमा दिउसो एक बजेदेखि बानेश्वरस्थित सडकको छेउ-छेउमा बसेर शाही सरकारका प्रतिनिधिलाई राष्ट्रसंघमा प्रवेश नदिन माग गर्दै ब्यानर र तुलहरु देखाइएको थियो। सो पर्दशनीमा मानव अधिकारकर्मी तथा नागरिक समाजका कृष्ण पहाडी, साहित्यकार खगेन्द्र संग्रौला, पूर्वमन्त्री तथा नागरिक आन्दोलनका नेता देवेन्द्रराज पाण्डे, नेपाल पत्रकार महासंघका सभापति विष्णु निष्ठुरीको पनि सहभागिता रहेको थियो।
त्यसै गरी दिउसो तीन बजे भोटाहिटी र रत्नपार्क आसपासमा निषेधित क्षेत्र तोड्ने कार्य शुरु भएको थियो। महिलाहरुले सबैभन्दा पहिला निषेधित क्षेत्र तोड्न खोज्दा एमालेकी विद्या भण्डारी, कांग्रेसकी सुजाता कोइराला, मिना पाण्डे लगायत दर्जनौं पक्राउ परेका थिए।
दोस्रो चरणमा लेखक, कलाकार तथा श्रष्टाहरुले निषेधित क्षेत्रमा प्रवेश गरे। यसक्रममा बैरागी काइला, खगेन्द्र संग्रौला, हरीगोविन्द लुइटेल लगायतका लेखकहरु पक्राउ परे।
त्यसैगरी तेस्रोचरणमा सात दलका तर्फबाट निषेधित क्षेत्र तोड्ने प्रयास गरिएको थियो। यसमा नेपाली कांग्रेसका खुमबहादुर खड्का, महन्त ठाकुरलगायतका दर्जनौं नेता तथा कार्यकर्ताहरु पक्राउ परे। उता एमालेका पूर्व सांसद जगन्नाथ खतिवडाको नेतृत्वमा निषेधित क्षेत्रमा कोणसभा गरिएको थियो। सो सभामा लेखक डा. बेञ्जु शर्मा र तीर्थ थापाले मन्तव्य व्यक्त गरेका थिए। उता विद्यार्थीहरुले प्रहरीले ३४ जनलाई गिरफ्तार गरेको विरोधमा शुक्रबार बिहानैदेखि बेलुकासम्म शंकरदेव क्याम्पस आसपासकाने पुतली सडक अवरुद्ध पारेका थिए भने प्रदर्शनीमार्गमा पनि रत्नराज्य क्याम्पसका विद्यार्थीहरुबाट केही घण्टा बाटो अवरुद्ध पारिएको थियो।